मन्त्रीको स्टाटसमा एमाले अध्यक्षमाथि कटाक्ष

मन्त्रीको स्टाटसमा एमाले अध्यक्षमाथि कटाक्ष

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको लागि कार्यकर्ताले बनाइदिन लागेको भनिएको 'कुटी' निर्माणअघि नै आलोचनमा परेको छ । 

राधिका शाक्यले बिहीबार शिलान्यास गरेको गुण्डुस्थित 'ओली कुटी' बनाउन करोडौँ रकम जुटाउन सक्नेले ऐतिहासिक सम्पदा पुनःनिर्माणमा भने चासो नदेखाएको भन्दै आलोचना भएको हो । अध्यक्षका लागि घर बनाइदिन करोडौँ रकम जुटाइरहेका एमाले कार्यकर्ताले सोही दिन खरानी भएका ऐतिहासिक सम्पदा र सरकारी संरचना पुनःनिर्माणका लागि भने एक रुपैयाँ पनि सहयोग घोषणा गरेका छैनन् । 

भदौ २४ गतेको विध्वंशमा ओलीको बालकोटस्थित घर खरानी भएको थियो भने उनी बालुवाटारबाट हेलिकोप्टरमा भाग्नुपरेको थियो । अहिले महेश बस्नेतहरूको सुरक्षा घेरामा रहँदै आएका ओलीको लागि त्यहाँ भव्य बंगला बनाइँदैछ । यद्यपि, त्यसलाई ‘ओली कुटी’ भनिएको छ । 

यता, शिक्षामन्त्री महावीर पुनले ओली कुटीको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा कुटीको ग्राफिक्स तस्वीर शेयर गर्दै उनले कटाक्षपूर्ण टिप्पणी गरे ।

‘यो घरको नक्सा डिजाइन गर्ने इञ्जिनियररलाई सख्त कारवाही हुनुपर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ’, मन्त्री पुनले भनेका छन्, ‘हाकिम(ओली)ले दुई जना बस्ने कुटी बनाउभन्दा यत्रो ठूलो दरबारको नक्सा बनाइदिन हुन्छ त !’

ठट्टा गर्दै उनले लेखेका छन्, ‘कहाँ सम्मको लापरवाही हो यो ?’

मन्त्री पुनको स्टाटसमा कमेन्ट गर्नेहरू धेरैले ओली कुटीको विरोध गरेका छन् । एक जना कमेन्टकर्ताले नजिकै हेलिप्याड बनाउन पनि सुझाव दिएका छन् ।

टिप्पणीहरू