...त्यसपछि उनले अदालतमै विष पिइन्
‘यो मेरो अन्तिम लडाइँ हो श्रीमान,मैले न्याय पाइन भने मर्नुबाहेकको कुनै उपाय छैन’, न्यायाधीशसमक्ष जबरजस्ती करणी पीडित एक युवतीको गुहार हो यो । इजलासमा ज्यान दिने बताएकी ती युवतीले बाहिर निस्किनेबित्तिकै विष सेवन गरेकी छन् ।
उच्च अदालत,पाटनमा हिजो जबरजस्ती करणी मुद्दाको पेशी चढेको थियो । पीडित र प्रतिवादी कोष तथा लेखा नियन्त्रक कार्यालयमा काम गर्ने कर्मचारी हुन् । मुद्दाको प्रतिवादी प्रदीप मैनाली कार्यालयको अधिकृत तहमा कार्यरत छन् । पीडित भने उनीभन्दा जुनियर कर्मचारी हुन् ।
प्रदीपले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै उनले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । जिल्लाले गत असार १८ गते धरौटीमा छोड्ने आदेश गर्यो । त्यसपछि उनले गत भदौ ११ गते उच्चमा पुनरावेदन गरिन् ।
उक्त मुद्दाको दर्ता नम्बर ०८२–आरई–०३५० रहेको छ । पहिलो पेशी न्यायाधीशद्वय सोमकान्त मैनाली र खडानन्द तिवारीको संयुक्त इजलासमा चढेकोमा हेर्न नभ्याइनेमा पर्यो । त्यसपछि कविप्रसाद न्यौपाने र रमेशप्रसाद ज्ञवालीको इजलासले पूर्व आदेशानुसारको कार्य सम्पन्न गर्न आदेश थियो ।
‘उनले मेरो अन्तिम लडाइँ हो, यहाँबाट न्याय पाइन भने म मर्नुबाहेकको उपाय छैन भनेकी थिइन् । इजलासबाट बाहिर निस्किनेबित्तिकै विष पिइछन्’
तेस्रोपटक न्यायाधीशद्वय गणेशप्रसाद बराल र रमेशप्रसाद ज्ञवालीको इजलासमा पेशी तोकिएकोमा निवेदकको कानुन व्यवसायीबाट स्थगित भयो । न्यायाधीशहरु स्वीकृति पराजुली र दीपककुमार खरेलको इजलासले अन्य कारणको आदेश दिएको थियो ।
डालकुमार खड्का र दीपककुमार खरेलको इजलासमा पेशी चढ्दा निवेदकको कानुन व्यवसायीबाट स्थगित गरिएको थियो । श्रीधरा कुमारी पुडासैनी र गोपालप्रसाद बाँस्तोलाको इजलासमा चढेको पेशी निवेदककै कानुन व्यवसायीले स्थगित गरे ।
पछिल्लोपटक सूर्यप्रसाद पराजुली र अच्युत कुँइकेलको इजलासमा पेशी तोकिएकोमा बारको पत्रले स्थगित गरियो । हिजो अन्तिम सुनुवाईपछि न्यायाधीशद्वय डालकुमार खड्का र अच्युत कुइँकेलको इजलासले जिल्लाकै आदेश सदर गरिदियो ।
आदेशमा भनिएको छ,‘निवेदकबाट पाँच लाख रुपैयाँ नगद धरौट जमानत लिई निवेदक प्रतिवादीलाई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नेगरी त्यस अदालतबाट मिति २०८२–०३–१८ मा भएको आदेश बेरितको नदेखिदाँ परिवर्तन गर्न परेन । कानुनबमोजिम गर्नुहोला ।’
त्यसपछि उनले अदालतको परिसरमा विष सेवन गरेकी हुन् । छट्पटाइरहेको अवस्थामा फेला परेपछि अदालतमा खटिएका सुरक्षाकर्मीले उनलाई तत्काल अस्पताल पुर्याएका थिए । हाल उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतका अनुसार स्वास्थ्य अवस्था गम्भीर छ । ‘उनले मेरो अन्तिम लडाइँ हो, यहाँबाट न्याय पाइन भने म मर्नुबाहेकको उपाय छैन भनेकी थिइन् । इजलासबाट बाहिर निस्किनेबित्तिकै विष पिइछन्’,स्रोतले भन्यो ।
टिप्पणीहरू