मनसुनको वितण्डा शुरु भएपछि रोकथामको मार्गचित्र कोरिँदै
आमनागरिकलाई समयमै विपद्को सूचना दिनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्ली वार्निङ फर अल’ को राष्ट्रिय मार्गचित्र तयार गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले प्रदेशस्तरीय गोष्ठीमार्फत् सुझाव संकलन गरेको छ । सबै प्रदेशबाट संकलन भएको सुझावको काठमाडौंमा समीक्षापश्चात् ‘अर्ली वार्निङ फर अल’ को मार्गचित्र तयार पार्ने बताइएको छ ।
प्राधिकरणका अनुसार भदौसम्ममा उक्त काम सकिने लक्ष्य राखिएको छ । मुलुकमा बढ्दो शहरीकरण र अस्तव्यस्त बसोबासले आगलागी, बाढी–पहिरो, चट्याङ र भूकम्प मात्र नभएर वन्यजन्तुको आक्रमण, डढेलोदेखि सवारी दुर्घटना, हिमताल विस्फोटलगायतका घटना घटिरहेको छ । सो राष्ट्रिय मार्गचित्रले विपद् व्यवस्थापनमा ठूलो सहयोग पुर्याउने विज्ञ, सांसद, सुरक्षाकर्मी र विपद व्यवस्थापनको कार्यमा सहभागी सरोकारवालाहरुले बताएका छन् ।
कार्यक्रमका सहभागीहरुले विपद् पूर्वको चेतावनी सूचनालाई तीनै तहको सरकारमा पुर्याउन मार्गचित्र तयार गरेर ‘अर्ली वार्निङ फर अल’ को अवधारणा चाँडो कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् । संयुक्त राष्ट्रसंघ, नेपालका जलवायु तथा विपद् सल्लाहकार पपुलर जेन्टलले विपद्को जोखिम घटाउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन सन् २०२२ मा ‘अर्ली वार्निङ फर अल’ को अवधारणा आएको र नेपालले सन् २०२३ मा प्राथमिकता पाएको जानकारी दिए ।
उनका अनुसार विपद्को सूचनालाई सबैमाझ समयमै पुर्याउन प्राधिकरणले मार्गचित्र कोर्न लागेको हो । त्यसका लागि कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, मधेश र कोशीबाट सुझाव लिइसकिएको उनले बताए । सोको प्रभावकारी कार्यान्वयन गराउन प्राधिकरणले तीन तहको सरकारमार्फत जोखिम प्रभावित क्षेत्रहरुमा समूह निर्माण गरेर प्रविधिको अधिकतम उपयोगबाट विपद् आउनुअघि सूचना प्रवाह गर्नेछ ।
जसले जोखिममा रहेका नागरिकहरु बेलैमा जोगिन सक्नेछन् । प्राधिकरणका सहसचिव इन्जिनियर अर्जुनकुमार बमले विपद्को बढ्दो विनाशलाई न्यूनिकरण गर्न मार्गचित्र प्रभावकारी हुने बताए । उनले भने, ‘हामीले प्रदेशबाट सुझाव लिइसकेका छौं, अब काठमाडौंमा अन्तिम छलफल गरेर आगामी भदौभित्र सो मार्गचित्र बनाएर प्रदेश र पालिका स्तरमा पठाउने छौं ।’
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद् पूर्व सबैलाई सूचना पुर्याउन मार्गचित्र प्रभावकारी हुनसक्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार प्रदेश सरकारले ३७ वटा पालिकाको एक हजार १५७ वटै वडामा विपद्को वार्षिक मार्गचित्र तयार गरेर १७ वटा सूचक पहिचान गरिसकेको छ ।
यसै आर्थिक वर्षमा बजेट विनियोजन गरेर पालिकालाई विपद् प्रतिकार्यका लागि थप उत्तरदायी बनाउने योजना प्रदेश सरकारको छ । मन्त्री भण्डारीले भने,‘प्राधिकरणले निर्माण गरेको मार्गचित्रले विपद् व्यवस्थापन परिणाममुखी बनाउन अझै बढी सहयोग पुर्याउने छ ।’
कोशीमा अस्ति रातिदेखि शुरु भएको वर्षाले वितण्डा मच्चाइसकेको छ । बाढीका कारण केही सडकमा क्षति पुगेको छ भने झण्डै दुई सय घरभित्र वर्षाको पानी छिरेको छ । नेपालमा अस्ति रातिदेखि यो वर्षको मनसुन पूर्वी भागबाट प्रवेश गरेको हो ।
टिप्पणीहरू