मेडिकल काउन्सिलको भूमिकामाथि उठाइयो अर्को प्रश्न

मेडिकल काउन्सिलको भूमिकामाथि उठाइयो अर्को प्रश्न

विराटनगरको नोबेल शिक्षण अस्पतालमा नाकको शल्यक्रियाका क्रममा भएको गम्भीर चिकित्सकीय लापरवाहीका कारण ७ वर्षीय बालकले दाहिने आँखा गुमाएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनमा गठित छानबिन समितिले अप्रेसनमा संलग्न चिकित्सकहरूको लापरवाही रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीका लागि नेपाल मेडिकल काउन्सिललाई सिफारिस गरेको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–१, हासपोसाका ७ वर्षीय जेनिस पाठकको नाकभित्र पलाएको मासुको उपचारका लागि मंसिर ५ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि बालकको दाहिने आँखाको ज्योति पूर्ण रूपमा गुमेको छ ।

घटनापछि अभिभावकले उपचारमा गम्भीर लापरबाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । प्रशासनको आग्रहमा स्वास्थ्य मन्त्रालयले विज्ञ चिकित्सकहरूको टोली खटाएर घटना छानबिन गराएको थियो । छानबिन टोलीमा वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ तथा विभागीय प्रमुख डा. अनिता जिसी, कोशी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. वरु देव तथा जिल्ला प्रशासन कार्यालय मोरङका मुद्दा शाखाका अधिकृत रामप्रसाद लुईंटेल सहभागी थिए ।

छानबिनका क्रममा वरिष्ठ विशेषज्ञ चिकित्सकले शल्यक्रिया सुरु गरी बीचमै कनिष्ठ चिकित्सकहरूलाई छाडेर गएको र त्यसपछि अप्रेसनमा गम्भीर लापरवाही भएको पाइएको छ । समितिले अप्रेसनमा संलग्न सबै चिकित्सकसँग बयान लिएको थियो । प्रतिवेदनमा अप्रेसनमा संलग्न चिकित्सकहरूलाई निलम्बन गरी कडा कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरिएको छ ।

तर छानबिन प्रतिवेदनपछि पनि मेडिकल काउन्सिलले दोषी चिकित्सकलाई कारबाही गर्ने कि घुमाउरो पाराले जोगाउने भन्ने विषयले गम्भीर प्रश्न खडा भएको छ । काउन्सिलले कारबाही नगरे छानबिन प्रतिवेदन कागजको खोस्टोमा सीमित हुने र सरकारी निर्देशन दण्डहीनताले निलेको सन्देश जाने छानबिन टोलीको निष्कर्ष छ ।

शल्यक्रियापछि अवस्था जटिल भए पनि नोबेल शिक्षण अस्पतालले बालकलाई हतारहतार डिस्चार्ज गरेको पाइएको छ । डिस्चार्जपछि बालकले आँखा नदेख्ने बताएपछि मंसिर ६ गते विराटनगर आँखा अस्पताल, रानीमा भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकले आँखाको भित्री भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको र अब ज्योति नफर्कने जानकारी गराएका थिए । आँखाको भित्री भागको हड्डी निकालिँदा गम्भीर चोट लागेको चिकित्सकहरूले अभिभावकलाई बताएका छन् ।

मोरङको क्षेत्र नम्बर ३ का सांसद सुनिल शर्माको स्वामित्व रहेको नोबेल शिक्षण अस्पतालमा यसअघि पनि पटक–पटक उपचारमा लापरवाही भएको भन्दै उजुरीहरू प्रशासनमा परेका थिए । केही घटना अदालतमा समेत पुगेका छन् । शर्मा २०७९ को निर्वाचनमा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

फेरि प्रश्न उठेको छ, नाकको अप्रेसनमा गम्भीर लापरवाही गरेका चिकित्सकमाथि मेडिकल काउन्सिलले साँच्चै कारबाही गर्छ कि पुनः संरक्षण ?

टिप्पणीहरू