नदीमा ‘खोला डन’ हरुको रजगज
रुपन्देहीमा सँधै विवादमा तानिने नदीजन्य पदार्थको उत्खनन् कार्य यसपटक पनि त्यस्तै भएको छ । विभिन्न गौरवको आयोजनाका लागि निकालिएको नदीजन्य पदार्थको दुरुपयोग हुने गरेको स्थानीयको आरोप छ । बुटवल–नारायणगढ सडक र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा निकालिएको नदीजन्य पदार्थ विभिन्न क्रसरहरुमा गएको बताइन्छ ।
जिल्लाको गैडहवा गाउँपालिका सूर्यापूराको भौगोलिक क्षेत्रभित्र पर्ने दानव नदीको विभिन्न घाटबाट निकालिएको नदीजन्य पदार्थ गौरबका आयोजनाको नाममा निकालिएको भएता पनि ती सबै जय शिवशक्ति, एसआर क्रसरमा गएको छ । उक्त नदीबाट याम राना नाम गरेका ठेकेदारले कारोबार गर्दै आएका छन् ।
जिल्लाको शुद्धोधन, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र पर्ने तिनाउ र दानव नदीको विभिन्न घाटको नदीजन्य पदार्थ पनि दुरुपयोग भएको बुझिएको छ । उक्त क्षेत्रअन्तर्गतका तिलोत्तमा नगरपालिका ६, गोरकट्टा नाका र हरपुर, बागदुरा नाकाको नदीजन्य पदार्थ घाटगद्धी नगरी सोझै क्रसरहरुमा पठाउने गरिएको बताइन्छ । स्थानीय ठेकेदार सुमन बस्याल नेतृत्वको टिमले गोरकट्टा र हरपुर नाकामा तथा बागदुरा नाकामा अशोक पुनले ठेक्का लिएका छन् ।

स्थानिय तिलोत्तमा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननको ठेक्का आह्वान गर्दा नै नदीबाट ढुंगा गिट्टी, बालुवा भस्कट निकालेपछि अनिवार्य घाटगद्धी गर्नुपर्ने शर्त राखेको दछ । तिलोत्तमा नगरपालिकाको सूचनामा घाटगद्धि सम्बन्धी शर्तहरु भन्ने शीर्षकमा नियम राखिए पनि त्यसको पूर्ण उलंघन भएको हो ।
नदीजन्य पदार्थ उत्खनन गरेको स्थलबाट ढुवानी गरेर तोकिएको स्थानमा मात्र घाटगद्धि गर्नुपर्ने नियम छ । त्यस्तोमा नापचाँच गर्न मिल्ने किसिमले चट्टा मिलाई गर्नुपर्नेछ । अव्यवस्थित तरिकाले घाटगद्धि गरेको कारणले नाप लिन कठिनाई परेमा ठेकेदारले नाप लिन मिल्ने किसिममले चट्टा मिलाउनुपर्ने नगरपालिकाका कर्मचारीको भनाइ छ । उत्खनन् अवधिभर बिक्री गर्न पाईंदैन । घाटगद्धिस्थल नगरपालिकाले तोकेको स्थानमा मात्रै हुने व्यवस्था छ ।
स्थानीय सरकारसँग गरेको सम्झौताको बुँदालाई लत्याउँदै जथाभावि उत्खनन् र बिक्री गरेको आरोपलाई ठेकेदारहरुले अस्वीकार गर्दै आएका छन् । रुपन्देहीका खोलाहरुमा सूर्यापुरा र भलुहिमा याम राना, घोडाहामा कमल ढुंगाना र गोरकट्टामा सुमन बस्यालको टिमले उत्खनन् गर्दै आएको छ । नियामक निकायले अनुगमन गरेको देखिँदैन ।
केही वर्ष पहिले गोरगट्टा नाकामा सशस्त्र प्रहरीका एकजना सिपाहीलाई ‘खोलाका डनहरु’ ले मरणासन्न हुनेगरी पिटेको घटना स्थानीयलाई अहिले पनि ताजै छ । यो वर्ष सूर्यापुरा नाकामा तुलसीराम यादव नाम गरेका व्यक्तिलाई मरणासन्न हुनेगरी हतियार प्रहार गरिएको छ । उक्त घटनालाई गुपचुप बनाउनेमा स्थानीय प्रहरीको हात रहेको आरोप लाग्दै आएको छ । ती यादवले नदीजन्य पदार्थको अवैध उत्खननको विरोध गर्दै आएका थिए । मरणासन्न हुनेगरि पिटेपछि घाइते उनको भैरहवास्थित मेडिकल कलेजमा लामो समय उपचार गरिएको थियो ।
देवदहको चरंगे भलुही खोला, घोडाहा खैरनीमा पनि जथाभावी उत्खनन भइरहेकोे देखिन्छ । तिनाउमा अवैध तरिकाले नदीजन्य पदार्थ किन्ने काम चमुन्डा, न्यू सृष्टि, कश्यप, कामना लगायतका क्रसरले गरेको बताइन्छ । गोरकट्टाका एकजना स्थानीयले भने, ‘हामी खोला नजिकका बासिन्दाले बोल्न मिलेलन । सरकारी गाडी आउँछन् जान्छन ्। तर खोलाबाट सिधै क्रसरमा माल जाने सुनिएको छ ।’
टिप्पणीहरू