हाकु पटासीमा राेमाञ्चक ग्रेटवाल

हाकु पटासीमा राेमाञ्चक ग्रेटवाल

अमिका राजथला

चीनकाे ग्रेटवालमा हाकु पटासी लगाएर जाने कुरा सुनाउँदा चिनियाँ साथीहरू अक्मकिए । नेपाली मित्रहररूले सामान्य लुगामा जाँदा सहज हुने सुझाव दिए । हाम्रो टिममा रहेका चिनियाँ साथीहरूले हाकु पटासी लगाउने तरिका देखिसकेकाे र बुझिसकेकाे हुनाले अक्मकिनु स्वाभाविक थियाे । तर, नेपालकाे साँस्कृतिक पहिचानका लागि मैले हाकु पटासी लिएर आएकाे थिएँ ।

चीनमा पहिलाे पटक हाकु पटासी लगाएँ । नेवार भएर पनि मैले हाकु पटासी शरीरमा धारण गरेकाे थिईन, जुन पहिलाे पटक चीन आउँदा लगाउँने अवसर जुर्याे । जब ल्याई नै सकियाे भने ग्रेटवाल जाँदा पनि किन नलगाउँने ? भन्ने साेचले म हाकु पटासीमा जाने निर्क्याेलमा पुगेकाे थिएँ । साेचेकाे थिएँ, त्यहाँ चढ्दै जाँदा भेटिने स-साना घरभित्र तथा ट्वाइलेटमा पसेर हाकु पटासी  फुकालाैंला, माथि टि-शर्ट लगाउँला । ग्रेट वालका डकुमेन्ट्रीहरू हेर्दा साना घरभित्र बसेर आराम गरिरहेकाे देखेकाेले मैले त्यस्ताे अवधारणा बनाएकाे थिएँ । संगै गएकाे साथीलाई पनि हाकु पटासी लगाएर जाने कुरा सुनाएँ । 'हुन्छ' भनिन् । तर, एक्कै क्षणमा नेपाली साथीहरूले गाह्राे हाेला भन्ने बित्तिकै "हाे, गाह्राे हुन्छ, म नलगाउँने " भनिन् ।   

बिहानकाे ब्रेकफास्टपछि ग्रेटवाल जाने कार्यक्रम भएकाे र पौने ९ बजेसम्ममा बसमा आइपुग्ने आयाेजककाे जनाउ भएकाेले हामी लुगा लगाउन हिंड्याैं । मेराे काेठा हुँदै उनकाे काेठामा जानू पर्ने हुँदा लिफ्टमा, बाटाेमा सँगसँगै थियौं तर मैले उनलाई दाहाेर्याएर भनिन् । काेठामा आएर लुगा लगाउन थालें । बाहिर फुकाल्न सजिलाे हुन्छ भनेर पेटिकाेट हाेइन पाइन्टमाथि साडी लगाउँदै थिएँ उनी पनि हाकु पटासी लिएर काेठा ढक्ढक्याउन आइन् ।

'अनि, नलगाउने, गाह्राे हुन्छ भनेकाे हाेइन त ?, मैले सोधेँ । 'लगाउने भनेर ल्याइसकें, हाेस् अब लगाएर नै जाउँ न त, तपाईलाई साथ दिएँ मैले', उनले भनिन् ।

चीन भ्रमणका दौरान ग्रेटवाल जाने कार्यक्रम रहेको थाहा भएदेखि नै मनमनै ग्रेट वाल चढेकाे सपना सजाउँन थालेकाे थिएँ । चीन आएपछि पनि ग्रेटवाल जाने दिन गन्दै बसेकाे थिएँ । अन्तत: हाकु पटासी लगाएर जाने कुराले अझै उत्साहित थिएँ । नहुनु पनि किन ? विश्वका साताैं आश्चर्यमध्येकाे एक पाे हाे त ! युनेस्कोले सन् १९८७ मा विश्व धरोहर सूचीमा समावेश गरेको यो ग्रेटवाल दुनियानको सात आश्चर्यमध्ये एक मानिन्छ । 

