नेपालीप्रति किन यति कठोर भयौ अमेरिका ?

नेपाली जनबोलीले भनेको छ – सन्तानले डाँडाकाँडा ढाकुन् । नेपाली समाजमै डाँडाकाँडा ढाक्ने तिनका सन्तान विश्वका सबै कुनामा छरिएर रहेका छन् । रोजेर होस् वा रोएर डाँडाकाँडामा पुगेका ती सबै सन्तानको हिसाब तिनका अभिभावकसँग हुन्छ । कुनै न कुनै रूपले आफ्ना अभिभावकलाई नसोधी र अभिभावकको मञ्जुरी नलिई नौ डाँडा–सात समुद्र पार पुगेका होइनन् । शुरुवातका यी पंक्ति पढ्दै गर्दा विज्ञ पाठकहरूलाई लाग्न सक्छ, भन्न खोजेको चाहिँ के हो, सिधै लेखे हुन्छ नि ? किन यतिका भूमिका बाँध्नु ? हो पनि, मोही माग्नु ढुंग्र्रो किन लुकाउनु ? तर यी पंक्ति लेख्दै गर्दा यो पंक्तिकारलाई पनि थाहा छैन, लेख्न खोजेको के हो र भन्न खोजेको के हो ? थाहा छैन, मोही माग्ने यो मनचिन्ते ढुंग्रोमा २ मुठ्ठी मोही र एक मुठ्ठी आश (श्वास) कसैले भरिदिन्छन् कि दिँदैनन् ? को हुन् नेपाली समाजबाट नौ डाँडा–सात समुद्र पार पुगेका सन्तान र को हो तिनको अभिभावक ? मानिसको मन, मनभित्रको भावना वा विचारलाई प्रकट गर्न कहाँ सजिलो छ र ? तर नागरिकको अविच्छिन्न अभिभावक राज्य अर्थात् सरकार हो । आफ्ना नागरिक कहाँ कहाँ पुगे ? के के गर्दैछन् ? के खाँदै के लाउँदै र कसरी बसेका छन् ? राज्यले सोध–खोज र सुरक्षाको अनुभूति गराउनुपर्छ । स्वदेश होस् वा विदेश, राज्यप्रति नागरिकको अभिभावकत्वको दायित्वबाट पन्छिन मिल्दैन । लेख्न नसके पनि दिन खोजेको सन्देशचाहिँ यत्ति हो ।
अमेरिका, हिजोसम्म त्यस्तो भूमि थियो– जहाँ विश्वको कुनै पनि कुनाको नागरिकले कुनै पनि कारणवश मैले यस धर्तीमा टेक्ने ठाउँ पाइन र बाँच्ने आधार भेटिन भन्यो भने शरण पाउँथ्यो । अमेरिकाले शरण दिन्थ्यो, स्वागत गथ्र्यो । कुनै जुक्ति–बुध्दि लगाएर यो माटोमा एउटा मात्र पैतलाले टेक्यो भने संरक्षण गथ्र्यो । अभिभावकत्व ग्रहण गथ्र्यो । अमेरिका मानिसको आशाको त्यस्तो जूनकिरी थियो, शान्तिले श्वास फेर्न, आरामले बाँच्न र जीविकाका लागि श्रम गर्न अन्यत्र कतै पाइएन भने पनि यो एउटा ठाउँ त बाँकी छ भन्ने हुन्थ्यो । यो ठाउँमा कुनै जुक्ति, बुद्धि र बलले कोही आइपुग्यो भने ठीकै छ, आइपुगेन भने पनि अमेरिका ती आफैँ त्यहाँ पुग्थ्यो । ती ठाउँमा हिजोसम्म झोलामा मलमपट्टि र औषधि, जीवन जल, खाद्यान्न, खोप, शिक्षा, विकाश बोकेर पुग्ने गरेको अमेरिका अहिले आफ्नो भूमिमा शरण लिएका तिनै असहाय नागरिकलाई ‘पाता फर्काएर’ सिमाना कटाइरहेछ । को कहाँको हो वा होइन ? तिनको त्यहाँ कुनै आश्रय छ छैन ? भविष्यको सुरक्षा यकिन नगरी आँखा चिम्लेर ‘एयरपोर्ट’का गोदाममा लगेर नांगेझार पारिँदै छ । समय संधै कसैका लागि पनि एकनासको त हुँदैन ! अमेरिका किन यस्तो भयो ? विश्व मानव समुदायमा रहेको ‘वसुधैव कुटुम्बकम’को आदर्श कता हरायो ? यो पनि खोज्दै गरौंला । यो अपिल हो, नेपाल सरकारका लागि । नेपाल सरकारले आफ्ना नागरिकको सोधखोज गरोस्, बिना कसुर पाता फर्काएर, गलहत्याएर, हतकडी लगाएर विमानस्थलका गोदामहरूमा ल्याएर नफालोस् ।
