भिआइपी महोदय कता पुगे भागेर ?
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन त माओवादी उपाध्यक्ष नियुक्त भएर प्रचण्डसँग देश दौडाहासँगै मर्निङवाकमा देखिन्छन् तर ६० किलो सुन काण्डमा मुछिएका उनका विज्ञ सल्लाहकार रहेका जीवनकुमार गुरुङचाहिँ कता हराए होलान् ? देश भिजिट भिसा काण्ड, राजावादी आन्दोलनलगायत अनेक कारणले तात्न थालेको बेला बिग सिक्ससँग जोडिएका ती पात्रको समेत खोजी हुन थालेको छ ।
उपराष्ट्रपति पासाङको कार्यालयमा २०८० असार मसान्तसम्म राज्यमन्त्रीसरहको सेवा सुविधा पाउने गरी गुरुङले नियुक्ति लिएका थिए । ६४ वर्षे जीवनकुमार त्यतिबेलै ६० किलोग्राम सुन तस्करी काण्डमा मुछिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि उक्त प्रकरणमा खोजतलास शुरु गरेको भनिन्थ्यो । तर, पर्वतबाट झिकिएको नागरिकता बोकेका उनी यतिखेर संयुक्त अरब इमिरेट्सको दुबईमा आरामको जीवन बिताइरहेको प्रमाण भेटिएको छ ।
यसरी नै जनता जनार्दनको सहकारीमा रहेको अर्बौं बचत ठगेर जिबी राई मलेसियामा र भरत महर्जन बेलायतमा सपरिवार आनन्दसँग बस्दै आएका छन् । सिआइबीले राई, महर्जन झैँ गुरुङलाई पनि खोजी गरेको बताएको छ भने अध्यागमन विभागले उनीहरूलाई कालोसूचीमा राखेको देखिन्छ । दुई वटा राहदानी बाहक उनले ०९८३०९४१ नम्बरबाट सन् २०१७ जनवरीदेखि २०२३ अक्टोबर ३१ तारिखसम्म ७२ पटक विदेश यात्रा जाउआउ गरेका छन् । ७२ पटकमध्ये ३० पटकको जाउआउ दुबई र अबुधाबीमा मात्रै भएको थियो । युएईमा रहेका उनले दुई वर्षदेखि बोकेको त्यहाँको परिचयपत्र नम्बर ७८४–१९६२–४२१०८४६० को म्याद आगामी असार १९ गते सकिँदैछ ।
उपराष्ट्रपतिको सल्लाहकार हुँदा, अघि र पछि गरी सात वर्षमा उनी दुई पटक हङकङ, ३० भन्दा बढी पटक भारत र दुई पटक रोमानिया पुगेको श्रोत बताउँछ । नयाँ दिल्ली र मुम्बई हुँदै पटक–पटक दुबई र अबुधाबी जाने गरेका छन् । उपराष्ट्रपतिले सल्लाहकार बनाएको मान्छे यति ठूलो अपराध र तस्करीमा संलग्न हुँदा पनि राज्य संयन्त्रलाई तातो लागेको देखिँदैन । यात्रा विवरणबाट उनी पटक पटक नेपाल आउने र जाने गरेको तर कसैले मतलब नगरेको प्रष्ट हुन्छ ।
यता, सिआइबीले छानबिन गर्न नोटिसमा राखेको भनेको छ तर पक्राउका लागि कुनै पहल गरेको देखिँदैन । केन्द्रीय अनुसन्धान ब्युरोको अपराध अनुसन्धान तथा कारबाही शाखाले २०८१ वैशाख ३० गते चलानी नम्बर ११७७९ को पत्र लेख्दै राहदानी नम्बर ०९८३०९४१ रोक्का गरेको थियो । त्यसपछि जेठ १८ गतेको पत्रबाट अर्को राहदानी नम्बर पिए २१८७६०६ रोक्काको लागि अनुरोध गरिएको देखिन्छ । अघिल्लो राहदानी अर्को वर्ष जुन १३, २०१६ सम्म भ्यालिड हुँदाहुँदै पछिल्लो राहदानी किन र कसरी लिए ? त्यसबारे पनि सोधखोज गरिएको देखिँदैन ।
विदेशमा लुकेका जिबी, भरतलाई झैँ गुरुङलाई पनि प्रहरीले पक्रेर ल्याउन सकेको छैन । सुनकाण्ड, सहकारी ठगीमा विदेश गएर बस्ने तर फेसबुकमा फोटो हाल्ने, टिकटक बनाउने क्रम जारी छ । तर, पक्रेर ल्याउने न विधि छ, न क्षमता नै ! यस्तो तालले मुलुक ‘ग्रे लिस्ट’ बाट मुलुक कसरी मुक्त होला ?
टिप्पणीहरू