चार्टर्ड एकाउन्टेन्सी अध्ययनरत विद्यार्थीहरु आन्दोलनको तयारीमा

चार्टर्ड एकाउन्टेन्सी अध्ययनरत विद्यार्थीहरु आन्दोलनको तयारीमा
सुन्नुहोस्

चार्टर्ड एकाउण्टेन्ट्स (सीए) पढ्ने विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स विद्यार्थी संगठनका अध्यक्ष महेन्द्र खड्का नेतृत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमै पुगेर शिक्षामन्त्री भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

आगामी पाँच दिनभित्र आफूहरुको माग सम्बोधन गर्न आग्रह गरिएको छ । अन्यथा आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा चेतावनी उल्लेख छ । अध्यक्ष खड्काले आफूहरुको माग पूरा नभए साउन १० गतेदेखि सशक्त आन्दोलन थाल्ने जानकारी दिए । 

यसअघि पनि मागपत्र बुझाइएको तर छ महिनासम्म सम्बोधन नभएकोमा उनले गुनासो गरे । १९ बुँदे मागबारे पाँच दिनभित्र सम्बोधन नभएमा संघर्षमा उत्रिने बताए । 

उनीहरुको मागमा ‘नो बार्गेनिङ’ प्रमुख छ । सीए अध्यापनमा १९९७ को पाठ्यक्रम रहेको जनाउँँदै तत्काल संशोधनको माग राखिएको छ । अर्कोतर्फ, उत्तरपुस्तिका हेर्नका लागि आठ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्थाको चर्को आलोचना गरिएको छ ।

अध्यक्ष खड्काले भने, ‘हामीले परीक्षाका लागि एक हजार रुपैयाँ तिर्नुपर्छ । तर, त्यही परीक्षाको उत्तरपुस्तिका हेर्न आठ हजार रुपैयाँ तिर्नुपर्छ । यही विषय लिएर हामी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा पनि गयौं । त्यहाँका पदाधिकारीहरुले सोझै हामीले विद्यार्थीलाई डिसकरेज गरेको भन्दै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनुभयो ।’

टिप्पणीहरू