हाम्रा राज्यमन्त्रीले सरकार छाड्ने कुरा थियो

एक जना शाखा अधिकृतको सन्की पत्रका कारण वैशाख १७ मा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी पक्राउ परे । त्यससँगै जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया भाँडिन पुगेको छ । काठमाडौंकी रैथाने रञ्जिता र रेशमबीच ०५५ सालमा विवाह भएको हो । २७ वर्षको दाम्पत्य जीवनमा श्रीमान्–श्रीमतीबीच पारिवारिक लफडा गत वर्ष उत्कर्षमा थियो । जेभियर स्कूलमा पढाइरहेकी रञ्जिता विवाहपछि कैलालीको टीकापुर पुगिन् । त्यहीं रेशम दम्पतीले फूलबारी एफएम चलायो । सुदूरपश्चिमको चर्चित यो रेडियो भवनमा २०७२ भदौ ७ गते आगजनी भयो । त्यही प्रकरणपछि रेशम भूमिगत भए । ०७९ सालमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रञ्जिता ओली सरकारको भूमि व्यवस्थामन्त्री पनि भइन् । नाउपा र जसपाको एकता किन भाँडियो, अब असारअगाडि नै एकता हुने सम्भावना छ कि छैन ? जनआस्थाले ग्राण्डी अस्पतालमा उपचाररत रञ्जितासँग सोधेको थियो–
० जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता भाँडिने गरी राज्यबाट जुन प्रकारको धरपकड भयो, भित्री कुरा के हो ?
‑ वैशाख १७ गते एकता घोषणा गर्ने दिन संरक्षक रेशम चौधरी पक्राउ पर्नु एकदमै दुर्भाग्यपूर्ण र अनपेक्षित घटना थियो । हामी त्यसदिनको घटनालाई राज्य संयन्त्रबाट भएको गम्भीर गल्तीका रूपमा लिन्छौैँ ।
० एउटा शाखा अधिकृतको सनकका भरमा यी सबै घटना भएका हुन् वा उक्त घटना सुनियोजित हो ?
‑ त्यसलाई सुनियोजित भन्नुभन्दा एक प्रशासनिक लापरवाहीको रूपमा लिएको छु ।
० पार्टी एकताको दिन अनुमति लिइसकेर पनि प्रज्ञा भवनको गेट झण्डै एक घण्टासम्म खोलिएन र त्यही बीच रेशम चौधरीलाई पक्राउ गरेर एकता बिथोलियो भन्ने पनि सुनिन्छ । के भएको हो ? त्यसदिन वास्तविकता बताइदिनुहोस् न !
‑ त्यो दिन म स्वास्थ्योपचारका निम्ति अस्पतालमा थिएँ, त्यसैले प्रत्यक्ष अनुभव छैन । यद्यपि, गेट धेरै ढिलो गरी खोलिएको जानकारी पाएँ । जसले गर्दा कार्यक्रम शुरु हुन ढिला भयो र धेरै जना नेता गेटबाहिरै रोकिए ।
० रेशम चौधरी पक्राउ परेसँगै राज्यमन्त्री अरुण चौधरीले राजीनामा पत्र बोकेर हिँड्नुभएको सुनिन्थ्यो । तर, राजीनामा प्रधानमन्त्रीलाई बुझाउनै पाउनु भएन । विश्वासको मत फिर्ता लिन केले रोक्यो ?
‑ गम्भीर छलफल भयो, राजीनामाको तयारी पनि थियो तर हामीले राजनीतिक संयमता अपनाउँदै तत्काल निर्णय नगरी संवाद र समन्वयलाई प्राथमिकता दियौं । विश्वासको मतबारे के गर्ने भन्ने अझै पनि खुला छ ।
० केपी ओलीको अघिल्लो कार्यकालमा भूमिसुधारमन्त्री हुनुहुन्थ्यो । तपाईंको कार्यसम्पादन उहाँले एकदमै मन पराएजस्तो लाग्थ्यो । फेरि तपाईंलाई पर्यटनमन्त्री बनाउने वचन पनि दिनुभयो । तर, कार्यान्वयन भएन...
‑ ओलीजीले मेरो कार्यशैली मन पराउनुभएको कुरा मैले पनि महसुस गरेकी हुँ तर मन्त्री बन्ने कुरा व्यक्तिगत चाहनाभन्दा पनि पार्टीगत समीकरण, गठबन्धनको अवस्था र समयको मागअनुसार हुने रहेछ ।
० भूमिसुधारमन्त्री हुँदा ब्युरोक्रेसीलाई कसरी बुझ्नुभयो ?
‑ ब्युरोक्रेसी तब मात्र जिम्मेवार हुन्छ जब राजनीतिक नेतृत्व स्पष्ट हुन्छ । नीति निर्माणमा सचिवालयको सहयोग महत्वपूर्ण हुन्छ तर नेतृत्वले निरन्तर निर्देशन नदिँदा ढिलासुस्ती पनि देखिन्छ ।
० कर्मचारीले कत्तिको दुःख दिन्थे ?
‑ केही कर्मचारीले काममा ढिलासुस्ती र फाइल अड्काउने प्रवृत्ति देखाए । तर, जब म स्वयं फाइल ट्र्याकिङ प्रणालीमा लागेँ, उनीहरू काम गर्न बाध्य भए ।
० तपाइँको सचिव थिए गोकर्णमणि दुवाडी, अहिले गृहसचिव छन् । रेशम चौधरीको गिरफ्तारीमा उनको कुनै भूमिका रह्यो कि रहेन ?
‑ गोकर्णमणि दुवाडीजीको कामप्रति मेरो अनुभव सकारात्मक छ । उहाँ लगनशील र जिम्मेवार सचिव हुनुहुन्थ्यो । अहिलेको घटनामा उहाँको प्रत्यक्ष संलग्नता छ भन्ने प्रमाण मसँग छैन ।
० अस्ति रेशम पक्राउपछि जनमतसँगको पार्टी एकता भाँडिएको भाँडियै छ । अब कहिले जोडिन्छ ?
‑ म अस्पतालबाट निस्किएपछि संवाद फेरि तीव्र बनेको छ । म पूर्ण रूपमा आशावादी छु— एकता प्रक्रिया टुंगोमा पुग्छ र हामी चाँडै एक हुनेछौँ ।
० पार्टी एकता भाँड्न खोज्नेहरू को–को हुन् ?
‑ हामीलाई रोक्न र कमजोर पार्न खोज्ने तत्वहरू सत्ता केन्द्रभित्रै छन् । पुराना शक्ति नयाँ राजनीतिक धारलाई सहजै स्वीकार्न सक्दैनन्, त्यसैले अवरोध सिर्जना भइरहन्छ ।
० पार्टी एकतापछि तपाईंहरूसँग दश सिट हुन्छ । त्यसपछि सरकारलाई दिएको समर्थन कायम रहन्छ कि फिर्ता हुन्छ ?
‑ सरकारलाई दिइने समर्थन स्थायी होइन । सरकार जनताको पक्षमा उभिन नसक्ने अवस्था आयो भने समर्थन फिर्ता लिन पछि हट्दैनौं ।
० तपाईंहरूको पारिवारिक लफडाका कारण सुदूरपश्चिम प्रदेशदेखि संघसम्म विभाजनको स्थिति बनेको थियो पार्टीमा । अहिले कुरा मिल्यो ?
‑ हामीबीच कुनै पारिवारिक लडाइँ छैन । केही समय राजनीतिक मतभेद देखिएको हो, जसलाई पारिवारिक लफडाको रूपमा प्रस्तुत गरियो । अहिले हामी एउटै सोचमा फर्किंदैछौं र पार्टीको हितमा एकताबद्ध ढंगले अघि बढ्नेछौं।
० के विषयमा थियो मनमुटाव ?
‑ मुख्यतया नेतृत्वको शैली, निर्णय प्रक्रियाको पारदर्शिता र भूमिकाको बाँडफाँटमा मतभेद थियो । तर, अहिले यी सबै विषय टुंगिएको छ ।
० वर्तमान काँग्रेस–एमाले नेतृत्वको सरकारको काम गराइलाई कसरी हेर्नुभएको छ ?
‑ महँगी, भ्रष्टाचार र जनतासँगको दूरीले यो सरकार असफल हुँदै गएको छ । जनअपेक्षाको संबोधनमा कमजोर देखिएको छ ।
० यो सरकारको भविष्य कस्तो देख्नुहुन्छ ?
‑ यदि, यही गतिमा गयो भने भविष्य दीर्घकालीन देख्दिनँ । जनदबाव बढ्दै गएको छ, वैकल्पिक राजनीति सशक्त बन्दै छ ।
० बालेन साह, हर्क साम्पाङहरूको कार्यशैली कस्तो लागिरहेको छ ?
‑ उनीहरूले जनतासँगको प्रत्यक्ष संवाद र काममा पारदर्शिता देखाएका छन्, जुन सराहनीय छ । तर दीर्घकालीन नीति र संस्थागत रूपान्तरण पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
० रेशम चौधरीको हकमा राष्ट्रपतिले दिएको आममाफी मिलेको छैन भन्नेहरू पनि छन् । त्यस्तै प्रकरणमा यसअघि आममाफी पाएका रिगल ढकाल जेल फर्किए । रेशमको हकमा पनि अर्को पेशी असारलाई तोकिएको छ । सम्भावना के देख्नुहुन्छ ?
‑ रेशमलाई राष्ट्रपतिबाट संविधानसम्मत ढंगले आममाफी दिइएको हो । अदालतमा पुनः सोही विषय उठाइनु अनुचित र दुराशयपूर्ण हुन्छ । हामी कानुनी लडाइँ लड्नेछौं, राजनीतिक रूपमै पनि अन्यायको प्रतिवाद गरिरहनेछौं ।
टिप्पणीहरू