महशुल नतिरेका आधा दर्जन उद्योगमा बिजुली लाइन जोडिँदै
डेडिकेटेड र ट्रंकलाइन विवादका कारण काटिएको ६ वटा उद्योगको बिजुलीको लाइन जोडिने भएको छ । आज बसेको नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले विद्युत नियमन आयोगको निर्देशानुसार उद्योगहरुको लाइन जोड्ने निर्णय गरेको छ ।
प्राधिकरणका अनुसार आज साँझबाट विद्युत लाइन जोडिँदै छ । तीन महिनाभित्र उद्योगीहरुले बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाइने प्राधिकरणको भनाइ छ ।
निर्णयमा भनिएको छ, ‘तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउनेगरी विद्युत नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत लाइन जोड्ने ।’
प्राधिकरणले गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेण्ट, अर्घाखाँची सिमेण्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो । लाइन काटेपछि उद्योगीहरुले अस्ति आयोगमा उजुरी दिएका हुन् ।
प्राधिकरणले विद्युत उपभोक्ता हित संरक्षणसम्बन्धी निर्देशिका, २०८० को दफा १३ को उपदफा (१) देखि उपदफा (१०) मा उल्लेख भएबमोजिम उपभोक्ताले आफ्नो गुनासो पेश गर्ने मौका खोसेको उल्लेख गर्दै उनीहरुले लाइन पुनः जडान गर्न माग गरेका थिए ।
टिप्पणीहरू