सन् २०२५ को नयाँ वर्ष आगमनसँगै विश्वमा रहेको विगतको अमेरिकी मानक र मर्यादा संकुचित भयो । अमेरिकी भूमिमा बसेर यी पंक्ति लेख्दै गर्दा आफैँलाई असहज त लागिरहेकै छ । निद्रामा रहेका परिवारका सदस्यहरूले त यो लेखेको थाहा नपाउलान् । तर आजभोलि ‘झोलामा आइडी कार्ड’ नबोकी बाहिर हिंडेको मन पराउँदैनन् श्रीमती र छोरीहरूले । यस्तो अवस्थामा पुगेको आप्रवासी समुदायले ‘बहुविविध संस्कृतिको फूलबारी’बनाउने अमेरिकी ‘फाउण्डिङ फादर’हरूको सपना पनि अबको अमेरिकाले कसरी पुरा गर्ला ? ती अमेरिकी ‘फाउण्डिङ फादर’हरू जसले अमेरिकालाई स्वतन्त्रता, समानता–अवसर र व्यक्तिगत अधिकारको सपना साकार पार्ने सुन्दर फूलबारीको परिकल्पना गरेका थिए । तर अब समय त्यस्तो रहेन । यस भूमिमा श्रम–पसिना बगाइरहेका ती असाहयहरू जसले जीवनको बाँच्ने आधार खोजिरहेका थिए वा छन् तिनलाई अमेरिकाले गनी–गनी र छानी–छानी देश निकाला गर्दैछ । राज्यको सिध्दान्त र नीतिमा यो स्वभाविक होला तर खै त ‘वसुधैव कुटुम्बकम’को आदर्श ? खै शरणको मरण गर्न नहुने सिद्धान्त ? अवसर र व्यक्तिगत स्वतन्त्रताका लागि मानक बनेको अमेरिका थप उदार, प्रजातान्त्रिक, पारदर्शी वा फराकिलो हुँदै जानुपर्नेमा किन सङ्किर्ण मार्गको साँघुरो र अँध्यारो गल्ली रोज्दैछ ? यो प्रश्न अमेरिकी समाज र अमेरिकी सरकारका लागि हो । बाँकी प्रश्न, आशा, अपेक्षा र अनुरोध नेपाल सरकारका लागि हो । ‘वसुधैव कुटुम्बकम’को मात्र उदाहरण किन ? गायक प्रकाश
दुतराजको एउटा गीत यस्तो पनि छ –
जता जान्छु त्यही देश मेरो ।
नेपालीलाई अमेरिकाले उनीहरूको यहाँ बसोबास गर्ने कानुनी आधार नभएको कारण देखाएर फर्काउन थालेको छ । यसरी फर्काउने काम पहिले पनि हुन्थ्यो र यो प्रक्रिया ‘तोकिएका मापदण्डहरूको आधारममा’ दोहोरो नै हुन्छ । तर अमेरिकाले अपनाएको विगतकोभन्दा अहिलेको प्रक्रिया र मापदण्ड फरक छ । प्रक्रिया र मापदण्डको बारेमा सरोकार पक्षहरूबाट पर्याप्त जानकारी सार्वजनिक भएका छन् र यस प्रकारका घटनाहरूले पनि देखाएको छ । अमेरिकामा बसोबास गर्ने कानुनी आधार पुरा गर्ने बाँकी प्रकृयाका लागि मौका नदिएको तथा नेपाली जनबोलिमा ‘पाता फर्काएर’ भनिएजस्तै हतकडी लगाएर फर्काएका घटनाहरू सार्वजनिक भएका छन् । यसरी कुनै पनि व्यक्तिको स्वाभिमानलाई ख्याल नगरी उनीहरूको सम्मानमा आघात हुने व्यवहार गरिनु मानवअधिकारको पनि उल्लंघन