सत्ता जोगाउन नाटक मञ्चन गरेकाे आरोप

सत्ता जोगाउन नाटक मञ्चन गरेकाे आरोप

सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन १० बुँदे सम्झौताको नाममा नाटक मन्चन गरेको राजावादी जेनजीले आरोप लगाएको छ । 

युवाहरूको भावना विपरित सम्झौताको नाटक गरिएको राजसंस्था पक्षधर जेनजी समूहले दावी गरेको हो । हिजोको सम्झौताप्रति असन्तुष्टि जनाउन आज काठमाडौंमा पत्रकार सम्मेलन गरेको सो समूहले जेनजी आन्दोलनलाई नै हाईज्याक गरेर सत्ता कब्जा भएको आरोप लगाएको छ । 

जेनजी अगुवा भनिएका राप्रपाका नेता रविकिरण हमालले हिजो सिंहदरबारमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको समूहले सम्झौताको नाटक मञ्चन गरेको टीप्पणी गरे । हिजो सम्झौता गर्ने समूहलाई उनले सरकारको गिरोहको संज्ञासमेत दिएका छन् ।  

भदौ २३ र २४ गतेको युवा विद्रोहलाई अपरहण गरेर उनीहरूले नवपुस्तामाथि धोका दिएको उनको आरोप छ । प्रम कार्की र गृहमन्त्री अर्यालले आफ्नो सत्ता जोगाउन युवामाथि घात हुने १० बुँदेको सम्झौता गरेकोले त्यसलाई परास्त गर्न आफूहरू लाग्ने हमालले उद्धघोश पनि गरेका छन् । 
 
‘सिंहदरबारमा सुशीला कार्की र ओमप्रकाश अर्यालको गिरोहले नाटक मञ्चन गर्यो । जुन भाद्र २३ र २४ गते नेपालको नवोदित पुस्ताको आह्वानमा भएको विद्रोहलाई अपरहण गरेर, सत्ता कु गरेर सुशिला कार्की र ओमप्रकाश अर्यालको गिरोहले गरेको यो पुस्तामाथि धोका थियो', उनले भने, 'उनीहरूको सत्ता जोगाउनको लागि हिजो सिंहदरबारमा बसेर यही युवामाथि घात हुने जुन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियो । त्यो नाटक मञ्चनलाई पूर्णतया परास्त गर्ने र त्यसलाई अस्वीकृत गर्ने काम अजय सोडारीको नेतृत्वमा भयो ।’ 

आगामी दिनमा बन्ने सरकारले युवाहरूको भावनामा खेलवाड गर्ने सबैलाई कारबाही गर्ने हमालको दाबी छ ।

अर्का जेनजी अगुवा सरिस्मा थापाले सम्झौताले आन्दोलनलाई बैधता दिएपनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेकी छन् । चुनावपछि अर्को सरकार बन्ने भएकोले यो सरकारसँग भएको सम्झौता आउने सरकारले कार्यन्वयन गर्नेमा आफूहरूलाई विश्वास नरहेको उनको भनाइ छ । 

वर्तमान सरकारले सम्झौतालाई दराजमा थन्काउने मात्रै काम गर्ने थापाको दाबी छ ।

टिप्पणीहरू