आफ्ना नेताको छोराले रक्सी चोरेको प्रमाण दिन काँग्रेसको चुनौती
सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई आफ्ना सहमहामन्त्रीका छोराले रक्सी चोरेको ल्याउन चुनौती दिएको छ ।
लिङ्गदेनले हावादारी कुरा गरेको भन्दै आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले लिङ्देनलाई प्रमाणित गर्न च्यालेन्ज गरेका हुन् । ‘कांग्रेसका कुन चाहिँ सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ उनले भने ।
गत चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएको हिँसापछि लुटपाटमा उत्रिएकाहरुले कोटेश्वरस्थित भाटभटेनी सुपर्मार्केट तोडफोड गरी सामान लुटेका थिए । यसै विषयलाई लिएर राप्रपाका अध्यक्ष लिङ्देनले भाटभटेनीको रक्सी चोर्न कांग्रेसका सहमहामन्त्रीका छोरा पुगेको र प्रहरीले उनलाई पक्राउ परेको केही घण्टामै छोडेको आरोप लगाएका थिए ।
शुक्रबारको संसद् बैठककै लिङदेनले त्यस्तो आरोप लगाए पनि व्यक्तिको नाम भने खुलाएका थिएनन् । तर, मिडियामा भने कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोराले रक्सी चोरेको समाचार आएको थियो ।
यसप्रति आपत्ति जनाउँदै कांग्रेसले संसदबाटै प्रमाणित गर्न चुनौती दिएको हो ।
टिप्पणीहरू