सशस्त्रका दुई जवान कोशीमा बेपत्ता

सशस्त्रका दुई जवान कोशीमा बेपत्ता

मनसुनजन्य विपद्को पूर्वतयारीका लागि तालिमरत दुई सशस्त्र प्रहरी जवान कोशी नदीमा बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपाल,नम्बर १ गण इलाममा दरबन्दी भई सप्तरीमा रहेको दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा कार्यरत जवान हरिदेव राजवंशी र नम्बर १३ गण पर्सामा दरबन्दी भई नम्बर २ गण छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद बेपत्ता भएका हुन् । उनीहरु आज दिउँसो अभ्यासका क्रममा बेपत्ता भएको सशस्त्रले जनाएको छ । मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले पर्सिदेखि ‘मनसुनजन्य विपद्को पूर्वतयारीस्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास’ कार्यक्रमको आयोजना गर्दैछ । 

सोही कार्यक्रमका निम्ति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ मा रहेको कोशीमा नम्बर ६ गणका गणपति उपरीक्षक ज्ञानमणि पौडेलको कमाण्डमा १७ जना,दन्तकाली विशेष कार्य तालिम शिक्षालयबाट प्रहरी नायव उपरीक्षक गणेश दाहालको कमाण्डमा २३ जना र नम्बर ७ गणबाट प्रहरी सहायक निरीक्षक सोमदेव यादवको कमाण्डमा १६ गरी ५६ जनाले संयुक्त अभ्यास गरिरहेका थिए । सोही क्रममा डुबेका उनीहरुको खोजी भइरहेको जनाइएको छ ।

टिप्पणीहरू