डुबाएर लालीगुराँस सहकारी, हातमा राडो घडी
तस्बिरमा अनुजा कार्की र सुनिता खड्गी श्रेष्ठ
ललितपुरको पुल्चोकस्थित लालीगुराँस बचत तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी कार्यवाहक सिइओ अनुजा कार्की र बजार व्यवस्थापन प्रमुख सुनिता खड्गी श्रेष्ठसहित विचौलिया प्रदिप पन्त मिलेर बचतकर्ताहरुसँगै ऋण लिनेदिने क्रममा दलाली हुने गरेको खुलेको छ ।
मंसिर १६ गते कोटेश्वरस्थित दोभान रेष्टुरेण्टमा रेवतीरमण दुलाल र बचतकर्ता शैलेन्द्रराज जोशी मिलेर हिसावकिताव मिलाउने प्रयास भयो । जोशीको चार करोड रुपैयाँ सो सहकारीमा फसेको छ । पन्तले सहकारीबाट आफ्नै पैसा ऋण लिने प्रयोजनका लागि कुराकानी मिलाएका थिए । सो वापत ३० लाख रुपैयाँको चेक लिई बैंकमा साट्न पनि गए ।
तर दवावमा चेक लिएको र दलालहरु मिलेर जोशीको रकम दम्पच गर्न खोजेको हल्ला भएपछि बैंकले सो चेक बाउन्स गरेको बताइन्छ । भुक्तानी रोकिएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा झगडा गर्न तिनै पन्त एकहुल झगडियासहित पुगेका थिए । संघर्ष समितिका अध्यक्ष लवकुश केसीले पनि जस्ताको तस्तै गर्न थालेपछि बिचौलिया पन्तलाई प्रहरीले सुरक्षा दिएर भगाइएको थियो । यसमा समस्याग्रस्त सहकारी समितिका सदस्य धु्रव आचार्यको मुख्य भूमिका रहेको आरोप छ । उनले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको खास मान्छे भन्ने गरेका छन् ।
थोरै रकम बचतकर्ता भए पनि अश्विन शर्माको लालीगुराँसमा राम्रै बोली बिकेको छ । शर्मासहित मिलेर सिन्धुपाल्चोकको भैरवकुण्ड हाइड्रो पावरमा लालीगुराँस सहकारीले लगानी गरेकोसहित रकम भुस बनाएको स्रोतको दाबी छ । अघिल्लो पटक रोक्का रहेको सो सहकारीको खाता खोलिदिएवापत विचौचिलयाहरुले दश लाख रुपैयाँ लिएर भागबन्डा गरेको चर्चा पनि छ । बिचौलियाहरुले सो सहकारीको अपचलन गरेको रकमबाट राडो घडी टल्काउँदै हिँडेका छन् । यसै विषयमा उजुरी परेपछि तिनको भागमभाग भएको देखिन्छ ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू