कमरेडको चामल पसल

कमरेड विप्लवले पार्टी त त्यति राम्ररी चलाउन सक्नुभएन, चामल पसल चाहिँ राम्ररी चलाउनु होला जस्तो छ । हालै काठमाडौंमा उहाँले दाल–चामल पसल खोल्नुभएको छ । त्यो बेचिने दाल–चामल जम्मै उहाँको आफ्नै पार्टीले उत्पादन गरेको रे । त्यहाँ दाल र चामल मात्र होइन, च्यूरा, घिउ, तेल, मासु, अण्डा, सिमी, बोडी, प्याज, आलु, लसुन, खुर्सानी, रायो, मास, भटमास आदि जस्ता खाद्यान्न पनि किन्न पाइन्छ ।
हुन त उहाँ राजनीतिक नेता हुनुहुन्छ, उहाँको आफ्नै पार्टी पनि छ । तर उक्त पार्टी राजनीतिक कार्यकर्ताभन्दा पनि दाल र चामल उत्पादनमा बढि क्रियाशील रहेछ । तसर्थ पार्टीलाई पार्टीभन्दा पनि कारखानाभन्दा बेश हुने थियो । अरु राजनीतिक पार्टीहरू खानमा तल्लिन रहेको बेला उहाँ भने ख्वाउनमा सक्रिय हुनुभएको छ । यो पनि राम्रै कुरा हो । राजनीतिक पार्टी भएपछि खान मात्र हुँदैन । ख्वाउनु पनि पर्छ । आखिर नेपालको राजनीति भनेकै खाने र ख्वाउनेको खेल त हो नि । अरु के हो र ?
कमरेड विप्लव त्यस्तो नेता हो जो माओवादीमा धेरै समय टिक्न सक्नुभएन । नटिक्नु स्वाभाविक हो । कसरी टिक्ने ? घिउ चामल बेच्नुपर्ने मान्छे राजनीतिमा टिक्ने कुरै छैन । विप्लवको बिचारले नेपाली जनतालाई त क्रान्तिकारी बनाउन सकेन सकेन, अब उहाँको चामल खाएर चाहिँ कोही क्रान्तिकारी निस्किहाल्ला कि ?
टिप्पणीहरू