उनले जे रोपे, त्यही फल्यो र त जेलमा छन्

उनले जे रोपे, त्यही फल्यो र त जेलमा छन्

बिचौलियाको खेल र नेतृत्वकर्ताहरूको इच्छाअनुसार कलम नघुमाउँदा भकुण्डो बनेका पात्र हुन्, पूर्वसचिव केदार न्यौपाने । झापाली, त्यसमाथि कम्युनिष्ट पृष्ठभूमिका अनि गृहको क्याडर । सचिव हुँदा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका उनलाई ओली नेतृत्वकै सरकारले रोजेर ०७६ फागुन २० गते भूमिसुधार मन्त्रालयमा लग्यो । तर, त्यहाँ पुगेपछि गिरीबन्धुलाई जग्गा सट्टापट्टा दिन मिल्ने गरी नियमावली बनाउन मानेनन् । फलस्वरुप पाँच महिनामै लखेटेर जीवनभर शिक्षामा बसेका टेकनारायण पाण्डेलाई कर्णाली प्रदेशबाट भूमिमा ल्याई केदारले नमानेको काम गर्न लगाइयो । सोही नियमावली मन्त्रिपरिषद्ले पारित गरेर २०७७ पुस ७ गते राजपत्रमा प्रकाशित गरेको थियो । 

०४७ सालदेखि सेवा शुरु ०५३ का उपसचिव, ०६६ सालमा सहसचिव, सोलुखुम्बु र काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका, भूमिसुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय हुँदै युवा तथा खेलकुद मन्त्रालयबाट अवकाश । लगत्तै राप्रपा रोजेर राजनीतिमा होमिएका उनी अहिले केन्द्रीय सदस्य छन् । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने उनका साख्खै दाजु हुन् ।

– हरि गजुरेल 

० एक जना उपसचिव सरुवा गर्न बिचौलिया आधा करोड बोकेर हिँड्छन्, लगानी गर्न तयार हुन्छ । के छ त्यस्तो मालपोत र भूमिमा ? 

– पहिले–पहिले मान्छेमा अलिकति भए पनि नैतिकता थियो । गलत गर्दा इज्जत जाने डर हुन्थ्यो । अहिले जसरी पनि पैसा कमाउने होडबाजी छ । नेतृत्वकर्ता, मन्त्रीले नै सम्बन्धित ठाउँमा गएर पैसा (घुस)माग्न मिलेन । यसर्थ ती आफूसँग भएको संयन्त्र परिचालन गरी कहाँबाट कसरी खान पाइन्छ भन्नेतिर लागे । हरेक परिवर्तनमा बिचौलियाको भूमिका हुन्छ । एक पटकको बिचौलिया सधैंको बिचौलिया । ती पनि एकै पटक उदय भएका हैनन् । पहिला साना तिना काम गरेपछि यस्ता ठुल्ठूला आँट गर्ने हुन् । सबैभन्दा महङ्गो र सजिलै गरी पैसा कमाउने माध्यम हो भूमि प्रशासन । अन्यत्र भन्दा सरकारी, सार्वजनिक जग्गा दर्ता गरेर आफ्नो नाममा ल्याएपछि ठूलो कमाइ हुने भयो । तपाईं हाम्रोलागि ३२ लाख धेरै ठूलो रकम होला तर १३५ रोपनी सरकारी जग्गा हत्याउन पाउँदा त्यहाँबाट हुने आर्जनका अगाडि ३२ लाख धेरै ठूलो रकम भएन । 

० निजामतीमा ८० प्रतिशत बढी खराब कर्मचारी छन, भनेर तपाईंहरूकै व्याची एक सचिवले कतै भनेका थिए । यस्तै अवस्था हो निजामती प्रशासनमा ? 

– एक प्रकारका कर्मचारी छन्, बदमासी गर्नै हुँदैन, क्यारिअर बनाउनुपर्छ भन्ने अनि अर्काेथरी अहिले नगरे कहिले गर्ने भन्ने । मौका परेको बेला ठोक्नुपर्छ भन्ने प्रवृत्तिका कर्मचारी आधाजति होलान् । राजश्व र देवश्व खानु अपराध हो, यस्तो बदमासी गर्नु हुँदैन भन्ने आधा होलान् तर ती कसैको चाकडीमा दौडँदैनन्, घर दैलोमा लाग्दैनन् र पार्टीको झोले पनि होइनन्, त्यही कारण ओझेलमा छन् । जसरी पोखरीको पानीमा एक लिटर तेल वा मट्टीतेल हाल्ने हो भने तेल माथि माथि तैरन्छ र मान्छेलाई लाग्छ कि यो तेलको पोखरी रहेछ । वास्तवमा, माथिल्लो लेयर्समा मात्र तेल देखिएको हो । मौकामा कमाउनुपर्छ भन्ने कर्मचारीलाई शासकहरूले आश देखाउँछन्, उस्तै परे तिनलाई बिचौलियाले पनि लगानी गर्दछन् । तर, एउटा कुरा के स्पष्ट हो भने कर्मचारीतन्त्रमा गोलमाल गर्ने थोरै संख्यामा छन् । तिनैलाई बिचौलिया, मन्त्री, सरकारले प्रयोग गर्छन् । 

