के शिव चाम्लिङ हुन् ?
प्रधानमन्त्री ओलीले हालै ‘भगवान् शिव चाम्लिङ थरका हुनुपर्छ’ भनेको विषय अहिले सामाजिक सञ्जालमा निकै चर्चा र आलोचनाको विषय बनेको छ । एकातिर कसैले पनि अनुमान गर्न नमिल्ने भन्ने हुँदैन तर अर्कोतिर यस्तो गम्भीर विषयलाई प्रम स्तरको व्यक्तित्वले सार्वजनिक मञ्चमा हलुंगो रूपमा उठाउनु कति उचित हो भन्ने प्रश्न पनि स्वाभाविक छ ।
प्रधानमन्त्री ओली स्वयंले यसलाई दाबी नभएर आफ्नो व्यक्तिगत अनुमान मात्र भएको स्पष्ट पार्नुभएको छ । एकातिर अनुमान गर्नदेखि कसैलाई रोक्न सकिने कुरा होइन भने अर्कोतिर यस्तो धार्मिक र साँस्कृतिक रूपमा संवेदनशील विषयलाई प्रम स्तरबाट सार्वजनिक मञ्चमा यति सजिलैसँग उठाउनु कति उचित हो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ ।
रोचक कुरा यो छ कि इतिहासको कुनै पानामा पनि कुनै किराती समुदाय, जाति वा थरले भगवान् शिवलाई आफ्नो थर–गोत्रका भएको दाबी गरेको प्रमाण भेटिँदैन । स्वयं चाम्लिङ राईहरूको पनि त्यस्तो कुनै दाबी छैन । यस्ता जटिल र संवेदनशील विषयलाई ऐतिहासिक ग्रन्थ, पुराण, विभिन्न धार्मिक सम्प्रदायका मान्यता र लोकपरम्पराको आधारमै विश्लेषण गर्नुपर्छ ।
सनातन परम्परामा शिवत्व
सनातन हिन्दू धर्मको गहिरो दर्शनमा भगवान् शिवलाई अनादि, अजन्मा, अनन्त र आदिपुरुष मानिएको छ । उनी केवल एक देवता मात्र नभएर प्रथम चेतन सत्ता हुन् । हिन्दू धर्मको विस्तार र विविधताले शिवलाई बुझ्ने दृष्टिकोणमा भिन्नता ल्याएको छ तर मूलभूत सत्यमा सबै सहमत छन् । परम्परागत हिन्दू दर्शनमा त्रिमूर्ति अर्थात् ब्रह्मा, विष्णु र शिवद्वारा ब्रह्माण्ड सञ्चालन हुन्छ । यहाँ शिव विनाशकारी शक्ति मात्र नभएर नवसिर्जनका लागि आवश्यक परिवर्तनका प्रतीक हुन् । अद्वैत वेदान्तको दर्शनमा शिव निर्गुण ब्रह्मको प्रतीक हुन् – निराकार, गुणातीत परम सत्य जसमा सम्पूर्ण जगत लय हुन्छ । वैदिक साहित्यमा रुद्र नामले चिनिने यिनै शिव कालान्तरमा महादेव र पशुपतिको रूपमा पुजिएका छन् ।शिव पुराण, स्कन्द पुराण र लिंग पुराणमा शिवको उत्पत्ति स्वयम्भू रूपमा भएको वर्णन छ । उनको न जन्म छ, न मृत्यु । उनी सृष्टिको आरम्भ र अन्त्य दुवैमा उपस्थित छन् र कालको पनि काल महाकाल हुन् । शैव दर्शनः यस मतानुसार शिव परब्रह्म, सर्वोच्च सत्ता र सत्य हुन् । सृष्टि, स्थिति, संहार, तिरोभाव र अनुग्रह – यी सबै पञ्चकृत्य शिवद्वारा नै सम्पन्न हुन्छन् । तान्त्रिक परम्परामा शिवलाई परम पुरुष र शक्तिलाई परम प्रकृति मानिन्छ । शिव र शक्ति एकाकार छन् जसमा शिव शुद्ध चेतना हुन् भने शक्ति त्यसको गतिशील क्रिया पक्ष हो । शाक्त मतमा शिवलाई शक्तिसँग अर्धनारीश्वर स्वरूपमा चेतनाको एकत्वमा देखिन्छ । यौगिक परम्परा र पतञ्जलि योगसूत्रमा शिवलाई आदियोगी र आदिगुरुको रूपमा सम्मान गर्दै मानवतालाई मुक्तिको मार्ग देखाउने परम पुरुष मानिन्छ ।
