देउवा र माया–मञ्जुका मार्मिक सवालजवाफ
नेकपा (एमाले)सँगको सत्ता सहकार्यलाई निरन्तरता दिँदै अर्को वर्ष प्रधानमन्त्री बन्ने रणनीतिमा रहेका शेरबहादुर देउवालाई समेत सोच्न बाध्य पार्नेगरी सत्तारुढ नेपाली कांग्रेसभित्र असन्तुष्टि चर्किएको छ । टेरामक्स घोटाला प्रकरणमा मुछिएका मोहनबहादुर बस्नेतको पद निलम्बनमा परेको पर्सिपल्ट जेठ पहिलो साता संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा मूलतः नयाँ बजेट, संसदमा खेल्नुपर्ने भूमिका र समसामयिक विषय छलफलको एजेण्डा थिए । त्यहीँ एमाले नेतृत्वको सरकारले कांग्रेसका नेतालाई छानीछानी मुद्दा चलाएको भन्दै सांसदहरूले आक्रोशमात्र जनाएनन् रुवाबासीसमेत चल्यो ।
दलका नेता शेरबहादुर देउवाले बैठक सुरुवात गर्दै बोल्न समय दिएपछि केहीले धारणा राख्न थाले । जब सहकारी प्रकरणमा पक्राउ परी १७ दिन प्रहरी हिरासतमा बसेर धरौटीमा छुटेकी माया राईको पालो आयो त्यसपछि रुवाबासी शुरु भयो । शुरुमा सहकारी प्रकरणको पृष्ठभूमि उल्लेख गर्दै आफ्नो संलग्नता नरहेको जिकिरसहित सरकारले आफूमाथि प्रतिशोध साँधेर झुटा मुद्दा लगाएको दावी गरिन् । त्यसपछि हिरासतको कष्टपूर्ण बसाइ सम्झँदै धुरुधुरु रोएपछि केहीबेर सन्नाटा छाएको थियो ।
लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला पोखरेलको उदाहरण दिँदै प्रश्न गरिन्, ‘अञ्जला समातिएकै दिन छुट्ने, म चैं १७ दिन हिरासत बस्नुपर्ने ?’, माथि मञ्चमा बसेर माया राईको बिलौना सुनिरहेका सभापति देउवाले विषयलाई सामान्यीकरण गर्न खोजेका थिए । ‘ल ल यस्तै हो, सबै मिल्छ † कानुनी कुरालाई मान्नुपर्छ, जे हुन्छ कानुनी लडाइँ लड्ने हो, आत्तिने हैन’, देउवाको भनाइ उद्धृत गर्दै स्रोतले सुनायो ।
सहकारी ठगीमा आफूलाई फसाईएको जिकिर गरेकी मायाले कसैलाई भेटेकै आधारमा मुद्दा चलाउने भए सबै शीर्ष नेता तानिने चेतावनीसमेत दिइन् । ‘दार्चुलाको एकजना राई थरको भाइ डेरामा बस्न आएको थियो । उसैले सहकारीको सञ्चालक मितिमा राखेको हो । म जम्माजम्मी दुईचोटि मात्र त्यहाँ गएको छु’, सभापतितर्फ हेर्दै चुनौती दिइन्, ‘त्यहाँ जाँदैमा जेल जानुपर्ने हो भने, ग्यालेक्सी फोरके टेलिभिजन खोल्दा प्रचण्ड ओली र शेरबहादुर देउवा पनि गएको होइन ? उहाँहरू पनि जेल जान तयार हो ?’
