माछा मार्न गएका भीमबहादुर अझै बेपत्ता
चितवनको भरतपुर–२३ स्थित केरुङ्गा खोलामा माछा मार्न गएका एकजना बेपत्ता भएको खबर छ ।
सोही वडाको खड्कौलीमा बस्ने स्थानीय वर्ष ५६ को गोरखबहादुर दराई र वर्ष ५० को भीमबहादुर दराई हिजो साँझ ६ बजेतिर केरुङ्गा खोलामा माछा मार्न गएका थिए । आफ्नै सुरमा माछा मार्ने क्रममा केही समयपछि गोरख दराईले भीमलाई देखेनन् ।
खोला र आसपासमा कतै नदेखेपछि घरमा गई हेर्दा पनि उनी नभेटिएको भन्दै राति साढे १० बजे गोरखले इलाका प्रहरी कार्यालय गीतानगरलाई मान्छे हराएको जानकारी गराए । लगत्तै इप्रकाबाट प्रहरी नायव निरीक्षक कृष्णराज गौतमको कमाण्डमा खटिएको टोली र स्थानीयले मिलेर केरुङ्गा खोलामा खोजतलास गरेपनि आजसम्म भीमबहादुरको पत्तो लागेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती र केरुड्डा खोलाको दोभानमा उनको चप्पल भेटिएको भन्नेसम्म जानकारी प्राप्त छ । नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीय जनप्रतिनिधिसमेत जुटेर खोजी कार्य जारी राखेको प्रनानि गौतमले जनाए ।
टिप्पणीहरू