फेरि ब्युँतियाे महासचिवकाे ‘नातावाद’
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलमाथि लामो समयदेखि लाग्दै आएको ‘नातावाद’को आरोप भृकुटीमण्डपमा ब्युँतिएको छ । महासचिव पोखरेलले आफूमाथि लागेको उक्त ट्याग हटाउन पछिल्लो समय पार्टीभित्र सन्तुलन कायम गर्न खोजेको बताइए पनि जारी महाधिवेशनमा पत्नी र बहिनीको उम्मेद्वारीले आरोप पुनः सतहमा आएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट पोखरेल पत्नी सुजिता शाक्य (काठमाडौँ उपत्यका) र बहिनी मेनका पोखरेल (लुम्बिनी)ले महिला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । पोखरेल आफै पदाधिकारी (महासचिव)को लागि अघि सरेका छन् नै, पत्नी र बहिनीलाई समेत अघि सारेपछि अहिले बन्दसत्रस्थलमा ‘नातावाद’काे व्यापक चर्चा भइरहेकाे छ । ०७४ को निर्वाचनमा पत्नी शाक्य र ०७९ को निर्वाचनमा बहिनी पोखरेललाई समानुपातिक सांसद बनाएका पोखरेलले आगामी निर्वाचनमा समेत पुनः सोही कोटाबाट सांसद बनाउन सक्ने धेरैको अनुमान छ ।
लुम्बिनी एमालेमा लामो समयदेखि सक्रिय रहेका पाका र क्षमता भएका अन्य महिला नेताहरु हुँदा हुँदै पोखरेलले बहिनीलाई ‘टिका’ लगाइदिएपछि भृकुटीमण्डपमा नेताहरुले आक्रोश पोखिरहेका छन् । मतदान अपरान्ह ४ बजेबाट सुरू हुँदैछ ।
टिप्पणीहरू