महिलाहिंसा अवस्था डरलाग्दो देखिँदै

महिलाहिंसा अवस्था डरलाग्दो देखिँदै
सुन्नुहोस्

केही दिनअघि सिन्धुलीमा सम्बन्ध विच्छेदको विषयलाई लिएर एक महिलालाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म बेहोस हुने गरी कुटपिट गरियो । 

कमलामाई नगरपालिका–४ की शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट गरिएको हो । निर्घात कुटिएकी उनको सिन्धुली प्रहरीले उद्धार गरेको थियो । 

घरेलु हिंसाबाट पीडित शारदाले आफ्ना श्रीमान सन्तोष थापासँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएकी थिइन् । सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएको थाहा पाएपछि उनका श्रीमान सन्तोषसहित सात जनाको संलग्नतामा उनीमाथि कुटपिट भएको थियो । 

प्रहरीले घटनामा संलग्न सातै जनाविरुद्ध शरीर बन्धक मुद्दा दर्ता गरेको जनाएको छ । आफ्रनै श्रीमतीको हत्या अभियोगमा ईलामको दमक नगरपालिका–२ बगर मखमली टोल बस्ने ६० वर्षीय धनबहादुर विश्वकर्मा गत पुस १४ गते पक्राउ परे । 

उनले सामान्य विवादको क्रममा आफ्नै ६० वर्षीया पत्नी ईन्द्रकुमारीको खुकुरी हानेर प्राण लिएको प्रहरीको आरोप छ । यता, परपुरुषसँग लागेको भन्दै कास्कीको पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने २८ वर्षीया रेखा गत पुस १२ गते आफ्नै श्रीमान रत्नबहादुर घर्तीबाट मारिइन् । 

रेखा रत्नकी कान्छी श्रीमती थिइन् । उनीतर्फका दुई वटा बच्चा पनि छन् । केही समययता श्रीमान–श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएपछि रेखा अर्को पुरुषसँग प्रेममा थिइन् । 

अर्को पुरुषसँग प्रेममा रहेकी रेखा भाग्न लागेको चाल पाएपछि रत्नले उनलाई लखेट्टै तोरीबारीमा लगी जुत्ताको तुनाले घाँटी कसेर हत्या गरेका थिए । सुनसरीको इनरुवा नगरपालिका–३ का ३३ वर्षीय नगेन्द्र भगतले थप दाइजो नल्याएको भन्दै गत असोज १ गते आफ्रनै पत्नी निकिता चौधरीको हत्या गरे । 

करिब दुई वर्षअघि विराटनगर–१७ मटेरुवाकी २३ वर्षीया निकितासँग उनले ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजो लिएर विवाह गरेका थिए । 

तर, थप दाइजोका लागि नगेन्द्रले निकितालाई मानसिक र शारिरिक यातना दिदैं आएका थिए । सोही क्रममा उनले निकिताको हत्या गरेको बताइएको छ । पछिल्लो समय महिलामाथि हुने हिंसाले भयावह रुप लिन थालेको छ । तीमध्ये यी त केही प्रतिनिधि घटना मात्रै हुन् । दिनहुँजसो महिलाहरु हिंसामा परेको घटना सार्वजनिक भइरहेका छन् । 

गत मंसिर २८ गते धनुषामा एक नाबालिकाको बलात्कारपछि हत्या भयो । सबैला नगरपालिकाको कुसमाहा गाउँमा जबरजस्ती करणीपछि घाँटी थिचेर हत्या गरिएको अवस्थामा ती बालिकाको शव फेला परेको थियो । 

छिमेकीको विवाहमा गएकी उनी रातिसम्म घर नफर्केपछि खोजी गरिएको थियो । सोही क्रममा सबैला–९ स्थित मृतकको घरबाट निकै परको खाल्डोमा शव फेला परेको हो । 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । महिलाअधिकारकर्मी जस्मिन ओझा पछिल्लो समय महिला हिंसा बढ्दो क्रममा रहेको बताउँछिन् । 

