आफ्नै शालिक गाड्न सुदन किरातीको आग्रह
नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले धरानमा बनाइएको आफ्नो शालिक जमिनमुनि गाड्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
आफू 'शालिक सिद्धान्त' को विरोधी रहेको बताउँदै उनले कसैले नदेख्ने ठाउँमा गाड्दिन भनेका हुन् । पूर्व पर्यटनमन्त्री समेत रहेका किरातीले धरानमा आफ्नो शालिक बनाइदिने स्थानीय नेता तथा कार्यकर्तालाई धन्यवाद पनि दिए ।
‘धरानमा मेरो शालिक बनाईदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु’ उनले भनेका छन्, ‘तर स्मरण रहोस्, मलाई मेरो शालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन ।’
शालिक नै बनाउनुपर्ने गरी आफूले कुनै उल्लेखनीय काम पनि नगरेको किरातीको भनाइ छ ।
‘साँच्चै भन्नुपर्दा मान्छेको शालिक बनाउने र शालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्तत म विरोधी हुँ, फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु र ?’, उनले अघि भनेका छन्, ‘त्यसैले त्यो बनिएको शालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्ने गरी लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु ।’
टिप्पणीहरू