२६ जुन २०२५ काे दिन बिहान १० बजे हामी ग्रेट वाल चढ्न थाल्याैं । यस्ताे ठाउँमा पुग्न पाएकाेमा मनमनै आमा-बुबाप्रति कृतज्ञता व्यक्त गरें । प्रायाेजक मिनिस्ट्रि अफ कमर्श अफ दि पिपुल्स रिपब्लिक अफ चाइना र आयाेजक संस्था तियान्जिन टेडा इम्पाेर्ट एण्ड एक्स्पाेर्ट कं. लिमिटेड तथा नेपाल-चाइना मिडिया फाेरमकाे सहयाेग विना याे यात्रा सम्भव  थिएन । त्यसैले हामीलाई साथ दिंदै चिनियाँ सहजकर्ता म्याक्समार्फत सबैलाई धन्यवाद भनें, हामी अगाडि बढ्याैं।

चीन र ग्रेट वाल एक अर्काका पर्याय हुन्, सानैदेखि सुन्दै र पढ्दै आएकाे । कुनै दिन जानु पर्ला र गईएला भनेर साेचेकै थिएन । तर, अकस्मात आईयाे चीन । त्याे पनि थाेरै समयका लागि हाेइन, झण्डै २५ दिन । अकस्मात याे अर्थमा कि चीन उड्नु केही घण्टाअघि मात्र भिसा लागेकाे थियो । तालिम कार्यक्रममा सहभागी हुन आउँदा हामी घुम्ने ठाउँमा त्यान्जिन, बेइजिङ र स्यानेजेन शहर परेकाे थियाे । मेराे मनलाई भने एक तमासले ग्रेट वालले तानिरहेकाे थियाे ।

त्यान्जिनमा पुगेदेखि नै ज्यादै गर्मी महसुस भएकाे थियाे । चीनमा यतिधेरै गर्मि हुन्छ भन्ने कुरा मैले अनुमानसम्म पनि गरेकाे थिईन । त्यान्जिन ट्रपिकल एरियामा परेकाे कारण बढी गर्मी हुने गरेकाे कुरा पछि थाहा भयाे । तर, बेईजिङ गएदेखि नै शितल महसुस हुन थाल्याे । जताततै हरियाली, बाटाेकाे छेउछाउ सबैतिर रूखैरूख । चीन सरकारले उद्योग, कलकारखानादेखि हरेकलाई रूख राेप्न गरेकाे प्राेत्साहनकाे प्रतिफल त्यहाँ जाने प्रत्येक व्यक्तिले महसुस गर्ने गरेका छन्  । त्यसमाथि हामी ग्रेटवाल गएकाे दिन घाम पनि त्यति लागेकाे थिएन । 

बेइजिङमा हरियाली र स्वच्छ वातावरणका लागि सरकारले विभिन्न प्रयास गरेको छ। जसमा शहरी वनीकरण तथा हरित क्षेत्र विस्तारको "ग्रीन बेल्ट" परियोजना अन्तर्गत शहरको वरिपरि वन क्षेत्र विस्तार गरिएको छ । यसले हावाको गुणस्तर सुधार्न र धुलो तथा प्रदूषण नियन्त्रण गर्न मद्दत गर्छ ।  ओलम्पिक फरेस्ट पार्क, बेइहाई पार्कजस्ता ठूला हरित क्षेत्रहरू नागरिकलाई प्रकृतिसंग जोड्ने केन्द्र बनेका छन् । शहरका बाटाे तथा "हाइ वे" काे किनारमा लगाइएका तीन जात (सानाे, मझाैला र अलि अग्लाे) का रूखहरूले सम्भावित हुरी बतासमा पनि ढुक्कले बाटाे हिंड्न र रूख ढले पनि कुनै दुर्घटना नहुने देखिन्छ । रूख नै राेप्दा पनि विपदकाे सम्भावित जाेखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने कुराकाे उदाहरण पनि हाे यो ।

वायु प्रदूषण कम गर्न कोइलामा आधारित उद्योगहरू बन्द गरिएको छ र स्वच्छ ऊर्जा (जस्तै सौर्य ) प्रयोग बढाइएको छ । सार्वजनिक यातायात (मेट्रो, इलेक्ट्रिक बस) लाई प्राथमिकता दिइएको छ र इलेक्ट्रिक वाहनहरूको प्रयोग बढाईएको छ । सर्वसाधारणका लागि साइकलहरू बाटाेमा यत्रतत्र राखिएका हुन्छन्, आवश्यकताअनुसार प्रयाेग गर्न र छाेड्न सक्नेगरी।

चीनको विशाल पर्खाल (ग्रेटवाल अफ चाइना) के हाे ?

