दुर्गा प्रसाईंंले ओली र प्रचण्डको ‘प्रमाण’ दिने

दुर्गा प्रसाईंंले ओली र प्रचण्डको ‘प्रमाण’ दिने

मङ्सिर २२ गते सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट हुँदा दुर्गा प्रसाईंले पीर–व्यथा पोख्दै भने, ‘मैले के मात्रै गरिनँ, ठूला दुई कम्युनिष्ट पार्टीलाई मिलाउन लामो समय प्रयत्न गरेँ र सफल पनि भएँ । तर, त्यो एकता टिकेन । व्यवसाय गर्न मेडिकल कलेज खोलेँ । त्यसलाई अगाडि बढाउन कसैले सहयोग गरेनन् । मेरा कुराको सुनुवाइ त परै जाओस् । उच्चपदस्थहरूसँग भेट्ने मौकासमेत पाइनँ । डाक्टर गोविन्द केसीलाई मेरै मेडिकल कलेज लक्ष्य गरी सबै मिलेर सडकमा सुताए । मेरी छोरीलाई एयरपोर्टमा हत्कडीसमेत लगाइयो ।’ प्रसाईंंको गुनासो यतिमा मात्रै रोकिएन । मुलुकभर आफूजस्तै पीडितको संख्या ४०–५० हजार हाराहारी रहेको उल्लेख गर्दै अगाडि थपे, ‘हामीजस्ता राज्यले प्रताडित बनाएकाहरू विष पिउनुभन्दा विद्रोह गर्नु उचित ठानेर सडकमा उत्रिएका हौँ ।’ 

गिरिबन्धु प्रकरणमा केपी ओलीलाई त्यसतर्फ नलाग्न बारम्बार सल्लाह दिएको तर उनले नमानेको प्रसाईंंले बताए । माओवादी अध्यक्ष प्रचण्डले समेत ओलीलाई गिरिबन्धुको जग्गामा आँखा नलगाउन सुझाव दिएको दावी पनि गरे । प्रसाईंंले भने, ‘प्रचण्डले भनेको त मानेनन्, मेरा कुरा किन सुन्थे ?’ बैंकहरूले आफूलाई उद्यमी बन्न र काम गर्न नदिएको गुनासो गर्दै बाध्य भएर भण्डाफोरमा उत्रेको उनले बताए । प्रचण्ड र ओली दुवैलाई राखेर आफूमाथि बैंकले गरेको व्यवहारबारे कुरा राख्दा उनीहरूले बेवास्ता गरेको उनको गुनासो थियो । आफू १३ वर्षदेखि राज्यबाट पीडित बनेको उनको दावी रह्यो । 

सबैलाई बदमास, फटाहा र देशद्रोही करार गर्दै आएका दुर्गा प्रसाईंले अहिलेका गृहमन्त्री र प्रधानमन्त्रीको भने उनीहरूकै सामुन्ने खुलेर प्रशंसा गरे । अहिलेसम्म कसैले आफ्नो कुरा नसुनेको तर गृहमन्त्री र प्रधानमन्त्रीले समय दिएर पीरमर्का सुनेको भन्दै त्यसका लागि कृतज्ञ रहेको समेत बारम्बार दोहोर्‍याएका थिए । सरकारलाई आफूले सहयोग गर्ने बताउँदै थपे, ‘प्रचण्ड र ओलीविरुद्ध के–कस्ता प्रमाण चाहिन्छ भन्नुस्, म ल्याउँछु । कम्बोडियामा ओलीको ५७ अर्ब रुपैयाँ रहेको प्रमाण मसँग छ । त्यो नेपालमा भ्रष्टाचारजन्य कसुरबाट आर्जित धन हो । त्यसैगरी प्रचण्डको २६ सय करोड रुपैयाँ दुबईमा छ, त्यसको पनि ठोस प्रमाण दिन सक्छु ।’ सिंगापुरमा आइएल आचार्यका छोरा सतिशलाल, भावना सिंह श्रेष्ठलगायतले सबै नेताको सम्पत्ति व्यवस्थापन गर्ने गरेको समेत उनले बताए । ‘सबै नेता जाने, खाने बस्ने एकै ठाउँमा हो । सिंगापुरमा यही ग्रुपले सबैको व्यवस्थापन गर्दै आएको छ ।’ प्रसाईंले रिपोर्टिङ गरे । 

उनले नेपालको पूँजीबजारमा भइरहेका अपराधहरूबारे समेत प्रधानमन्त्रीलाई जानकारी दिएको समाचार स्रोतले बताएको छ । उदाहरण पेश गर्दै रिलायन्स कम्पनीले लामो समयदेखि घाटामा रहे पनि बनावटी नाफा देखाएर आइपिओ जारी गर्न लागेको र ठूलो मात्रामा नेपाली सर्वसाधारणबाट संकलित रकम भारततर्फ लैजाने गरेको समेत दावी गरे । यस्ता सबै अनियमितता रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका उनले नेपालमा मारवाडी समुदायबाट भइरहेका गलत क्रियाकलापको फेहरिस्त प्रस्तुत गर्न समेत छुटाएनन् । सुलभ अग्रवालदेखि दीपक भट्टसम्मका कर्तुतको सूचीसमेत प्रधानमन्त्री कार्कीसमक्ष प्रस्तुत गरे । 

जेनजी आन्दोलनपछि त्यसको रापतापमा बनेको सरकारले सबै अपराधीलाई घिसारेर सडकमा ल्याई कारबाही नगरेकोमा दुःख व्यक्त गर्दै अझै पनि समय टरिनसकेको बताए । प्रसार्इंलाई उद्धृत गर्दै समाचार स्रोतले भन्यो, ‘आँट गर्नुस्, तपाईँहरूको रक्षाका लागि सगरमाथाझैँ अटल र दर्बिलो बनेर हामी उभिन्छौँ । म त्यसको नेतृत्व गर्छु । सरकार बन्नेबित्तिकै २० लाखसम्म ऋण मिनाहाको घोषणा गर्नुपथ्र्यो ।’ उनले भने, ‘कार्यकारी प्रमुखले विभिन्न मान्छेसँग छलफल गर्ने होइन ठीक निर्णय स्वविवेकले गर्ने हो । विज्ञ भनाउँदाहरूले त यसो गर्न मिल्दैन, त्यसो गर्न हुँदैन भनेर रोक्ने काम मात्रै गर्छन् ।’ 

यी सबै कुरा सुनिसकेपछि सुशीला कार्कीले प्रश्न राखिन्, ‘सबैको ऋण मिनाहा गर्ने भन्छौ । जे मा पनि छुट दिने भन्छौ । त्यत्रो पैसा कहाँबाट ल्याउने त भाइ ?’ प्रसार्इंको जवाफ थियो, ‘अहिले जो जेलबाट भागेर लुकी बसेका छन् । तीमध्ये गम्भीर प्रकृतिका अपराध गरेकाबाहेकलाई पैसा तिरेर बाहिरै बस्न दिने घोषणा गरौँ । उनीहरूबाट जम्मा १३ खर्ब रुपैयाँ संकलन हुन्छ । त्यसमध्ये ३ खर्ब रुपैयाँ यस्ता छुट र मिनाहामा खर्च गरेर बाँकी १० खर्ब रुपैयाँ देश विकासमा लगानी गर्न सकिन्छ ।’ 

कबाड व्यवसायी सङ्घ, ट्याक्सी व्यवसायी संघलगायत साना र परिश्रम गर्ने संघ/संगठनका नेताहरू लिएर प्रधानमन्त्री भेट्न गएका दुर्गा प्रसाईं आफ्ना निजी मागप्रति पनि निकै जोडदार रूपमा प्रस्तुत भएका थिए । हालै चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरूको सिट बाँडफाँड गर्दा अरुको भन्दा अबल भौतिक पूर्वाधार र अन्य तयारी हुँदासमेत आफूलाई जम्मा ६० सिट मात्र दिएकोमा उनले गुनासो गरे । प्रधानमन्त्री नै अध्यक्ष रहने चिकित्सा शिक्षा आयोगका हाकिमहरूले दुईजना विद्यार्थीबाट उठाउने रकम  आफूहरूलाई दिने भए सय सिट दिने प्रस्ताव राखेको तर आफू भ्रष्टाचारविरोधी अभियानमा रहेका कारण त्यसो गर्न नसक्ने जानकारी दिएपछि सिट संख्या घटाइदिएको समेत आरोप लगाए । त्यसैगरी आफ्नो अस्पताललाई स्वास्थ्य बिमाको कार्यक्रममा सहभागी गराइदिन स्वास्थ्य मन्त्री, स्वास्थ्य बीमा बोर्डका अध्यक्षलगायत सबैलाई भेट्दासमेत त्यसप्रति उनीहरू सकारात्मक नदेखिएकाले अस्पताल बन्द गर्नुपर्ने स्थिति आइपरेको भन्दै यस्ता काममा प्रधानमन्त्रीले सहजीकरण गरिदिनसमेत आग्रह गरेका थिए । 

चैत्र १५ गतेको मुद्दा फिर्तासम्बन्धी प्रस्ताव टोलीका अन्य सदस्यले राख्न खोज्दा रोक्दै भने, ‘त्यो दिन मलाई मार्ने योजना थियो । म बाँचेँ । भैगो, यी कुरा छोडिदिऊँ ।’ त्यसपछि आफ्नो मागपत्र प्रधानमन्त्रीको हातमा दिँदै उनले भनेका थिए, ‘यो मागपत्रलाई नेपालको संविधान नै बनाए पनि हुन्छ । यी माग पूरा गरिदिनुस् । हामीलाई अरू केही चाहिएको छैन ।’ अन्तिममा प्रधानमन्त्रीलाई थोरै जिस्क्याउँदै भने, ‘यो मुलुकमा को नै बस्छ र ! तपाईंको  छोरा उतै, अब नातिनातिना पनि उतै बस्ने हुन् । विस्तारै तपाईँहरूको पनि बास उतै होला ।’ त्यसको जवाफमा प्रधानमन्त्रीले ठोकुवा गर्दै भनिन्, ‘हेर्नुहोला, मेरो नाति यहीँ आउँछ । नेपाललाई नै आफ्नो कर्मथलो बनाएर बस्छ । म उसलाई फिर्ता ल्याउँछु र तिम्रो अगाडि यहीँ राखेर देखाउँछु ।’

(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू