भारतीय अतिरिक्त सचिवद्वारा प्रधानमन्त्रीलगायतसँग छुट्टाछुट्टै भेट
आज बिहान साढे १० बजे सिंहदरबार पुगेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव एवम् नेपाल–भुटान डेस्क प्रमुख मुनु महावरले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । उनले एकाध घण्टाको अन्तरमा आधा दर्जन मन्त्रीहरुसँग छुट्टाछुट्टै भेटेका छन् ।
बिहान साढे १० बजेदेखि सवा ११ बजेसम्म गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका महावर उपसचिव सकेता राजा मुसिनीपाल्ली र नेपालस्थित भारतीय दूतावासका डिसिएम डा. राकेश पाण्डे रहेको टोली लिएर साढे १२ बजे प्रधानमन्त्री भेट्न प्रधानमन्त्रीको कार्यालय पुगेका थिए ।
साढे १२ बजेदेखि झण्डै आधा घण्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरे । त्यहाँबाट निस्केर भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव सवा १ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका थिए । उद्योग,वाणिज्य तथा आपूर्ति,कानुन, न्याय तथा संसदीय मामिला,भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासँग पौने २ बजेसम्म कुराकानी भएको मन्त्रालय स्रोतले बतायो ।
त्यहाँबाट निस्केको टोलीले सवा २ बजेसम्म अर्थ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालसँग अर्थ मन्त्रालयमा कुराकानी गरेको थियोे । भातरीय अतिरिक्त सचिवको तीन सदस्यीय टोली त्यसपछि सवा २ बजेपछि ऊर्जामन्त्री कुलमान घिसिङ भेट्न पुगेको थियो । उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको बुझिएको छ ।

टिप्पणीहरू