चीनको विशाल पर्खाल जसलाई अंग्रेजीमा "ग्रेट वाल अफ चाइना" भनिन्छ । यो विश्वको सबैभन्दा प्रसिद्ध ऐतिहासिक संरचनामध्ये एक हो । मानव निर्मित अद्भुत पर्खाल चीनको गौरवशाली इतिहास, सांस्कृतिक विरासत र सैन्य सामरिक महत्वको प्रतीक पनि मानिन्छ । यसले केवल चीनको उत्तरी सीमाको सुरक्षा गर्नेमात्र गर्ने नभई विश्व इतिहासमा पनि अमिट छाप छोडेको छ ।

ग्रेटवाल  निर्माणको इतिहास

ग्रेटवाल निर्माण कार्य ५औं शताब्दी ईसा पूर्वदेखि १६औं शताब्दीसम्म विभिन्न चीनियाँ शासकहरूद्वारा चरणबद्ध रूपमा गरिएको थियो । निर्माणको प्राथमिक उद्देश्य उत्तरी हमलाबाट देशलाई सुरक्षा प्रदान गर्नुथियो ।

चीनको पहिलो सम्राट किन सि हुआंगले (२२१-२०६ ईपू) विभिन्न राज्यहरूमा पहिले नै निर्माण भइसकेका पर्खालहरूलाई जोडेर एकीकृत गरेका थिए। यसपछि हान, सुई, उत्तरी र जिनजस्ता राजवंशहरूले यसको मर्मतसम्भार र विस्तार गर्दै गए । तर, मिङ राजवंश (१३६८-१६४४) को समयमा नै यसको सबैभन्दा प्रभावशाली संस्करण निर्माण भएको थियो, जुन अहिलेसम्मका धेरै भागहरूमा देखिन्छ । 

चीनको विशाल पर्खालको लम्बाई सम्बन्धमा विभिन्न अनुमानहरू छन् । पारम्परिक अनुमानअनुसार ६ हजार ४ सय किलोमिटर (४ हजार माइल) छ । हाल भने २१ हजार १९६.१८ किलोमिटर अर्थात् १३ हजार १७०.७ माइल लामाे रहेको अनुमान गरिन्छ । यसले सबै शाखा-प्रशाखाहरू समेटेको छ ।

"ग्रेटवाल" अर्थात् पर्खाल भनिए पनि हामीले घर वा जग्गा जमिनमा लगाउने जस्तो पर्खाल नभएर दुबैतिर ठूलाे माेटाईसहित निर्माण गरिएकाे सिंढीसहितकाे पर्खाल हाे । यसको चौडाइ २१ फिट (६.४ मिटर) सम्म छ, जसले एकैसाथ ५ वटा घाेडा सवार हुन वा १० पैदल सैनिकहरूले एउटै हारमा बसेर गस्ती लगाउन सक्छन् भन्ने मान्यता राखिंदै आएकाे पाईन्छ । सबै ठाउँकाे चाैडाई एकनासकाे नभएकाे हुँदा याे मान्यता सबै ठाउँमा लागू नहुन सक्छ भने दुबैतिरकाे पर्खालकाे उचाई पनि एकसमान छैन । केही ठाउँमा ९ फिट (२.७ मिटर) त कतै ३५ फिट (१०.६ मिटर)सम्मकाे पर्खाल रहेका छन् । सिंढीहरू पनि एक नासकाे छैन ।२-३ इञ्चदेखि २ फिट अग्लाेसम्मकाे सिंढी हामीले चढ्याैं । त्यसैले उक्लिँदा विशेष ध्यान दिनुपर्ने रहेछ । 

ग्रेटवाल छिर्ने गेटका सबै जाँच गरेर चढाई शुरू गर्दा जुन उत्साह थियाे, त्याे उत्साह पर्खाल ठडिएसँगै अझ बढ्दै गयो । हुनत हाम्रो याेजना माथिसम्म जाने थिएन । घुमेर थाेरै समयमा सकिने पनि हाेईन, तर पनि अलि माथि जाउँ भन्ने चाहनाले उकालिंदै गएँ। शुरुमा हाकु पटासी जति स्वाभाविक थियो, चढ्दै जाँदा त्यस्तो भएन । दुई ठाउँमा झण्डै लडेकाे अगाडिबाट खुट्टाले कुल्चिएर । हाकु पटासीलाई देब्रे हातले समातेर, अर्काे हातले सिंढी छेउमा राखिएका बार समात्दै उकालियाैं । अलि अस्वाभाविक लुगा देखेर हाेला अरू पर्यटक हामीलाई हेर्दै फाेटाे खिच्थे, रमाइलो नै भयाे । 

