गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्र

गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्र

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गर्दै जेनजीको एक समूहले अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

‘जेनजी युनाइटेड’ को टोलीले आज सिंहदरबार पुगेर अर्थमन्त्री डा. रामेश्वर खनाललाई ज्ञापन पत्र बुझाएका हुन् । पत्रमा गभर्नर पौडेललाई बर्खास्त गर्नुपर्ने ७ कारण प्रस्तुत गरिएको छ । 

पौडेलको पृष्ठभूमि र नियुक्ति प्रक्रियालाई मुख्य कारणको रुपमा औँल्याइएको ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले स्वार्थ समूहको डिजनाइनमा गभर्नर नियुक्त गरेको दाबी गरिएको छ । गभर्नरमा पौडेलको सिफारिस राजनीतिक उद्धेश्यप्रेरित रहेको जेनजी युनाइटेडको जिकिर छ । 

'नेपाल राष्ट्र बैंक ऐन (प्रथम संशोधन २०६३) को दफा १५ को उपदफा २ को (क), (ख) र ग बमोजिम नेपाल सरकारबाट गठित सिफारिस समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरमध्येबाट तीनजनाको नामावाली नेपाल सरकार मन्त्रिपरिषदमा सिफारिस गर्नेछ भनिएको छ', पत्रमा लेखिएको छ, 'तर उक्त व्यवस्थाविरुद्ध डा. विश्वनाथ पौडेललाई सिफारिस गरियो ।'

जेनजी युनाइटेडले गभर्नर पौडेलको शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएको छ । ऐनले तोकेको शैक्षिक योग्यता र अनुभव नभएकाले उनको नियुक्ति गैरकानुनी रहेको उसको दाबी छ । 

'नेपाल राष्ट्र बैंक ऐन २०५८ (प्रथम संशोधन २०६३) को दफा २० को (ग) मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा वाणिज्य कानुन विषयमा स्नात्तकोत्तर उपाधि हासिल गरी सोही क्षेत्रमा कार्य अनुभव हासिल गरेको (नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा ‘क’ श्रेणीको वाणिज्य बैंक वा वित्तिय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पद भन्दा उच्च पदमा कार्य गरेको) कार्य अनुभव सम्झनुपर्छ भन्ने उल्लेख छ’ ज्ञापन पत्रमा भनिएको छ ।

तर, पौडेलको हकमा ऐनले तोकेको शैक्षिक योग्यता नरहेको जेनजी युनाइटेडको ठहर छ । 'डा पौडेलले कम्प्युटर इञ्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नात्तकोत्तर, एक्ग्रिकल्चार इकोनोमिक्समा विधावारिधी उपाधी ......', ज्ञापन पत्रमा उल्लेख छ । 

पौडेलको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै यसअघि अदालत र अख्तियारमा उजुरी परेको थियो । उजुरी परेका व्यक्तिलाई गभर्नर बनाइराख्दा अर्थ बाझिनसक्ने तर्क ज्ञापन पत्रमा गरिएको छ । 

जेनजी युनाइटले अर्थतन्त्र सुधारका लागि ८ बुँदे माग पनि अघि सारेको छ । लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, अर्थ मन्त्रालयमा विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूले अनाधिकृतरूपमा लिएको ब्याज ऋणीलाई फिर्ता गर्नुपर्ने, राजश्व अनुसन्धान तथा सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउनुपर्ने, वैदेशिक ऋणको दुरुपयोग रोक्नुपर्ने, पैसा थुपार्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने उसको माग छ ।

टिप्पणीहरू