मुख्य प्रशिक्षक वाइल्डको अभिव्यक्तिले एन्फामाथि प्रश्नैप्रश्न
सधैँझैँ नेपाली फूटबल फेरी एकपटक विवादमा तानिएको छ । नेपाली राष्ट्रिय महिला फूटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले कान्तिपुर दैनिकलाई दिएको अभिव्यक्तिले सबैको ध्यान तानेको छ ।
मुख्य प्रशिक्षक वाइल्डले अखिल नेपाल फूटबल संघ(एन्फा) प्रति दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले सार्वजनिक रुपमा एन्फाको फितलो कार्यशैलीको खुलेर आलोचना गरेका छन् । एन्फा र मुख्य प्रशिक्षकबीचको यो पहिलो विवाद भने हैन । यसअघि पुरुष टोलीका तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फाको बारम्बार आलोचना गरेका थिए ।
एक महिना अगाडि महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका वाइल्डले नियुक्त भएको पहिलो दिनदेखिनै एन्फाको कार्यशैली प्रति प्रश्न गरेको बुझिएको छ । वाइल्डले हालै उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोटको प्रशिक्षणको दौरान खेलाडीलाई दुई तारे होटेलमा होस्टेलमाझैँ राखेको बताएका छन् । उनले खेलाडीलाई चाहिने सामान्य (किट, खाना, आइस) जस्ता सामान्य आवश्यकतापनि एन्फाले पुर्याउन नसकेको जिकिर गरेका छन् । खेलाडी र आफुलाई छुट्टाछुट्टै होटेलमा राखेको बताएका उनले खेलाडीलाई कम्तिमा चार तारे होटेलमा राख्नुपर्ने माग गरेपछि एन्फाले तीन तारे होटेलको प्रास्ताव राखेको जनाए । त्यसपछिनै एन्फाले यो प्रशिक्षकसँग काम गर्न सजिलो नभएको बुझेको उनले बताएका छन् ।
यस्तै वाइल्डले कप्तान चयनको विषयमापनि समस्या भएको स्वीकारे । ‘कप्तान कसलाई बनाउनेमा पनि विवादै भयो । साम्बा नेपालले पाएको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । उनी थिइनन् भने नेपाललाई जित्न गाह्रो हुन्थ्यो । गीता र रेनुकापनि पनि असाध्यै राम्रा छन् । तर, जत्तिकै विवाद भए पनि सबै खेलाडीले त्यसलाई बिर्सेर राम्रो खेले,’ डे वाइल्डले भने । आफु अरु जस्तो कफी खाएर खेलाडीलाई निर्देशन मात्र दिने प्रशिक्षक नरहेकोपनि बताएका छन् ।
उनले आफुलाई कम्प्युटर खोल्नपनि नजान्ने सहायक प्रशिक्षक दिएको बताए । कान्तिपुर दैनिकसँगको कुराकानीमा उनले भने, "मलाई यस्तो सहायक चाहिँदैन जसले कम्प्युटर पनि खोल्न सक्दैन वा डाटासँग काम गर्न सक्दैन । खेलाडीहरूको डाटा र प्रदर्शन मापन बिना म कसरी उनीहरूलाई अर्को स्तरमा पुर्याकउन सक्छु? न त जीपीएस छ, न क्यामेरा, न विश्लेषण, म के गरू ? भुइँमा लड्नु ?"
बारम्बार एन्फा र प्रशिक्षकबीच हुने विवादले संघको व्यवस्थापन र कार्यशैलीप्रतिनै प्रश्न उब्जाएको छ । वाइल्ड नेपाली महिला फूटबल टोलीले पाएको पहिलो प्रो लाइसेन्स प्रशिक्षक हुन् । उनीमाथि सबैले धेरै आशा राखेका थिए । नेपाली टोलीले उज्वेकिस्तानमा भएको छनोटमा विभिन्न विवादका बाबजुत पनि उत्कृष्ट गरेको थियो । छनोटमा नेपालले श्रीलंका र लाओसमाथि फराकिलो जित निकाल्दा आफुभन्दा ४९ औं स्थानमाथि रहेको उज्वेकिस्तानविरुद्ध शानदार पुनरागमन गर्दै निर्धारित समय ३-३ गोलको बराबरीमा रोकेको थियो । उनको प्रशिक्षणमा नेपाली टोलीमा परिवर्तन देखिएको थियो । टोलीका केहि नियमित शुरुवाती ११ मा खेल्ने खेलाडी बेन्चमा रहँदा अन्य नयाँ खेलाडीले मौका पाएका थिए ।
उनले उज्वेकिस्तानको अन्तिम खेलमा खेलाडीहरु दबाबमा परेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खेल हुनुभन्दा अगाडी भएको टेलिफोन वार्ताले खेलाडी झन् दबाबमा परेको वाइल्डले जनाए । "पहिलो जित निकाल्दा शुभकामना दिन र सानो प्रोत्साहन- २० डलर, ५० डलर दिन कल किन गरेनन् ? त्यसको साटो उनीहरुले महत्त्वपूर्ण खेलभन्दा मात्र फोन गर्छन्" उनले भने ।
एन्फाले वाइल्डसँग एक वर्षको सम्झौता गरेको थियो । यस विवादसँगै उनको नेपालसँगको यात्रामै प्रश्नवाचक चिन्न लागेको छ । उज्वेकिस्तानमा भएको छनोटपछि सबै खेलाडी र व्यवस्थापन नेपाल आउँदा वाइल्डभने उतैबाट बेल्जियम लागेका थिए । उनलाई बोलाउने नबोलाउने भने एन्फाको हातमा रहेको छ ।
पछिल्लो समयलाई हेर्ने हो भने एन्फाले महिला फूटबललाई पैसा कमाउने भाडो बनाएको छ । महिला फूटबलको लोकप्रियताको फाइदा उठाउँदै गरिने विभिन्न प्रतियोगिताले महिला फूटबललाई प्राथमिकतामा राखेको देखाउने प्रयास गरेपनि भित्र खोक्रो रहेको प्रष्ट देख्न सकिन्छ ।
टिप्पणीहरू