किरात समुदायःकिरातेश्वर महादेव
भगवान् शिवलाई किरातेश्वर महादेव भनिए पनि उनी मूलतः किरात थिए भन्ने होइन । महाभारतमा अर्जुनले पाशुपतास्त्रका लागि कठोर तपस्या गर्दा उनको परीक्षा लिन र माता पार्वतीसँग छल गर्ने प्रयोजनले भगवान् शिवले किरातको भेष धारण गरेका पौराणिक प्रसंग भेटिन्छन् ।
राई र लिम्बू समुदायले शिवलाई सुप्राकि, ठूलो योक्हा (ठूलो आत्मा) वा युमामा (पितृदेवता) को रूपमा मान्छन् । उनीहरूका लागि शिव आध्यात्मिक गुरु र संरक्षक देवता हुन् । याक्खा र सुनुवार समुदायले शिवलाई वनदेवता, गुफा र पहाडको संरक्षकको रूपमा पूजा गर्छन् । लेप्चा र अन्य प्रकृतिपूजक किरातहरूले शिवलाई प्रकृति, आत्मा र युद्धकलासँग जोडेर देख्छन् । लिम्बू समुदायका सर्वोच्च देवी युमा साम्माङ (आमा देवी) र देवता थेबा साम्माङ (बाबु देवता) हुन् । केही लिम्बू विद्वानहरूले थेबा साम्माङलाई शिवको स्वरूप मान्ने गरेका छन्। शिवको किराती स्वरूपका शक्तिकेन्द्रमा किरातेश्वर मन्दिर (धनकुटा), गोसाईंकुण्ड र पाथीभरा प्रमुख छन् । यसमा किरातीका आदिम पुर्खा सुम्निमा र पारुहाङलाई सृष्टिकर्ताको रूपमा व्याख्या गरिएको छ । राई समुदायले पारुहाङलाई आकाशका देवता (निनाम्मा) र सुम्निमालाई पृथ्वीकी देवी (हेन्खामा) मान्छन् । केही राई समुदायले यी दुईलाई भगवान् शिव र पार्वतीको स्वरूप मान्ने गरेको पाइन्छ ।
किरात एक अत्यन्त पुरानो र समृद्ध सभ्यता हो । ‘चार किरात’ अन्तर्गत राई, लिम्बू, सुनुवार र याक्खा पर्छन् । राईमा २५ थर, लिम्बूमा ३८ थर, याक्खा र सुनुवारमा प्रत्येक १२–१२ थर छन् । उता, ८ किरातको अवधारणा पनि छँदै छ । व्यापक अर्थमा किरातमा गुरुङ, मगर, थकाली, तामाङ, शेर्पा, नेवार, कागते, लाप्चे, मेचे, कोचे, धिमाल, थारू, दनुवार समेत पर्छन् र यी सबै समुदायका थर गणना गर्दा अनगिन्ती हुन्छन् ।
के सृष्टिका आदिपुरुष शिव किरात थिए र यदि थिए भने उनी चाम्लिङ थरकै थिए त ? यो प्रश्नको जवाफ खोज्दा केही महत्वपूर्ण तथ्य सामुन्ने आउँछन् । पहिलो, शिव पुराणअनुसार शिवका १९ पूर्ण अवतार र ११ अंशावतार भएको मानिन्छ । उनका कुनै खास अवतारलाई कुनै जाति वा थरले आफ्नो कुलदेवता मान्नु स्वाभाविकै भए पनि मूल आदिपुरुष शिव यो वा त्यो थरका थिए भन्नु तर्कसंगत हुँदैन । दोस्रो, सबैभन्दा महत्वपूर्ण पौराणिक प्रसंग हो पार्वती स्वयम्वरको घटना । देवी पार्वतीको स्वयम्वरमा स्वयं भगवान् शिव आफ्नो थर–गोत्र बताउन नसकी निरुत्तर बन्नुले स्पष्ट पार्छ कि शिवको कुनै थर–गोत्र नै थिएन । तेस्रो, भगवान शिव त्रिकालदर्शी, सर्वज्ञ र निर्गुण ब्रह्मको प्रतीक हुन् । उनलाई कुनै सीमित थर–गोत्रको बन्धनमा बाँध्नु उनको व्यापक र अनन्त स्वरूपलाई संकुचित बनाउनु हो । भगवान् शिव सबै जाति, समुदाय र थरका लागि समान रूपमा कल्याणकारी र मोक्षदाता हुन् । उनी सम्पूर्ण मानवताका आराध्य हुन् ।
टिप्पणीहरू