न ओलीलाई सरापेर हुन्छ, न उनको झोले बनेर चल्छ

नेपालमा प्रयोग हुने धेरै कुरा भारतबाट आयातित छ । चलचित्रको कथा आयात हुन्छ, गीत र संगीतको धुन आयात हुन्छ, ब्यक्तिगत जीवनमा दैनन्दिन प्रयोग हुने वस्तु आयात हुन्छ । हुँदाहुँदै गएको चुनावमा मोदीले गीतको माध्यमबाट प्रयोग गरेको नारा ‘मैं भी चौकिदार हुँ’ परिमार्जित हुँदै ‘म झोले हो पनि भन्दै आयात भैैछाड्यौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले हो लेख्नेबीत्तिकै नेकपा एमालेभित्र ‘झोले’हरूको झुण्ड निर्माण भयो । झोले शब्दको सकरात्कता र नकरात्मकता आ–आफ्नो बुझाइमा होला, तर प्रधानमन्त्रीले पोष्ट गरेपछि निर्मित झुण्डबाट उत्पन्न हुने तालीले देशलाई सही निशानिर्देश अवश्य गर्दैन ।
एमाले नेतृत्वको सरकारबाट पछिल्लो समय केही थान अलोकप्रिय निर्णय भएकै हो । पार्टीगत आस्था आफ्नो ठाउँमा होला, तर सचेत नागरिकको हैसियतले, यस्ता निर्णयहरूलाई काँध थाप्न सकिँदैन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २–३ महिना पनि नकुरी हटाएर हितमान शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्नु गलत निर्णय नै हो । नयाँ कार्यकारी निर्देशक ठाउँ ठाउँमा ‘म प्रधानमन्त्रीको सालो हुँदै होइन’ भन्न बाध्य भए भने, नेपालकी प्रथम महिला राधिका शाक्यले समेत ‘मेरो हितेन्द्र शाक्यसँग कुनै नाता छैन’ भनेर अन्तर्वार्ता दिनुपर्ने अवस्था आयो । हितेन्द्र प्रधानमन्त्री ओलीको सालो नहोलान् यदि हुन् भने पनि वि.सं. २००६ सालमा पाँच जना नेवारका छोराछोरीले कलकत्ताबाट शुरु गरेको पार्टीमा, त्यही समुदायको प्रतिनिधित्व गरी, एक दुई थान अवसर लिन पनि ‘सालासाली’ हुनैपर्ने अवस्था कम्ता विजोगपूर्ण छैन । तीन महिना पर्खेर, ससम्मान कुलमानको बिदा र पछि, हितेन्द्रलाई कार्यभार सुम्पेको भए नेपाली प्रशासनमा कति राम्रो थिति बसालिन्थ्यो, जर्वजस्तिको बिदाइ नेकपा एमालेलाई चुनावी रणनीतिको दृष्टिकोणले घातक हुने पक्का छ ।
नेपाल कम्युनिष्ट पार्टीको गौरवशाली इतिहासलाई कसैले नामेट गर्न सक्दैन । आज पनि कैयन बृद्धबृद्धाले बृद्धभत्ता हातमा थाप्दाथाप्दै, शालिन प्रधानमन्त्री मनमोहन अधिकारीलाई सम्झिन्छन् र आँखा रसाउँछन् । चालिस वर्षको उमेरमा मनमोहन अधिकारीको सरकारलाई भोगेको एक अर्धवयस्क आज सत्तरीमा टेकेर बृद्धभत्ता लिँदा भन्छन्, त्यतिबेलाका कम्युनिष्ट नेता जस्तो हुनुपर्छ अहिलेका कम्युनिष्ट नेता पनि । अनिच्छापूर्वक यमुना नदीमा सेलाइएको पुष्पलालको देश र पार्टीलाई लिएर अन्तिम इच्छा के थियो होला हामी सहजै अनुमान गर्न सक्छौँ । यस्तो गौरवशाली पार्टीको गौरव आज ‘सिक्काको चमक’ जस्तो हराउँदै गएको छ । यस्तो हुँदै जानुको प्रमुख कारणमा पार्टीको भन्दा ब्यक्तिको स्वार्थ हावी हुने हो । कम्युनिष्ट बन्दा कम्तीमा पनि पुष्पलालको चश्मालाई सम्झौं । मदन भण्डारीको साइकललाई सम्झौँ ।
