राजधानीकै अड्डामा जुनियर हावी
प्रशासन संयन्त्रमा जहिले पनि सिनियर पदको व्यक्ति हाकिम हुन्छ र जुनियरलाई खटनपटन गराउँछ । तर सुशासनको कुरा गर्ने बालेनको काठमाडौं महानगरपालिकामा भने ठ्याक्कै उल्टो छ । जुनियर हाकिमले सिनियरलाई काममा खटाउँछन् ।
केही समयअघि आठौं तहका निमित्त नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दशौं तहका हाकिमलाई निर्देशनात्मक पत्र काटेपछि हंगामा मच्चियो । त्यस्तै कतिपय वडामा छैठौं तहको सचिव पठाएर सातौं तथा आठौं तहका कर्मचारीलाई खटन पटन गरिरहेको देखिन्छ ।
कर्मचारीको दरबन्दीअनुसार पनि विभागीय प्रमुखहरु दशौं तहका थिए तर अहिले कर्मचारी घाम तापेर बस्छन् अनि आठौं तहका कर्मचारी विभागीय प्रमुख बनाइएका छन् । वातावरण विभाग, सूचना प्रविधि विभाग, राजश्व विभाग, नक्सा हेर्ने शहरी व्यवस्थापन विभागमा दशौंलाई फाजिलमा राखेर राजश्वबाहेकको विभागमा आठौं र नवौं तहलाई राखिएको छ ।
यो किन गरियो ? वा यस्तो किन भयो धेरैलाई थाहा नहुन सक्छ । निमित्तले कार्यालय प्रमुख नै भन्ने गरेका कारण पनि यसो भएको हो । कुनै पनि रिक्त दरवन्दीमा बढीमा छ महिनाका लागि कायममुकायम दिन सकिन्छ । तर नगर प्रहरीमा राजुनाथ पाण्डेले २ बर्षदेखि नियम विपरित नेतृत्व सम्हालिरहेका छन् ।
त्यस्तै वातावरण विभागमा आठौं तहकी सरिता राई हाकिम छिन् । महानगरको भन्सार भनेर चिनिने नक्सा फाँट सम्हाल्ने शहरी व्यवस्था विभागमा ललितपुर महागनरबाट समायोजन भएर गएका नवौं तहका इञ्जिनियर हरिश्चन्द्र लामिछानेले जिम्मेवारी सम्हालेका छन् । यो त भयो केन्द्रीय कार्यालयको कुरा ।
सुशासन भनिरहने बालेनले भ्रष्ट भनेर आरोप लगाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई हटाउन सकेका छैनन् । जबकि तत्कालीन प्रधानमन्त्री केपी ओलीनिकट भ्रष्ट व्यक्ति भन्ने गर्दथे तर अहिले देश बालेनको हातमा छ । सरुवा र पदोन्नती उनकै इशारामा चल्छ र पनि सरोज जहाँको त्यहीँ छन् । यसले के प्रष्ट पार्दछ भने बालेन र उनको टिमले आफ्नो स्वार्थ नमिल्दा मात्रै सरोजमाथि लाञ्छना लगाएका रहेछन् ।
३२ वडामध्ये धेरैतिरको हालत उस्तै छ । छैठौं तहको पानी बढुवा अधिकृतले सातौ वा आठौं तहका कर्मचारीलाई खटनपटन गरिरहेका छन् । महानगरको वडा नं. १,२,५,८,९,११,१२,१४,१७,२६,२८,२९ र ३० लामो समयदेखि छैठौंले हाँकिरहेका छन् । अनि उनीहरुले आठौं तहका प्राविधिक तथा लेखा अधिकृतहरुलाई खटन पटन गरिरहेको देखिन्छ ।
सूचना प्रविधि विभागमा मात्र ५ जनाभन्दा बढी आठौं तहका कर्मचारी छन् । एउटै शाखामा ३ जनासम्म आठौं तहको कर्मचारीलाई घाम तपाएर राखिएको छ । जुनियर कर्मचारीलाई हाकिम बनाइएको ठाउँमा मेयर बालेनका विज्ञहरुले कब्जा जमाएर बसेको देखिन्छ ।
जस्तैः नक्सा शाखामा इन्जिनियर सन्तोष पाण्डे, सूचना प्रविधि विभागमा सुदिप ढकाल, वातावरण विभागमा सुनिल लम्साल, शिक्षा विभागमा सस्मित पौडेलहरुले भनेबमोजिम मात्र काम हुने गर्दछ । त्यही भएर पनि अहिले महानगरले गर्ने विकास निर्माण, संरचना निर्माण एवं खरिद कार्यमा स्पेसिफिकेशनदेखि नै यिनै विज्ञहरुको सेटिङ्ग चल्ने गर्दछ ।
(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू