मदनका चार श्रीमती
मदन भण्डारी एमालेका महान् नेता हुनुहुन्थ्यो । यसमा शंकै छैन । उहाँको जीवन घामजत्तिकै पारदर्शी थियो । त्यो पनि कसैबाट छिपेको छैन । हामीलाई त त्यही भनिएको हो । तर, उहाँका पनि कतिपय छिपेका कुरा रहेछन् जो कसैलाई थाहा छैन, प्रधानमन्त्री केपी ओलीलाई बाहेक । अस्ति मदन भण्डारीकै जन्मोत्सव कार्यक्रममा उहाँले यो कुरा उजागर गर्नुभयो । भन्नुभयो कि मदनका चार श्रीमती छन् भन्ने कुरा पनि आएको थियो । कहाँबाट आएको हो त्यो त भन्नुभएन । यति मात्रै भन्नुभयो कि मदनका चार श्रीमती थिए भन्ने कुरा आएको थियो ।
मदनको एक श्रीमती त विद्या भण्डारी भइहाल्नुभयो । बाँकी तीन कहाँ छन् ? मदन भण्डारीको हत्यारा खोजेजस्तै अब उहाँका तीन श्रीमतीहरू पनि खोज्नुपर्ने भएको छ । तर, उहाँको हत्यारा खोज्न नसकिए जस्तै तीन श्रीमतीहरू पनि खोज्न नसकिने हुन् कि ?
प्रम ओलीले मदनका चार श्रीमती थिए भनिरहँनु हुँदा उहाँका एक श्रीमती विद्या भण्डारी त्यहीं हुनुहुन्थ्यो । विद्याले मदनको विचारमाथि हकदावी नगरुञ्जेल ओलीले चार श्रीमतीको कुरा निकाल्नुभएको थिएन । जब हकदावीको कुरा आयो, चार श्रीमतीको कुरा पनि आयो । यो कतै मदनको विचारमाथि विद्या एक्लैको दावी लाग्दैन भनेर दिइएको काउण्टर त होइन ?
टिप्पणीहरू