नेपालको एक मात्र यस्तो पार्टी, कुनै समय जसको सदस्यताका लागि जनता मरिहत्ते गर्थे । आज आएर, नयाँ सदस्यतामा जनतालाई इच्छा नै देखिएको छैन । भएको सदस्यता पनि नवीकरण भएन । यसैले सदस्य संख्या खुम्चिएको कटुसत्य हो । आज यही संकुचनले टोल टोलमा जानुपर्ने अवस्था आएको छ । यदि, वैचारिक विचलन नआएको भए, टोल टोलमा जानुपर्ने अवस्थै आउँथेन, टोल–टोल नै पार्टीमा आउँथ्यो । संगठनलाई बलियो तुल्याउन दह्रो एकता चाहिन्छ । यो भनेको छुटेको शक्तिलाई समावेश गर्नु हो । ‘नयाँ चिह्न’ लिएर जित्ने साथीहरू अवश्य कमजोर छैनन्, हेक्का राखौँ । ‘कलम’ लिएर जित्न सक्ने साथीहरू सूर्यजस्तो रापिलो भएर चुनावमा आएको भए प्रतिपक्षीको के हविगत हुन्थ्यो त्यो पनि हेक्का राखौँ । अब फेरि अहं त्यागेर, एकीकरणमा लाग्नुपर्छ । आन्दोलनमा साथ दिएका साथीहरूलाई पछाडि छोडेर, अवसरवादी नयाँ अनुहारले बन्ने झुण्डले संगठनको कति नै भलो होला र ? फेरि एकपटक सबै कमरेड एकत्र बनौँ । मन माझामाझ गरौँ । के कुरामा दिल दुख्यो, घाउको आवाज सुनौँ, सुनाऔँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही अनुकरणीय चारित्रिक विशेषता छन् । आत्मबल एक पाठशालाभन्दा कम छैन । अस्ताचलमा पनि ‘सपनाहरू अलप पारेर म अलपत्र हुन्न’को महावाणीसहित फेरि उदाउन सक्ने राजनीतिक ब्यक्तित्व नेपाली राजनीतिमा कमै छ । कठोर फलामको बारभित्र खिइएका उनको जोवनका वर्षहरू हामीले तिर्न सक्दैनौँ । यसर्थ, संगठनमा शिथिलता आउनुमा उनलाई मात्र दोष अवश्य दिन सकिन्न । उनी ठीक थिए होलान्, तर उनका वरिपरि स्वार्थवश बसेका गलत भए । उनको कैयन बोली सही थिए होलान् तर उनको हरेक बोलीमा ताली बजाउनेहरू गलत सावित भए । केपी शर्मा ओलीले ‘म झोले हो’ लेख्नेबित्तिकै अर्थ नै नबुझेर ‘कपी पेष्टहरू गलत भए । ओलीले हालै घुमाउरो शैलीमा यो पाराले चौरासीमा जीत हासिल नहुने कुरा स्वीकारेबाट उनलाई पनि कता–कता ग्लानी भएको झल्को मिल्छ । यो भनेको संगठनको लागि शुभ संकेत हो । अहिले अग्लिएर होचिने नाराभन्दा होचिएर अग्लिने नारा संगठनको लागि आवश्यक देखिन्छ, । यो आत्मभिमानको होइन, आत्मसमीक्षाको नारा बनाउने समय हो ।
टिप्पणीहरू