चर्को स्वरमा डिजे बजाउनेलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना

चर्को स्वरमा डिजे बजाउनेलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना

रौतहटमा सार्वजनिक स्थलमा चर्को स्वरमा ‘साउण्ड सिस्टम (डिजे)’ बजाउन रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटले सडक, विद्यालय, सरकारी कार्यालय वरपरका स्थानमा डिजे बजाउन प्रतिबन्ध लगाइएको जनाएको छ । 

प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीका अनुसार सार्वजनिक स्थलमा डिजे बजाउँदा सरकारी कार्यालयहरुको कामकाजमा समस्या भएको छ । त्यस्तै, विद्यार्थीहरुको पठनपाठनमा असर पर्नुका साथै ध्वनी प्रदूषण बढेको उनको भनाइ छ । 

‘रौतहट जिल्लाको सार्वजनिक बाटो, सडक, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानहरुमा सर्वसाधारण नागरिकको जनस्वास्थ्यमा जोखिम बढ्न सक्नेगरी डिजे साउण्ड सिस्टमबाट चर्को ध्वनिमा अभद्र र उच्छृङ्खल प्रकारको संगीत बजाएको कारण सामाजिक तनाव तथा द्धन्द्धको वातावरण सृजना हुने गरेको, समाजमा मानसिक तथा शारीरिक समस्या उत्पन्न भएको, झै–झगडाका घटनाहरु बढेको, विद्यार्थीहरुको पठनपाठनमा, सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनि प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर परेको भनि पटकपटक जनगुनासोहरु प्राप्त भएको हुँदा चर्को स्वरमा डिजे साउण्ड सिस्टम नबजाउन हुन अनुरोध गरिएको छ’, आज जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, कसैले चर्को स्वरमा डिजे बजाएमा कारबाही गरिने चेतावनी दिइएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदूषित गर्न नहुने व्यवस्था छ । सो दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजतबिना यान्त्रिक साधनबाट ध्वनि, रेडियोधर्मी विकिरण वा जोखिमपूर्ण फोहोरमैलाको उत्पादन, प्रशारण ओसारपसार गर्न वा थुपार्न नहुने र त्यसो गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुन भनिएको छ ।

टिप्पणीहरू