जोखिममा छन् जर्नेलहरू

जोखिममा छन् जर्नेलहरू

नेपाली सेनामा प्रदीपजंग केसी तीनतारे अर्थात् वरियताको तेस्रो स्थानमा छन् । तर, यही बेला यिनको लफडा उधिन्ने काम भइरहेको छ । पुरानो कुनै काण्ड खोतलेर उनलाई घर पठाउँदा डिजिएमओ (युद्ध कार्य महानिर्देशक) प्रेमध्वज अधिकारीलाई तीन तारे बनाउन सकिने खेल भइरहेको रक्षा मन्त्रालयको कर्मचारी वृत्तमा चर्चा छ । प्रेम शाही, अनन्त कार्की र बाबुराम श्रेष्ठको जस्तै नियती केसीको हकमा दोहोर्‍याउन लागिएको बताइन्छ । केसीलाई फाल्न सकिए प्रेमध्वजलाई तीनतारेमा उकाल्न मार्गप्रशस्त हुनेछ । नत्र प्रेमध्वज भदौ ४ गते घर जान्छन् । ताराध्वज पाण्डेलाई खुस्काउने क्रममा अशोक सिग्देललाई सूचना दिएर सहयोग गर्ने ध्रुवकुमार कार्कीलाई सैनिक सचिव, गणेश श्रेष्ठलाई सम्भार रथी र प्रेमध्वजलाई डिजिएमओ बनाइए जस्तै गरी गुण तिर्ने श्रृङ्खलाबद्ध काम भइरहेको जानकार श्रोतहरुले बताए । 

गरे के मात्रै हुन्न ? फास्ट ट्रयाकका नाममा २९ बेसिकका मान्छेलाई पछाडि पारेर ३६ बेसिककाहरु अगाडि ल्याइएका थिए । माधव थापा र पदम बुढा तिनै मध्येका हुन् । अहिले बुढा १९ बाहिनी दाङमा छन् । माधव २५ बाहिनी महेन्द्रनगर चलाउँदै छन् । अबको ५, ६ महिनामा दुई तारे जर्नेल हुने यिनै दुईमध्येबाट अनुपजंग थापापछि चिफ बन्ने सम्भावना छ । ‘यस्तो गर्दा २९ बेसिकमा छुटेका लीला खनाललाई विशेष बढुवा गरी घर पठाइन सक्छ । उनी अहिले छाउनी अस्पतालको प्रशासनिक अधिकृत छन् । सात बाहिनी हेटौंडाको कमाण्ड गरेर आएका हुन्’ स्रोतले भन्यो, यसअघि ‘एनडिसी नै गरेका दिनेश रजौरेलाई मानार्थ बढुवा एकतारे मात्रै दिइएको थियो ।’ चाहँदा बोक्ने, नत्र रोक्ने काम यसअघिका चिफहरुले आफ्नो अनुकूलतामा गर्दै आएका छन् र अघिका पछाडि नपरुन् भनेर यतिबेला नियमावली संशोधनको तयारी अगाडि बढेको स्रोतको भनाइ छ । 

‘पछिकाले टपेर अघिकालाई पछाडि नपारुन् भनी सहायक रथी ३२ वर्षपछि मात्रै बढुवा हुन पाइने नियम बनाएर रक्षामन्त्रालय पुगेको छ,’ स्रोतले भन्यो, ‘नियमावली संशोधनको प्रस्ताव सहसचिवको टेबलमा छ ।’ 
 

टिप्पणीहरू