० तपाईंं सचिव हुँदा अहिले कास्कीको १३५ रोपनी लिची बगैंचामा जोडिएका सुजन लामाहरूको कत्तिको चकचकी थियो । तिनको तर्फबाट केही प्रस्ताव आएको थियो कि ? 

– ती कहिलेकाहीँ भन्किरहेको जस्तोचाहिँ लाग्थ्यो । उनीहरूको धन्दा नै त्यही हो । मन्त्री नजिकका मान्छे, स्वकीय सचिव, सल्लाहकारलगायत भेडीगोठसँग उनैको बस–उठ हुन्छ । मन्त्रीलाई प्रलोभन देखाउँछ वा प्रेसरमा पार्छ । कहीँ न कहीँ चुकाउँछ र त असल मान्छे पनि कुर्सीमा पुगेपछि भ्रष्ट भएर निस्कन्छ । अहिले गणतन्त्रभन्दा गनतन्त्र (पैसाको खेल) हावी भयो । ३०/४० वर्षअघि बिचौलिया, मिडिल म्यान, सेटिङ भन्ने शब्द नै प्रचलनमा थिएन । त्यतिखेर कुनै निर्णय गर्दा देशलाई राम्रो हुन्छ वा हुन्न हेरिन्थ्यो ।

० अडियो सुन्दा राजकुमार गुप्ता र बलराम अधिकारीहरू चुकेका हुन् कि बचेका ? 

– म यस्तो काम गर्दिन भन्ने दृढ अडान वा संकल्प मनमा छ भने कसैले चुकाउन/झुकाउन सक्दैनन । यिनका पनि जिन्दगी झोला बोक्दा बोक्दै गइगयो । जहान बच्चा पाल्नुपर्‍यो । सधैँभर अवसर पाइँदैन । मौकामा हिरा फोर्नैपर्छ भन्ने परेको होला । 

० तपाईं भूमि सचिव हुँदा गिरिबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्न नमिल्ने अडान लिनुभयो । भनेको नमान्दा जगेडामा मात्र पर्नुभएन, जागिरे जीवनका अन्त्यकाल पनि सुखद रहेन । राम्रो कार्यालय पाउनुभएन है !

– ग्रह दशा बलियो भएर हो कि वा परिस्थिति त्यस्तै खालको परेको हो । त्यस्तै खालका पात्र आए पनि म उनीहरूको लोभ लालचमा परिन । बिचौलियाले सबैतिर मिलाएका छौं । तपाईंले पनि सहयोग गरिदिनुपर्‍यो भनेर लोभ देखाउँछन् । अहिलेको समस्या विवेक बन्धक राखेर चल्दा आएको हो । 

० तपाईंलाई हटाएर शिक्षाका टेकनारायण पाण्डेलाई ल्याइयो । तिनै गृहमा पुगे, नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले जेल जीवन भोग्दैछन् । सम्झँदा दिक्क लाग्दैन ?

– उनले रोपेका थिए त्यही फल्यो । र, फल भोग्दै छन् । नयाँ पुस्ताले कसैले भन्दैमा लोभिनु भएन । नाजायज काममा लाग्नुभएन । त्यस्ता मान्छे थोरै छन् तर चल्ती तिनकै छ फेरि । सरकारले क्षमता योग्यता नहेरी, फाइदाका लागि जिम्मेवारी दिने र दुनो सोझ्याउने, अन्तिममा डुबाउने रीतै यही हो । 

० नेतृत्वले भनेको नमान्दा, दायाँ–बायाँ गर्न नजान्दा दुःख पनि त पाइन्छ नि !

– यो क्षणिक दुःख हो तर दीर्घकालमा फाइदै हुन्छ । तत्काल बढुवा नगरिएला वा तारन्तार सरुवा गरिएला तर दीर्घकालसम्म शीर ठाडो पारेर हिँड्न सक्ने हुनुपर्छ । कतिपय सँगै काम गरेका वा हामीभन्दा अघि अवकाश पाएका साथीहरू मरे वा जिउँदो छन्समेत पत्तो छैन । मलाईचाहिँ ती क्षणिक दुःखले राम्रै गर्‍यो छ । 

० नापी र मालपोतमा बिचौलियाहरूको चलखेल घटाउन नसकिने रहेछ, हैन त ? 