हो । कुनै पनि देशले कुनै पनि देशका नागरिकमाथि अमानवीय–अभद्र व्यवहार गर्न हुँदैन । यस अवस्थामा सम्बन्धित देशले आफ्ना नागरिकको समग्र सुरक्षाका लागि पहल गर्नुपर्छ र चासो प्रकट गर्नु आवश्यक हुन्छ । नेपाल सरकारले अमेरिकालाई नै सोधोस्, कति आफ्ना (नेपाली) नागरिकलाई फर्काइँदै छ ? तिनको बाँकी विकल्प अमेरिका बसोबासका लागि के छ ? विकल्प छैन भने तिनको आत्मसम्मानमा आँच आउने कुनै किसिमका व्यवहार नहुन् । उनीहरूको स्वाभिमान र भौतिक सुरक्षामा आघात नपु¥याइयोस् ।
सन् २०१५ मा अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा गतहप्ता खारेज भएको छ । यो सुविधामा अमेरिकामा बसोबास गरिरहेका नेपाली ७ हजार रहेको अनुमान छ । उनीहरूलाई दुर्ई महिनाभित्र फर्किन भनिएको छ । देशबाट युवाहरू पलायन भए, ज्ञान–सीप, अनुभव र आर्जनको वातावरण कमजोर भयो भनिरहेको वा भएको अवस्थामा हजारौँ नेपालीलाई सरकारले सम्मानजनक वातावरणमा ‘स्वागतको आह्वान’ गर्नुपर्छ, गरिसकेको छ भने राम्रो भयो, छैन भने ढिलो गर्नुहुन्न । आज अमेरिकाको यो समस्या भोलि अन्यत्र पनि हुन सक्छ ।
जीवन निर्वाहको सपना बोकेर देश छोडेका यी नागरिक को हुन् र कहाँका हुन् ? लेख्दै गरेका यी पंक्ति उनीहरूकै लागि हो – राज्यले खोजोस्– सरकारले सोधोस् । नौ डाँडा र सात समुद्र पार गरेका आफ्ना सन्तानको अभिभावकत्व सरकारले ग्रहण गरोस् । नेपाल सरकारले आफ्ना नागरिकको खै–खबरी राखोस् । कतै भिर–पहरामा अल्झिएका छन् कि ? कतै समुद्रमा डुब्न पो लागेका छन् कि ? व्यक्तिगत जीवन र दैनिकीका लागि अनपेक्षित यो अवस्था निकै कठिन हो । अनपेक्षित कसरी भन्ने प्रश्नको उत्तर हो बाँकी विकल्प पनि त छन् नि ! तर यसैकारणले कुनै अपृय दुर्घटना हुन नदिन पनि नेपाल सरकारको अग्रसरता देखिने, सुनिने र कार्यान्वयन हुनेगरी हुन सकोस् ।
अहिले अमेरिकाले जुन तरिकाले, जुन बाटोबाट नेपालीलाई फर्काइरहेको छ, त्यो सम्मानजनक छैन । व्यक्तिको स्वमभिमानलाई आघात पुग्नेगरी आफ्ना नागरिकलाई व्यवहार नगर्ने, उनीहरूको रुचि र रोजाइलाई अधिकतम प्राथमिकता दिने र फर्काउनै परे सम्मानजनक फर्किने वातावरण बनाउन अनुरोध गर्ने र आवश्यक परे आफँैले पनि अग्रसरता लिने प्रयास र प्रतिबद्धता नेपाल सरकारले पनि गरोस् । यससम्बन्धी व्यवस्था र प्रयासका लागि नेपाली दूतावास, नेपाली समाजसँग सम्बन्धित संस्था, आप्रवासन कानुनका ज्ञाता, मानसिक स्वास्थ्य परामर्शका विज्ञहरूको समन्वयात्मक भूमिका पनि यो वेला महत्वपूर्ण छ । अन्त्यमा कवि माधव घिमिरेकृत ‘गौरी’ शोक काव्यको यो श्लोक । सरकार पनि यस्तै अभिभावक हुन सकोस् –
यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी ।
टिप्पणीहरू