सवारी दुर्घटनामा घाइते गाउँपालिका उपाध्यक्षको निधन
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्र सिंह कार्कीको निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा सवारी भएको साधन दुर्घटनामा परेका कार्कीको उपचारको क्रममा बिहान ३ बजे निधन भएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिएका छन् ।
उनको मेडिकल कलेज नेपालगञ्जमा उपचारको क्रममा निधन भएको हो । हिजो सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको सवारी साधन रत्न राजमार्गअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को मोडमा दुर्घटनाग्रस्त भएको थियो ।
गाउँपालिका अध्यक्ष रोकायाले काम विशेषले सुर्खेत पुगेका उपाध्यक्ष कार्की सुर्खेतबाट नेपालगञ्ज पुगेर त्यहाँबाट हवाइजहाजमा हुम्ला फर्कने योजनामा थिए । तर नेपालगञ्ज जाने क्रममै उनी दुर्घटनामा परेका हुन् ।
कार्की नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको सचिवालय सदस्यसमेत हुन् । उनकी श्रीमती जुम्कित लामा कार्की कर्णाली प्रदेशसभा सदस्य हुन् ।
टिप्पणीहरू