परिवर्तित स्थिति

परिवर्तित स्थिति

रास्वपाका अध्यक्ष रवि लामिछाने अन्ततः मिसन चौरासी छोडेर मिसन खलाँसीतिर लाग्नुभएछ । अस्तिसम्म त खुबै ‘मिसन चौरासी’ भनेर कराइराख्नुभा’थ्यो । अहिले भने बीचैमा मिसन खलाँसीमा लाग्नुभयो । एकैपटक यस्तो परिवर्तन किन ? मान्छेलाई अनौठो पनि लाग्न सक्छ । 

मलाई पनि अचम्म लागेको थियो । त्यही भएर रास्वपाका एक नेतालाई यसबारे सोधेको थिएँ, ‘के छ नेताजी ? मिसन चौसारी त त्याग्नुभएछ । सरकारमा नि जाँदैनौँ, दायाँबायाँ नि गर्दैनौँ भन्नुभा’थ्यो । जानुभो त । के हो ?’

उहाँले भन्नुभो, ‘भन्या त थियौँ । तर त्यो भनेको समय र अहिलेको समयमा धेरै परिवर्तन भइसकेको छ । हामी परिवर्तित समय अनुसार चल्न चाहन्छौँ ।’

मैले सोधेँ, ‘के नै परिवर्तन भयो र ?’

उहाँले भन्नुभो, ‘धेरै भइसक्यो । जुन बेला हामीले अब हामी सरकारमा जान्नौँ भनेका थियौँ, त्यति बेला प्रचण्डले हामीलाई सरकारमा बोलाउनुभएको थिएन । सरकारमा बोलाएकै थिएन भने कसरी जाने ? त्यही भएर जान्न भन्यौँ तर अहिले त बोलाइयो नि † स्थिति परिवर्तन भएन त ? सरकारमा आऊ भनेर नबोलाएको स्थिति र देउवासँगको सरकार ढालेर नयाँ सरकारमा आउन पाऊँ भनी कराएको स्थितिमा धेरै भिन्नता छ । स्थिति परिवर्तन भएपछि हामीले नीति पनि परिवर्तन गरेका हौँ ।’ 

नेताजीको तर्क सटिक लाग्यो । स्थिति त धेरै परिवर्तन भइसक्यो । जुनबेला रास्वपाले सरकारमा जान्न भनेको थियो, त्यतिबेला त्यसका अध्यक्ष विरुद्ध सहकारी काण्ड पनि आएको थिएन । अहिले आयो । स्थिति त परिवर्तन भयो नि †  

 

टिप्पणीहरू