‘बा’ को खुशीका लागि २४ करोड

नेकपा (एमाले)को नारा छ, ‘समृद्ध नेपाल : सुखी नेपाली’ । तर एमालेका एकथरी नेता तथा कार्यकर्ता भन्ने गर्दछन्, ‘खुशी केपी ‘बा’ : सुखी एमाले कार्यकर्ता ।’ पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई खुशी पार्ने अभियान उधुमैसँग चलिरहेको छ । प्रतिस्पर्धा जारी छ, मानौं केपी ओलीको खुशी नै देशको सबैभन्दा ठूलो सफलता हो ।
आर्थिक मन्दी र अनेक समस्याका कारण सर्वसाधारणले आत्महत्या गरेका समाचार आइरहेको बेला पछिल्लो ‘एक सिजन’ मात्रै ओलीलाई खुशी बनाउन करिब २४ करोड खर्चिएको छ । ओलीका नाममा फुटबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, गीत, पुस्तकदेखि कविता प्रतियोगितासम्म चलाइएको छ । राष्ट्रिय युवा संघले ओलीको जन्मदिन पारेर हरेक बर्ष फागुन ११ देखि केपी ओली कप फुटबल प्रतियोगिता आयोजना गर्दछ । जनताले संकट भोगिरहेका बेला ओली कप फुटबल प्रतियोगिताका लागि मात्रै राष्ट्रिय युवा संघले करिब १७ करोड चन्दा उठाएको छ ।
पछिल्लोपटक उक्त प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार एक सय ११ रूपैयाँ र उपविजेतालाई ५ लाख रूपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रूपैयाँ पाएका थिए । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाए । फाइनलमा इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोनलाई प्रमुख अतिथिको रूपमा ल्याइएको थियो । युवा संघका एक पदाधिकारीका अनुसार युवा संघ अध्यक्ष क्षितिज थेबेले बुफोनलाई ५ करोड ४० लाख दिएर ल्याइएको बैठकमा ब्रिफिङ गरेका थिए ।
ओली कपको यो सिजनमा मात्रै करिब १० करोड खर्च भएको अध्यक्ष थेबेले जानकारी दिए पनि पूरै हिसाबकिताब भने प्रस्तुत नभएको एक पदाधिकारीले बताए । कर्पोरेट हाउस, स्थानीय सरकार र विभिन्न व्यवसायीसँग करिब १७ करोड उठाइएको ती पदाधिकारीको भनाइ छ । यसरी ‘औपचारिक तथा अनौपचारिक च्यानलबाट ओली कपका नाममा करिब १७ करोड संकलन भएको छ तर बैठकमा अध्यक्ष कमरेडले १० करोड भन्नुभएको छ,’ ती पदाधिकारीले भने, ‘अहिले हाम्रो अध्यक्ष प्रधानमन्त्री पनि हुनुभएको कारण सहयोग संकलनमा उतिधेरै समस्या भएन ।’
राष्ट्रिय युवा संघका नेताले ओली कपलाई खेलकुदको विकासभन्दा पनि ओलीको जन्मदिनको महत्वपूर्ण ‘इभेन्ट’का रूपमा ब्राण्डिङ गरेका छन् । ‘यसलाई मूलतः अध्यक्षज्यूप्रतिको सम्मानका रूपमा आयोजित इभेन्टका रूपमा लिनुपर्छ,’ युवा संघका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षज्यूको खुशीका लागि यति गर्न पाउनु हाम्रालागि गर्वको कुरा हो ।’
झम्सीखेलस्थित दि प्लाजा होटलमा ओली कपको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम राखिएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीलाई त्यहाँ लैजाने शर्तमा सो कार्यक्रमको सम्पूर्ण खर्च व्यहोरिएको र थप ४० लाख चन्दासमेत प्राप्त भएको एक पदाधिकारीको भनाइ छ ।
मदन भण्डारीका नामको संस्थाबाट पनि ओली कप
त्यस्तो त मदन भण्डारीको विचार जनताको बहुदलीय जनवाद (जबज)लाई नेकपा (एमाले)ले आफ्नो मार्गदर्शक सिद्धान्त मानेको छ । तर मदनप्रतिको सम्मान वा उनको विचार विस्तारका लागि गठित विभिन्न संस्थाले पनि ओलीकै नाममा विभिन्न प्रतियोगिता गर्दै आएका छन् । २३ चैतदेखि मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा‘केपी ओली कप’ राष्ट्रिय टी–२० खुला पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको टी–२० को लागि पनि चन्दा अभियान चलाइएको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धु्रव आचार्यले जनाएका छन् । विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु. पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी ‘म्यान अफ दि सिरिज’ले रु ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही रु. १० हजार र ‘म्यान अफ दि म्याच’ले रु. पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीले जनाएको छ । ‘यसका लागि प्रायोजन र सहयोग गरी करिब ५ करोड उठाउने लक्ष्य राखिएको एक पदाधिकारीले बताए ।
ओलीकै रुचीमा उनलाई खुशी बनाउन आयोजना गरिएको अर्को कार्यक्रम हो, ‘हिमवत खण्ड कला–साहित्य–संस्कृति सम्मिलन– २०८१’ । ओलीले व्याख्या गर्दै आएको हिमवत खण्डलाई आधार बनाएर मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले तीन दिने सम्मिलनको आयोजना गरेको थियो । चैत ३ सम्म काठमाडौंमा चलेको सम्मिलनमा नेपाल, भारत, म्यानमार, भुटान, चीन, थाइल्याण्डलगायत देशका करिब पाँच सय सहभागी थिए । सहभागीहरूलाई ओलीले सरकारी निवास बालुवाटारमा भव्य भोज दिएका थिए ।
समापन कार्यक्रममा ओलीले मविवि शाहको पञ्चायतकालिन शैलीमा कविता पनि सुनाए । आँशु कविका रूपमा प्रस्तुत भएका ओलीको कवितालाई कार्यकर्ताहरूले महान् रचना भनेर प्रचार गरेका थिए । ओलीले वाचन गरेको ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल’ शीर्षकको कविता सम्मिलनका संयोजक डा. विजय सुब्बाले फेसबुकमा राखेपछि भाइरल जस्तै बनाइएको थियो । ‘हिमवत खण्डकला–साहित्य–संस्कृति सम्मिलन– २०८१’को सम्पूर्ण खर्च बालुवाटारको निर्देशनमा उठाइएको थियो । त्यसनिम्ति करिब २ करोड चन्दा उठाइएको आयोजक समितिका एक सदस्यले बताए ।
मदनभन्दा महान् बनाउने अभियान
गत वर्ष एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पछि एमालेभित्र केपी ओली मदन भण्डारीभन्दा महान् नेता हो भनेर भित्रभित्रै बहस शुरु गरिएको छ । त्यहीअनुरूप नै विभिन्न प्रतियोगिता, गीत, पुस्तक, कविता आदिको अभियान चलाइएको एक नेताले बताए । यो अभियानमा ओलीको ‘कोर’ टिमले नै काम गरिरहेको एक नेताले बताए ।
टिप्पणीहरू