बाढीमा बेपत्ता हुनेको संख्या थपियो, ५५ जनाको उद्धार

बाढीमा बेपत्ता हुनेको संख्या थपियो, ५५ जनाको उद्धार

चीनको तिब्बतमा परेको अविरल वर्षाका कारण रसुवागढीस्थित सिमानामा आएको बाढीमा परेर बेपत्ता हुनेहरुको संख्या १८ पुगेको छ । जसमा नेपाल प्रहरीका तीन कर्मचारीसहित नौ सर्वसाधारण र ६ जना चिनियाँ नागरिक छन् ।  

यसअघि बिहान जिल्ला प्रशासन कार्यालय रसुवाले बाढीमा १५ जना बेपत्ता भएको जानकारी गराएको थियो । तर, पछिल्लो अपडेटमा उक्त संख्या १८ रहेको उल्लेख छ ।  

सिडिओ कार्यालयका अनुसार प्रहरीतर्फ लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता छन् । त्यस्तै, बर्दिया घर भएकाहरु जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान, लोकमान तामाङको पनि पत्तो लागेको छैन । 

यस्तै, बाढीमा परी बेपत्ता हुने चिनियाँ नागरिकमा यु युई, लि ह्वासिङ, याङ छुआन, हैहाङ, यु छिआउ क्यु र जोउ योङ छन् । बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको पनि प्रशासन कार्यालयले जानकारी दिएको छ । तीमध्ये ५० नेपाली, एक चिनियाँ र चार जना भारतीय छन् । 

उत्तरगया गाउँपालिका–५, स्थित खोला किनारामा एक पुरुषको दाहिने खुट्टा भेटिएको प्रशासनको भनाइ छ । कार्यालयका अनुसार बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा सडक सम्पर्क पूर्ण रुपमा टुटेको छ । योसँगै स्याफ्रवेशी–रसुवागढी सडकमा क्षति पुगी पूर्ण रुपमा अवरुद्ध भएको छ । 

यसैगरी, रसुवा भन्सार कार्यालयको यार्ड तथा ईभी चार्जिङ स्टेशनमा क्षति पुगेको, टिमुरेको यार्ड–सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि राखिएका केही थान मालवाहक ट्रक, कन्टेनर र विद्युतीय गाडी बगाएको पनि सिडियो कार्यालयले बताएको छ ।

टिप्पणीहरू