आइजिपीसँगै घर जान लागेका डिआइजीलाई एकाएक बढुवा
नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । तीन सातापछि अनिवार्य अवकाशमा जान लागेका उनलाई सरकारले एआइजी बनाउने निर्णय गरेको हो ।
कर्णाली प्रहरी प्रदेश प्रमुख रहेका भट्टराई र आइजिपी कुँवर यौटै ब्याचका हुन् । दुबैजना आगामी चैत ५ गतेदेखि अनिर्वाय अवकाशमा जाँदैछन् । तर, आज बिहान प्रहरी हेर्डक्वाटरमा बसेको बढुवा सिफारिस समितिको बैठकले उनलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
भट्टराईलाई बढुवा गर्नकै लागि अर्का एआईजी रविन्द्र केसीलाई राजीनामा दिन बाध्य पारिएको आरोप गृहमन्त्री रमेश लेखकमाथि छ । केही दिनअघि रास्वपा सांसद सुमना श्रेष्ठले प्रतिनिधिसभा बैठकमा केसीलाई राजीनामा दिन बाध्य पारिनुको कारण प्रष्ट पार्न माग गरेकी थिइन् ।
कांग्रेस-एमाले नेतृत्वको दुई दलीय सरकारले यसअघि पनि केही दिनमात्र सेवा अवधि बाँकी रहेका प्रहरी अधिकृतलाई यसैगरी बढुवा गरेको थियो । जसका कारण प्रहरीमा अतिरिक्त ब्ययभार थपिएको भन्दै चर्को आलोचना भएको थियो ।
टिप्पणीहरू