यता पनि सुरक्षा सतर्कता
द्वन्द्वग्रस्त देशमा खटिने नेपाल प्रहरीको युनिट एफपियु (फम्र्ड पुलिस युनिट) केही वर्षदेखि कतै पनि तैनाथ हुन सकेको छैन । वसन्त कुँवर आइजी हुँदादेखि रोकिएको त्यस्तो तैनाथी हालसम्म जारी छ । सुडान र हाइटीमा टोली अन्तिम पटक खटिएको थियो ।
सशस्त्र प्रहरीको चार र नेपाली सेनाको ९ भन्दा बढी देशमा यस्तो खटाइ रहेको छ । संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्क मिसनमा नेपाली सेनाका तर्फबाट मिलिटरी एडभाइजरको रूपमा कर्णेल कार्यरत रहेको र उनैको समन्वयमा नेपाल प्रहरीले मिशन सुचारु गराउन छलफल चलाइरहेको बुझिएको छ ।
यसैबीच सशस्त्र प्रहरीका एसएसपी रविन्द्रराज कर्णजितले होटलमा डाकिएको पार्टीमा एक जना नर्वेजियन महिला अफिसरलाई पुठ्ठामा हातले प्याट्ट हानेर मोबाइल नम्बर साट्ने भन्दै ‘यौनिक हिंसा’ गरेपछि सेक्सुयल एक्सप्लोइट भन्दै उनले युएन हेडक्वार्टरमा उजुरी हालेपछि हल्चोकको कानुन महाशाखामा हाजिर गराएर बयान लिन थालिएको छ । एक जनाको गल्तीका कारण संयुक्त राष्ट्रसंघले सिंगै फौजलाई द्वन्द्वग्रस्त क्षेत्रमा रोक लगाउने सम्भावना पनि बढेको बताइन्छ । राम्रो अफिसरमा गनिएका कर्णजितलाई सुडानबाट फर्केपछि आइजीको सचिवालयमा जिम्मेवारी दिने तयारी थियो ।
पहिला–पहिला संयुक्त राष्ट्रसंघीय मिसनमा उच्च प्राथमिकता पाउने नेपाली सुरक्षाफौजलाई अहिले हेप्न थालिएको महसुस हुँदैछ । ग्रे लिस्टमा नाम रहेकोले यस्तो पेलान खान बाध्य हुनुपरेको हुनसक्छ । इन्टरनेशनल फोरमहरूमा ग्रे लिस्टमा हुनेबित्तिकै मस्ट करप्ट अर्थात् भ्रष्टहरूको मुलुक भन्दै कामको जिम्मेवारी दिन हिच्किचाउने चलन छ र यसैकारण नेपाललाई संयुक्त राष्ट्र संघले हेर्ने नजरमा फरक परेको बताइन्छ । त्यसमाथि यस्ता मिसनमा जाने कमाण्डरहरूको गलत हर्कतले गर्दा झनै समस्या बढाएको अवस्था छ ।
यसबीच न्यायाधीशहरूलाई धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले च्याम्बरभित्रै मसी छ्यापेपछि देशभरकै अदालतमा सुरक्षा सतर्कता बढाइएको छ । विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा पनि सुरक्षा थपिएको छ । अघोषित लोडसेडिङ गर्ने, गर्मीको बेला बारम्बार बिजुली जाने भएपछि सेवाग्राहीले आक्रमण गर्न सक्ने डरका कारण सजगता अपनाएको बताइन्छ । प्राधिकरणका काठमाडौं, उदयपुर गाईघाटलगायतका विभिन्न कार्यालय घेर्दै सेवाग्राहीले रोष प्रकट गरिसकेका छन् ।
टिप्पणीहरू