करणीका कैदी कहाँ कति ?
कैदीबन्दीको संख्याले नै देशभर आपराधिक गतिविधि बढेको देखाउँछ । कैदीबन्दीको अवस्था ‘बट्टामा खाँदिएको गुन्द्रुक’ जस्तै छ । केन्द्रीय कारागार जगन्नाथदेवलमा मात्रै झण्डै साढे तीन हजार कैदीबन्दी छन् । त्यहाँ १ हजार ८ सय ५४ कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । त्यसैगरी, छेवैको भद्र बन्दीगृहमा एक हजार १ सय ७३ र महिलातर्फ ४ सय ३६ कैदीबन्दी छन् । ६ जना नाबालक पनि सँगै छन् ।
केन्द्रतर्फ ९ सय ६५ कैदी र ८ सय ८९ बन्दी छन् । कारागारमा सबैभन्दा धेरै जबरजस्ती करणी र लागुऔषध कसुरका कैदीबन्दी भएको विभागले जानकारी दिएको छ । जबरजस्ती करणीको कसुरमा ४ सय ९९ जनाले सजायँँ काटिरहेका छन् । यस कसूरमा २ सय ८ कैदी र १ सय ९१ बन्दी हुँदा ४ सय ७८ विदेशी र २१ स्वदेशी छन् । एक सय ७३ कैदी र १ सय ८१ बन्दी गरी ३ सय ५४ जना लागुऔषधमा परेका छन् । तीमध्ये ३ सय १५ नेपाली र सात विदेशी नागरिक भएको जनाइएको छ ।
कर्तव्य ज्यानतर्फ २ सय २७ कैदी र ७० बन्दी गरी २ सय ९७ कैदीबन्दी रहेको प्राप्त विवरणमा उल्लेख छ । विभागका अनुसार तीमध्ये नेपाली २ सय ८८ र विदेशी नौ जना छन् । ज्यान मार्ने उद्योगका १० कैदी र २१ बन्दी गरी ३१ जना थुनामा छन् । ती सबै नेपाली हुन् । सवारी ज्यानको कसूरमा कूल ३६ जनाले सजायँँ काटिरहेका छन् । १० कैदी र २६ बन्दी नेपाली हुन् । चोरीमा सात विदेशी कारागार चलान भएका छन् । बहुविवाह गर्ने सात कैदी र चार बन्दी गरेर ११ जना छन् ।
ठगीसम्बन्धी कसूरमा ६६ नेपाली र पाँच विदेशी गरी ७१ जना थुनामा छन् । डाँका कसूरमा परेकाको संख्या ६८ छ । जिउ मास्ने कसूरका ५२ कैदी र २४ बन्दीमध्ये ७२ जना नेपाली र चार जना विदेशी छन् । वनसम्बन्धी कसूरमा ३१ जना छन् । अपहरणमा कारागार चलान भएका २३ जना नै नेपाली हुन् । वैदेशिक रोजगारसम्बन्धी कसूरमा सजायँँ काट्नेचाहिँ विदेशी मात्रै देखिएको छ । सार्वजनिक अपराधमा कारागार चलान हुनेको संख्या ५० छ ।
यता, भद्र बन्दीगृहमा कर्तव्य ज्यान मुद्दाका १ सय ३१ जना कैदीबन्दी छन् । एक सय १५ कैदी र १६ बन्दीसहित सो कसूरमा १ सय ३० नेपाली र एक विदेशीले सजायँ काटिरहेको पाइन्छ । सवारी ज्यानमा एक विदेशीसहित ३० जना छन् । ३ सय ६५ नेपाली र ३० विदेशी गरी ३ सय ९५ जनाले लागुऔषधको कसूरमा जेलजीवन बिताइरहेका छन् । जबर्जस्ती करणीअन्तर्गत कारागारमा भएकाको संख्या ३ सय छ । सोमध्ये २ सय ८७ नेपाली र १३ विदेशी हुन् ।
महिला बन्दीगृहमा पनि कैदीबन्दीको संख्या उत्तिकै छ । उक्त गृहमा कर्तव्य ज्यानका ८९ जना कैदीबन्दी छन् । जसमध्ये ८८ नेपाली र एक विदेशी नागरिक रहेको विभागको भनाइ छ । लागुऔषधको कसूरमा १०६ महिला कैदीबन्दी रहेको जनाइएको छ । त्यसमध्ये ६९ नेपाली र ३७ विदेशी हुन् । केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालले कैदीबन्दी थपिने क्रम बढेको बताए । पहिले जाने र आउने बराबर भए पनि अहिले आउने मात्रै भएको उनको भनाइ छ ।
उता, विभागका सूचना अधिकारी गोकर्ण खनालले काठमाडौं उपत्यकास्थित तीन वटा कारागारमा ५ हजार ७ सय ७१ कैदीबन्दी रहेको बताए । सबभन्दा बढी जगन्नाथदेवल र कम कैदीबन्दी डिल्लीबजारमा छन् । डिल्लीबजारमा ६ सय ९८ र नख्खु कारागारमा १ हजार ५ सय ३३ कैदीबन्दी छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू