सर्भर विदेशमा राखेर नेपालमा कारोबार गर्नेहरु राजश्वको फन्दामा
अवैधरुपमा कम्प्युटर प्रणालीको सर्भर विदेशमा राखेर नेपालमा कार्गो तथा कुरियर व्यवसाय गर्नेहरु कर छलीको आरोपमा राजश्वको फन्दामा परेका छन् ।
काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका उपकार्यकारी निर्देशकसहित ६ जना सञ्चालक तथा शेयरधनीलाई राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
उक्त कम्पनीका उपकार्यकारी निर्देशक सर्लाहीका संगम पौडल, शेयरधनी तथा सिईओ झापाका गंगाबहादुर थापा, शेयरधनी तथा सञ्चालकहरु गुल्मीका जीवन ज्ञवाली, रुपन्देहीका सुदिप आचार्य, भक्तपुरका मनिषप्रसाद आचार्य र पाल्पाका मिठु पौडेलविरुद्ध राजश्वले आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।
कर प्रशासनको निगरानीलाई छल्न अवैध ढंगले कम्पनीको सर्भर अष्ट्रेलियामा राखेर गैरकानुनी तवरले कार्गो कम्पनी चलाएको राजश्वको अनुसन्धानबाट खुलेको छ । विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार गोप्य सूचनाका आधारमा गरिएको आकस्मिक निरीक्षणबाट उनीहरुको यो बदमासी पत्ता लागेको हो ।
कम्पनीले व्यावसायिक कारोबारको लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली ‘नेपाल क्यान मुभ डटकम (एनसीएम)’ राजश्वको टोलीले यसअघि नै नियन्त्रणमा लिएको थियो । योसँगै उक्त कम्पनीको २०७६–०७७ देखि ०८१–०८२ फागुल्न महिनासम्मको कारोबार खुल्ने ट्रायल ब्यालेन्सलगायत महत्वपूर्ण कागजात तथा प्रमाण राजश्वले हात पारिसकेको छ ।
अनुसन्धानको क्रममा सो कम्पनीले उक्त अनलाइन पोर्टलको सर्भर अस्ट्रेलियामा राखेर सेवा बिक्रीको ठूलो कारोबार विवरण लुकाइछिपाई कर छलेको पाइएको विभागले जनाएको छ । ‘एनसीएम पोर्टलको सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तवरले बिलिङ्ग गरी वास्तविक बिक्री कारोबार लुकाएको,’ अदालतमा दायर अभियोग पत्रमा भनिएको छ ।
विभागले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम मूल्य अभिवृद्धि कर तथा आय करसहित कर योग्य रकम ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँ बिगो कायम गर्दै सो बराबरकाे रकम जरिवाना तथा सजाय गरी कूल एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ असुल उपर गर्न मागदाबी गरेको छ ।
टिप्पणीहरू