– बिचौलिया नभई त्यहाँ कामै हुँदैन । बिचौलियाका आ– आफ्नै क्षेत्र छन् । नीतिगत तहमा प्रभाव पार्ने पनि बिचौलिया नै हुन् । अहिले सेवाग्राहीको भीड हुने कार्यालयमा पैसा नखुवाई काम हुँदैन । कतिपय कार्यालयमा बिचौलियाले नै मन्त्री, सचिव, कार्यालय प्रमुखसम्मको नाम बेचेर घुस उठाइरहेको हुन्छ तर कर्मचारीले नपाउने वा आफैं खाइदिने समस्या पनि छ । त्यसको खोजविन कसले गर्ने ? कतिपय त धान खाने मुसो, चोट पाउने भ्यागुतोको अवस्था छ । सरकारले राम्रा मान्छे छान्नुपर्छ । देश बनाउनका लागि राजनीति र कर्मचारीको मान्यता मिल्नुपर्ने हो तर यस्तो ट्युनिङ झन झन बिग्रँदै गएको छ । प्रधानमन्त्री र मन्त्रीले अल इन अल न मै हुँ भन्छन् तर कानुनले सबैको क्षेत्राधिकार तोकेको छ । सबैजना कानुनअनुसार चल्ने हो भने यस्ता समस्या हुँदैनन् । अहिलेको विकृति विसंगती नै त्यही हो । प्रधानमन्त्री र मन्त्रीले नीति बनाउने हो । कार्यान्वयन कर्मचारीले गर्ने हो । राजनीतिले प्रशासन चलाउन खोजेपछि त समस्या पर्छ नै । 

० सुकुम्बासी र भूमि समस्या समाधान गर्ने नाममा अहिलेसम्म १९ वटा आयोग बनिसकेका छन् । सरकार फेरिएपिच्छे आयोग बनिरहने तर समस्या ज्यूँका त्यूँ रहने, कारण के हो ? 

– जग्गाभन्दा पनि सीप र रोजगारीेतिर ध्यान दिनुपर्‍यो । भूमि र सुकुम्बासी आयोगका नाममा कार्यकर्तालाई जागिर मात्र खुवाउने हैन । उसै त नेपाल सानो मुलुक, यहाँ सुकम्बासीलाई दिने खालको जग्गै कहाँ बाँकी छ ? म सानो हुँदादेखि नै सुनेको हो सुकुम्बासीलाई जग्गा वितरण । ३२ वर्ष जागिर खाएर रिटायर्ड भएको दुई वर्ष हुनै लागिसक्यो । यो अवधिमा त सुकम्बासीे समस्या समाधान हुनुपर्ने नि । तर, समस्या जहाँको तहीं । यो एक प्रकारको राजनीतिक स्टण्ट हो जस्तो लाग्छ । 

० गृह र परराष्ट्र«जस्ता महत्वपूर्ण मन्त्रालय छाडेर एमाले कमरेडहरूको रोजाइमा भूमि मन्त्रालय पर्नुको कारण के होला ? 

– कहिले रञ्जिता श्रेष्ठ चौधरी त कहिले माओवादीले पनि चलाएको छ, त्यो मन्त्रालय । सबैभन्दा धेरै पैसा जग्गामा छ । त्यही चलखेल गर्न पाइन्छ । किन कोही  खेलकुद मन्त्री हुन खोज्दैन ? कारण त्यही अतिरिक्त आम्दानी होइन ? 

० फेरि भूमि विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने गरी संसदको कार्यसूचीमा चढेर सरकार व्याक भएको छ । हदबन्दी छुटका लागि गिरीबन्धु टी–स्टेट नै, किन  प्राथमिकतामा परेको होला ? 

– सर्वाेच्च अदालतको फैसला बाध्यकारी नजिर हो । हामीकहाँ हदबन्दीभन्दा धेरै जग्गा राख्नेहरू छन् । गिरिवन्धुलगाका चिया बगानवालाहरू त्यसमा जोडिन्छन् । गिरिवन्धु अलिकति अगाडि खुल्यो भने अरू पनि पछि लाग्छन् । अन्य देशमा जाँदा सरकारी जग्गा र सरकारी घरहरू ओगटेको धेरै जग्गा देख्न पाइन्छ । हामी कहाँ त सरकारको नाममा भएका जग्गा र संरचनाहरू नै अतिक्रमण गर्ने, बेच्ने, लिजमा दिने काम भइरहेको छ । 

० तपाईं सचिव हुँदा गोकर्णमणि दुवाडी भूमि व्यवस्थापन विभागमा थिए । कुनै समय फालिएर तथ्यांक कार्यालय र रातारात गृहमा पुगे, उनकै भाइलाई अख्तियारमा ल्याइएको घटनाक्रमलाई कसरी लिने ? 

