दुःखी कैदीहरू

नेपाली कांग्रेसका श्रद्धेय नेता श्री मोहम्मद आफ्ताब आलमलाई निर्दोष ठहर्याएर जेलमुक्त गरेपछि जनता दुःखी भएका छन् । अदालतले भनेको छ– उनले कसुर गरेकै देखिएन । कसुर गरेको नदेखिएपछि कसरी सजायँ दिने ? अब अदालतले कसरी देख्छ ? अदालतको आँखामा त ‘पट्टि’ लगाइएको हुन्छ ।
आलमलाई जेलबाट निकालेपछि सर्वसाधारण त दुःखी नै छन् । तर अहिले बुझ्दा थाहा भयो, जेलमा उनीसँगै बसेका अन्य कैदीहरू पनि धेरै दुःखी भएका रहेछन् । जेलमा दुःखी भएर बसेका एक कैदीको भाइले मलाई सुनाए, ‘सिंहराजजी, आलम छुटेपछि जेलमा मेरा दाजु साह्रै दुःखी भएका छन् ।’
मैले सोधेँ, ‘किन भाइ ?’
भाइले भने, ‘आफताबज्यूले मान्छे कुटेर बोरामा हाली भट्टीमा पोल्नुभएको रहेछ । मान्छेलाई जिउँदै भट्टीमा पोलेका कारण उहाँ छुट्नुभयो । हाम्रो दाजुले मान्छे कुटे पनि जिउँदै भट्टीमा हाल्नुभएको थिएन । हालेको भए आज उहाँ पनि छुट्नुहुन्थ्यो ।’
मान्छे कुटेर भट्टीमा नपोलेका कारण उनी पछुताएका रहेछन् । भाइले फेरि भने, ‘के गर्ने सिंहराजजी, हामीलाई कानूनै थाहा भएन । हाम्रो कानुनअनुसार मान्छे कुट्ने दोषी हुने, भट्टीमा पोल्ने निर्दोषी हुने रहेछ । हाम्रो दाजुले मान्छे पोल्नुभएन, त्यसैले निर्दोषी देखिनु भएन ।’
उनैले सुनाए, ‘जेलमा तीन पटक परेको अर्को कैदी पनि छ, वीरबहादुर । उसले पनि तीन पटक तीन जनालाई कुटेको रहेछ । दुई जना घाइते मात्रै भए, एउटा म¥यो । अब ऊ भनिरहेको छ, अर्को पल्ट मौका परे मान्छेलाई कुटेर छोड्दिन, सिधै भट्टीमा लगेर पोलिदिन्छु रे । जिउँदो मान्छेलाई भट्टीमा पोल्न नपाएकोमा ऊ पछुताइरहेको छ ।’
कैदीहरूको दुःख सुनेर म झनै दुःखी भएँ ।
टिप्पणीहरू