स्मरणीय छ, जिबी राई अध्यक्ष र रवि लामिछाने कार्यकारी निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित उक्त टेलिभिजनको हायात होटलमा भव्य पार्टी गरेर औपचारिक शुरुवात गरिएको थियो । हाल बन्द रहेको उक्त टिभीमा विभिन्न सहकारीको रकम गैरकानुनी तवरले लगानी गरेको तथ्य खुलेपछि रवि जेलमा छन् ।
अर्की सांसद मञ्जु खाँण पनि आक्रोश पोख्दै रोएकी थिइन् । पार्टीमा आफ्नो लामो योगदान रहे पनि बालकृष्ण खाँणकी पत्नीका रुपमा चिनिन परेको गुनासो गरेकी उनले सोधिन्, ‘बाहिर बाटोमा हिँड्दा खाँणकी श्रीमती भन्छन्, भ्रष्टाचारी भन्छन्, लुकेर हिंड्नुपर्ने अवस्था छ ।’ टिकट पाए चुनाव जित्ने हैसियतको मलाई खाँणको श्रीमती भनेर हेप्ने ? भन्दै उनी सुँक्सुँकाउन थालेपछि देउवाले झर्कंदै प्रतिप्रश्न गरे, ‘अनि के भो त तपाईं खाँणकी श्रीमती नभए को हो त ?’
नक्कली भुटानी शरणार्थी काण्ड लागेका बालकृष्णको नामबाट आफूलाई चिनाइएकोमा उनले असन्तुष्टि जनाएको बैठक स्रोत बताउँछ । आफू बालकृष्णको श्रीमतीभन्दा पनि बालकृष्णचाहिँ आफ्नो श्रीमान् भएको आशय झल्किनेगरी धारणा राखेकी उनलाई रोक्दै देउवा फेरि चर्किए, ‘तपाईं खाँणकी श्रीमती त हो नि !’
अघिल्लो महिना ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ राज्यमन्त्रीबाट बर्खास्तीमा परेका कान्छाराम तामाङ पनि बैठकमा खुशी थिएनन् । ओलीले आफूलाई अपमानजनक ढंगले हटाइएको भन्दै आक्रोश पोखेका उनले सभापति देउवासँग कारणसहित जवाफ मागेका थिए । गत चुनावमा काठमाडौँ–१ बाट जितेका प्रकाशमान सिंह र आफूले पाएको भोटको अन्तर सुनाउँदै उनले दह्रो कटाक्ष गरे ।
‘मैले यौटै पालिकामा आठ हजार भोट ल्याएको छु । प्रकाशमानले पूरै क्षेत्रबाट ७ हजार ३२१ ल्याएर जित्नुभएको हो । अनि कोही उपप्रधानमन्त्री हुने, मलाईचाहिँ हटाउने ?’, उनको आक्रोशपूर्ण प्रश्नको मञ्चबाट जवाफ आएन ।
बैठकमा सरकारको कामकारवाही र कांग्रेसको भूमिकाबारे पनि चर्चा भयो । स्रोतका अनुसार केही सांसदले पार्टीले हैसियतअनुसार गठबन्धनमा भूमिका खेल्न नसक्दा केपी ओली हावी हुने अवस्था आएको भन्दै नेतृत्वको आलोचना गर्दा संस्थापन निकटहरूले भने दुई ठूला पार्टीको सहकार्य असफल भए देश झन् ठूलो अस्थिरतामा फस्ने तर्क गर्दै सरकार ढाल्ने भन्दा पनि डेलिभरी बढाउनुपर्नेमा जोड दिएका थिए ।
गत साता डडेल्धुराबाट माओवादी अध्यक्ष प्रचण्डले गरेको टेलिफोन संवाद र बूढानीलकण्ठ पुगेर जनार्दन शर्माले भेटेको विषय पनि बैठकमा उठ्यो । मञ्चमा रहेका देउवाले ‘सबैसंग राम्रो सम्बन्ध राख्ने, तर अहिले नै सरकार नढल्ने’ कूटनीतिक जवाफ दिए ।
‘ओली जाँदा मलाई फोन गरेका थिए, प्रचण्डले पनि गरे । उहाँ पुगेर पनि सम्झनुभयो धन्यवाद, धन्यवाद भनेको छु मैले’, उनको जवाफ थियो, ‘एउटा पोल्टिकल पार्टी हो, सबैसँग कुरा गर्नुपर्छ, हिजो हामीलाई थुन्ने राजावादीसँग त कुरा भैरहेको छ भने यो व्यवस्था र संविधान मान्नेहरूसँग कुरा गर्न किन नहुने ! सबैलाई मिलाएर लैजानुपर्छ तर अहिले सरकार चेञ्ज हुँदैन ।’
टिप्पणीहरू