‘महिलाहरुमाथि पहिला पनि हिंसा हुन्थ्यो, तर अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यो बाहिर निस्किएको हो,’ उनले भनिन्, ‘अझै पनि कैयौं महिलाहरु समाज र घरपरिवारबाट बहिष्कार हुनुपर्ने डरले हिंसामा परेपनि सहेर बसिरहेका छन् ।’

सरकारी निकायहरुले अनुगमन गर्नुपर्ने ठाउँमा ध्यान नपुर्याउँदा महिला हिंसा बढेको उल्लेख गर्दै उनले महिला पीडामा परेका घटना बाहिर आउँदा यसले पुरुषमा झन् महिलालाई यातना, पीडा दिने हौसला मिलेको समेत बताइन् । 

राष्ट्रिय महिला आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेल महिला हिंसाको अवस्था कहालीलाग्दो रहेको बताउँछिन् । सरकारी निकायहरुले आआफ्नो तवरबाट महिला हिंसा नियन्त्रण गर्न आवश्यक काम गर्दै आएपनि थप बढ्दै गएको उनले बताइन् । 

‘महिला हिंसाको अवस्था कहालीलाग्दो छ । स्थानीय तह, महिला मन्त्रालय, आयोगलगायत विभिन्न निकायले यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणका लागि आवश्यक काम गर्दै आइरहेका छन् । तर, महिलामाथि हुने हिंसा रोकिनुको साटो झन् उकालो लाग्दै गएको छ,’ उनले भनिन् ।  

उनका अनुसार आयोगमा घरेलु हिंसाबाट पीडित सबैभन्दा बढी महिला आउने गरेका छन् । बाँकी जबरजस्ती करणी, सम्बन्ध विच्छेद, आर्थिक हिंसा, यौन हिंसालगायतका उजुरी आउँछन् । 

हिंसामा परेका महिलाको लागि आयोगले मेलमिलाप र कानूनी लडाँइमा समेत आवश्यक सहकार्य, समन्वय र सहजीकरण गर्दै आएको प्रवक्ता पौडेलले जानकारी दिइन् । 

‘सहनै नसक्ने अवस्थामा पुगेपछि महिलाहरु प्रहरी कहाँ पुग्छन् । तर, राजनीतिक पहुँचका कारण हिंसामा परेका अधिंकाश महिला न्याय पाउनबाट वञ्चित पनि भएका छन्,’ उनले भनिन्, ‘जबसम्म प्रहरी प्रशासनलाई स्वतन्त्र रुपमा काम गर्न दिइदैंन, तबसम्म महिला हिंसा पनि रोकिने छैन ।’

नेपाल प्रहरीको तथ्याङ्कअनुसार विगत चार वर्षको अवधिमा ७७ हजार ८१ वटा महिला हिंसाका उजुरी दर्ता भएका छन् । त्यसमा सबैभन्दा धेरै घरेलु हिंसाको उजुरी दर्ता भएको प्रहरीले जानकारी दिएको छ । 

गत वर्ष महिला हिंसाका २० हजार ९१३ वटा उजुरी प्रहरीमा दर्ता भएका थिए । त्यसमा १६ हजार ५१९ वटा उजुरी घरेलु हिंसासम्बन्धी रहेको जनाइएको छ । 

आर्थिक वर्ष २०७८–०७९ मा महिला हिंसाका २१ हजार ४५१ वटा उजुरी दर्ता भएकोमा १७ हजार घरेलु हिंसासम्बन्धी रहेको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ मा १८ हजार ९६१ वटा महिला हिंसाका उजुरी दर्ता भएकोमा १४ हजार २३२ वटा घरेलु हिंसासम्बन्धी रहेको तंथ्याकमा उल्लेख छ । 

यसैगरी, आर्थिक वर्ष २०७६–०७७ मा महिला हिंसाका १५ हजार ७५६ उजुरी प्रहरीमा दर्ता भएका थिए । त्यसमा घरेलु हिंसासम्बन्धी ११ हजार ७३८ वटा उजुरी रहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू