फेसबुकको राजीनामा स्वाट्टै स्वीकृत
कात्तिक २३ गते मध्यरात भक्तपुरको गुण्डुमा भएको सहमतिलाई मंसिर १ गते दिउँसो काठमाडौँ मीनभवनस्थि नेपाल कमर्स क्याम्पसमा पदाधिकारीको बैठक बसेर अनुमोदन गरिएको छ । प्रसंग हो एमाले अखिलको रिक्त अध्यक्ष चयन । भदौ २३ को जेनजी आन्दोलनमा विद्यार्थीलाई स्कूल र कलेज पोशाकमै तत्कालीन ओली सरकारले हत्या गरेको भन्दै अखिलको नाम लिएर अध्यक्ष डा. सुजन कडरियाले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए ।
तर, मंसिर १ गते बैठकको शुरुमै लिखित राजीनामा पार्टी अध्यक्षलाई दिएको भन्दै फेसबुक स्टाटसको स्क्रिसर्ट देखाएर राजीनामा स्वीकृत भएको जानकारी विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्लले दिएका छन् । महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने कुरामा कसैको बिमति थिएन ।
तर, अञ्जना शिवाकोटीलाई उपाध्यक्षबाट झारेर महासचिव बनाउने प्रस्तावको आकाश घर्तीले ठाडै विरोध गरे । अन्यको पद यथावत् राखेर बैठकले अध्यक्ष र महासचिव चयन छ । गत कात्तिक २४ या २५ गते नै यो कमिटी बन्ने थियो । २३ गते रातिको सहमति कार्यान्वयन किन ढिला भनेर एक पदाधिकारीलाई सोध्दा उनले २४ गते पार्टी फर्क अभियान र निवर्तमान अध्यक्षले महाधिवेशन प्रतिनिधि सुनिश्चितना नभएसम्म आफू निकटलाई बैठकमा सहभागी नगराउने भनेपछि केही दिन धकेलिएको बताए ।
यसबीच, २०८३ जेठ गते एमाले अखिलको राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ । अध्यक्ष दीपक धामीले त्यही दिन अध्यक्ष छोड्ने अघोषित सम्झौता पनि छ । गत सोमबारबाट अखिलको निवर्तमान भएका सुजन कडरियालाई राति लगेर पार्टी अध्यक्ष केपी ओलीसँग भेट गराइएको छ । सो भेटमा अखिलका सचिवद्वय आकाश घर्ती र समिम बाबु पठान भने सहभागी थिएनन् ।
(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू