कुलमानको पक्षमा उभिएका कान्छाराम भन्छन् : उहाँको भन्दा पहिले मेरै पद जान्छ !

कुलमानको पक्षमा उभिएका कान्छाराम भन्छन् : उहाँको भन्दा पहिले मेरै पद जान्छ !

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन गर्दै तालुक अड्डा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ । विभागीय मन्त्री दिपक खड्का कार्यकारी निर्देशक फेर्न प्रयासरत रहेको परिप्रेक्ष्यमा मन्त्रालयले गत आर्थिक वर्षमा यस्तो मूल्यांकन गरेको हो । 

कुलमानलाई बारम्बार स्पष्टीकरण सोधिनु, उनलाई हटाउने प्रस्ताव क्याविनेटमा लैजानु, प्राधिकरणकै भवनमा मन्त्रीले कार्यकक्ष बनाउनु र अहिले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिनुले सरकारको नियत प्रष्ट भएको छ । यसले ऊर्जामन्त्री र विद्युत प्राधिकरणबीचको तिक्तता थप पेचिलो बनेको छ ।

०७८ साउनमा दोश्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको कार्यकाल सकिन अब करिब पाँच महिनामात्रै बाँकी छ । तर, त्यसअघि नै उनलाई पदबाट हटाउने मन्त्री खड्काको चाहनामा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि समर्थन देखिन्छ । तर, यौटै जिल्लाबासी राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ भने कुलमानलाई कारवाही हैन अर्को एक कार्यकाल प्राधिकरणको नेतृत्व दिनुपर्ने पक्षमा खुलेका छन् । 

मन्त्रालयले दिएको शून्य अंकलाई राज्यमन्त्री तामाङले ‘कागजी खोस्टा' को संज्ञासमेत दिए । ‘त्यो मूल्यांकनको काम छैन, कागजी खोस्टा मात्रै हो, उहाँकाे मूल्यांकन जनताले गरिसकेका छन्’, उनले जनआस्थासँग भने, ‘उहाँ (घिसिङ)लाई त दोहोर्याएर नियुक्त दिनुपर्छ, हटाउने कुरै छैन ।’ 

कुलमानलाई ‘उज्यालो नेपालका नायक’ को उपमा दिँदै उनले अगाडि भने, ‘उहाँको कार्यकाल धेरै पनि छैन, साथीहरु किन उहाँकै पछाडि हात धोएर लागेका छन्, मैले पनि बुझ्या छैन । मेरो त स्पष्ट धारणा छ, उहाँ उज्यालोको नायक हो ।' 

कुलमानको पक्षमा अडान लिएकै कारण उनी हटाइनसक्ने बाहिर अनुमान भैरहँदा कान्छारामले पनि त्यस्तो संकेत गरे । ‘उहाँभन्दा अघि त मेरै पद जान्छ नि !, एक वर्षको लागि भनेर मलाई राज्यमन्त्री बनाएका हुन्’, उनले खुलाए, ‘अब असार ३१ सम्म त हुन्छु होला म, उहाँ त साउन सम्म हुनुहुन्छ नि !’ 

गत वर्ष असारमा एमाले र कांग्रेसले सत्ता समीकरण बनाउँदा अधिकांश मन्त्रीलाई एक वर्षको शर्त राखेर सरकारमा सहभागी गराइएको उनको भनाई छ । ‘त्यतिबेला एक-एक वर्ष पालो गर्ने कुरा भएकाे हो, मेरो त सकिन्छ अब असारबाट, त्यसपछि अरु कोहि आउला’, उनले सुनाए ।

टिप्पणीहरू