– कर्मचारी पनि आफ्नो विवेकले काम गर्ने कि लगाए अह्राएको काम गर्ने खालका हुन्छन् । अहिले विवेक पुर्‍याएर काम गर्ने प्रशासकले गतिलो जिम्मेवारी पाइरहेको देख्नुहुन्छ ? झोलेलाई च्याप्ने र तिनैलाई परिचालन गर्ने परिपाटी छ । ऐन कानुनभन्दा एक इञ्च पनि तलमाथि नजानुहोस् । म दायाँ बायाँ गर्दिन, तपाईंहरूले पनि नबिराउनुहोस् भन्ने शासक मैले विरलै देखेको छु । तपाईंले कोही देख्नुभएको छ र ? 

० तपाईं झापाली, एमाले स्कुलिङको मान्छे, जीवनको दोस्रो इनिङमा पुग्दा राप्रपामा प्रवेश गर्नुभयो । जीवनको उत्तरार्धमा दक्षिणपन्थी पार्टीमा त्यस्तो चार्म के देख्नुभयो र ?

– संसारमा सबै वामपन्थीमात्र पनि छैनन् । आधा जति देशमा दक्षिणपन्थीहरूकै शासन छ । जागिरे जीवनका तीन दशकभन्दा बढी समय एमाले, काँग्रेस, माओवादीलाई नजिकबाट हेरियो । यी दलबाट पार नलाग्ने देखेर राप्रपा रोजेको हो । धर्म, संस्कृति, संस्कार, जोगाएको खण्डमा मात्र आफ्नो मर्यादा राख्न सक्छौं । आफ्नोपना सबै सिध्यायौं भने हामीलाई कसले मान्छ वा कसले टेर्छ ? फोस्रो राजनीतिले केही गर्दैन । देश चलाउने व्यवस्थापकले हो । अहिलेको समयमा आकाश र पाताल जोड्न मार्क्स, लेनिन, समाजवाद केही चाहिँदैन । हामीलाई सर्भिस डेलिभरी गर्ने राम्रो संयन्त्र चाहिन्छ । आफ्नोपना चाहिन्छ । कसैले तिमीहरूको आफ्नो पना के छ भनेर सोध्दा के उत्तर दिने ? केही गरौँ भनेरै राजनीतिमा आएको हुँ । रमाइलो गर्न र सात पुस्ताका लागि कमाउन यता प्रवेश गरेको होइन । 

० संघीय निजामती विधेयकमा कुलिङ पिरियडको लफडालाई कसरी नियालिरहनुभएको छ ? 

– कुलिङ पिरियडको प्रावधान राख्दा राम्रो मान्छे आउँछ भने ठीक छ तर राम्रा मान्छे ब्लक हुने र झोलेहरू ल्याइन्छ भने त्यसले त झन् धेरै समस्या श्रृजना गर्दछ । सरकारले चाहे राखोस् वा नराखोस् देशका लागि राम्रा गर्ने मान्छे कहाँ कहाँ छन्, छानेर, खोजेर ल्याउनुपर्छ । अनिमात्र देश अगाडि बढ्दछ । अहिले त शुभलाभबाट नियुक्ति दिलाउने उद्देश्यले ल्याइएको जस्तो देखिन्छ । 

० कुलिङ निजामतीलाई मात्र रोक्ने गरी राखिएको छ न्यायालय, सुरक्षा निकायहरूलाई कतै बन्देज छैन भन्छन् नि !

– राम्रा मान्छे सर्भिसमै छन् । पढेका छन्, लोकसेवाको जाँच पास गरेका छन् । देश विदेशमा गएर अनुभव हासिल गरेका छन् । त्यस्ता क्षमताका मान्छे अपवाद बाहेक बाहिर छैनन् । छिमेकी देश भारतमा कुलिङको प्रावधान नै छैन । हाम्रोमा सबैतिरबाट कर्मचारीमाथि आक्रमण भइरहेको स्थिति छ । यो पनि थप त्यसैको श्रृंखला हो कि ! सबैलाई फल्न फुल्न दिनुपर्छ । कसैलाई निषेध गरेर अगाडि बढ्न सकिँदैन । 

० तपाईंकै गृहजिल्लाका केपी शर्मा ओलीको शैली कस्तो छ ?

– उहाँसँग धेरै बस उठ छैन । म गएको पनि छैन । जागिरे जीवनमा बाहिरको फिल्ड पो ठूलो रहेछ । स्वतन्त्रता बढी रहेछ । अहिले त्यही स्वतन्त्रता उपयोग गर्ने, पढ्ने पढाउने, चिन्तन, सामाजिक कर्ममा रमाइरहेको छु । 
 

टिप्पणीहरू