१० बजे गेटभित्र छिरेका हामीलाई साढे ११ बजेसम्मको समय थियो । तर, हाकु पटासीले गर्दा समयमा सिंढी उक्लिन सकिएन । जब ठाडो उकालाे आयाे, साथीकाे अनुहार हेर्दा हाकु पटासी लगाएर आएकाेमा पछुताेसँगै आक्राेश देखें । म चुप लागेर हिंड्दै गरेँ । उनी अब अगाडि नजाने भनेर थचक्क बसिन् । केहीक्षण बसेपछि हिम्मत आएछ क्यारे मभन्दा अगाडि गएर माथि पुगिन् तर अझै टिमका अरू साथीहरू पुगेकाे ठाउँमा पुगेकै थिएनाैं । तर,  हाकु पटासी लगाएकाेमा कुनै क्षाेभ, ग्लानी थिएन । मात्र मैले डकुमेन्ट्रीमा देखेका ग्रेटवालका साना घरहरू ताला लगाएर बन्द भएकाेले साेचेअनुसार लुगा परिवर्तन गर्न सकिएन । हाम्रा पहाडका दिदीबहिनी, आमाहरू अझै धाेती लगाएर पहाडका कुना कन्दरा पुगेका हुन्छन् । केही अप्ठ्यारो भएकै हाे तर जानै नसकिने हाेइन ।

ग्रेटवाल निर्माण प्रविधि

ग्रेटवाल निर्माणमा स्थानीय स्रोतहरूको प्रयोग गरिएको रहेछ । पहाडी क्षेत्रहरूमा ढुंगा अनि मैदानी क्षेत्रहरूमा माटो र ढुंगा दुवै प्रयोग गरिएको थाहा भयो । ढुंगाहरू जोड्न चामलको पीठोको मिश्रण प्रयोग गरिएको पनि जानकारी प्राप्त भयो ।

मुख्यतः सैन्य सुरक्षाको लागि निर्मित याे पर्खालले सीमा नियन्त्रण, आप्रवासन, रेशम मार्गमा व्यापारिक शुल्क लगाउने, यातायात, संचारजस्ता कुरालाई पनि जाेड्छ । धेरै लामाे यो वालकाे वास्तुशिल्प विशेषताहरूमा थुप्रै किल्लाहरू, सैनिक ब्यारकहरू, प्रहरी चौकीहरू, सतर्कता मीनारहरू, सिढीहरू र पुलहरू रहेका झन् ।

मानवीय इतिहासमा ठूलाे महत्व राख्ने ग्रेटवाल निर्माण परियोजनामा लाखौं मानिसहरूको ज्यान गएको अनुमान छ । सन् १२११ मा मंगोल शासक चंगेज खानले यस पर्खाललाई तोडेर चीनमा आक्रमण गरेका थिए । यो घटनाले ग्रेटवालकाे छविलाई धक्का पुर्यायो ।

ग्रेटवालका दायाँबायाँ साना साना स्पिकर लगाएर क्षति पुर्याउँने कृयाकलाप नगर्न अनुराेधसहितकाे सूचना बजिरहेका  हुन्छन् । तर ग्रेटवाल जानेहरूले कान थापेर नसुनेसम्म त्यसले डिस्टर्ब भने नगर्ने रहेछ । त्यस वरपर वनजंगल, बाेटबिरूवा पनि भएकाेले आगलागी हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर लाइटर निषेध गरिएकाे छ । हाल यसलाई संरक्षण गर्न चिनियाँ सरकाले विभिन्न उपायहरू अवलम्बन गर्दै आएको छ ।  

विश्व  पर्यटन जगतमा अलग्गै महत्व राख्ने ग्रेटवालमा सर्वसाधारणदेखि विश्व प्रशिद्ध व्यक्तिहरू पनि आउन लालायित हुन्छन् । स्थानीय युवायुवती तथा बालबालिकाहरू पनि शैक्षिक भ्रमणको रूपमा दैनिक हजाराैंको संख्यामा त्यहाँ पुग्छन् । सन् १९७० मा पहिलोपटक यसलाई सर्वसाधारणका लागि खुला गरिएको थियो । यस्ताे अद्भूत संरचना ग्रेटवालमा हाकु पटासी लगाएर जान पाउनु मेराे लागि गाैरवको कुरा हाे ।

टिप्पणीहरू