सुन समात्ने, जात्रामा नक्कली हात्ती छिराउने

सुन समात्ने, जात्रामा नक्कली हात्ती छिराउने
सुन्नुहोस्

एयरपोर्टबाट बाहिरिँदा मलद्वारमा लुकाएर ल्याएको सुन बरामद गरेको प्रहरीले त्यसमा संलग्न विकास लामालाई अझै समात्न सकेको छैन । काभ्रेको महाभारत गाउँपालिका–१ गोकुले घर भएका विकास सत्ताको आडमा खुलेआम हिडिरहँदा प्रहरी मुकदर्शक बनेको छ । 

मलद्वारमा चर्का कुरा गर्ने कांग्रेस वडा सभापति क्षेत्रमान घ्यावा नक्कली नोट कारोवारका स्थानीय नाइके हुन् । भन्सार कार्यालयमा उनीमाथिको मुद्दा विचाराधीन छ । धरौटीमा छाड्ने आदेश भएर पनि रकम बुझाउन नसक्दा थुनामै छन् । फरार भएकाहरु पक्रिएका छैनन् । पार्टी सभापति, मन्त्रीसमेत रहेका नेताको संरक्षणमा कार्यकर्ता पक्राउ नपर्दै नक्कली नोटको कारोवार खुलासा भएको छ । महाभारत र खानिखोलामा त्यसको बिगबिगी देखिएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । निर्वाचनताका प्रयोग भएका रकम पनि नक्कली भएको वडाध्यक्ष आफैँले खुलासा गरेका छन् । स्थानीय जात्रामा नक्कली नोटको कारोवार गर्ने गिरोहका सदस्यमध्ये केहीको पहिचान भएसँगै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्षलाई धम्की दिइएको छ । यसमा खानीखोला गाउँपालिका–७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य सुरेश पुलामी संलग्न छन् । मकवानपुरसँग जोडिएको खानिखोला नक्कली नोट तथा अवैध कारोवारको ट्रान्जिट बन्न लागेको बुझिन्छ ।

‘सूचना किन चुहाएको ? गाउँका कुरा किन गाउँमै बसेर नमिलाएको भन्दै मलाई फोनमार्फत वडा सदस्य सुरेश पुलामीलगायत स्थानीय केही राजनीतिक दलका नेताले धम्की दिएका छन्’– वडाध्यक्ष रामबहादुर पुलामीले भने । यस्ता नोटको कारोवार गर्नेमध्ये पूर्व वडाध्यक्षसमेत रहेका खानीखोला–७ का क्षेत्रमान घ्यावा, उनको सालो सोही वडाका सन्तलाल सिंतान, वडा सदस्य सुरेश पुलामी र वडा नम्बर ४ का मिलन जिम्बाको पहिचान भएको स्थानीयले बताए । गाउँका कुरा गाउँमै बसेर मिलाउन वडाध्यक्ष रामबहादुर मोक्तानसहितलाई हारगुहार गरिएको छ । ‘केही व्यक्ति मलाई बचाउनुप¥यो, गाउँको कुरा गाउँमै बसेर मिलाऊँ भन्दै आउनुभएको छ’, वडाध्यक्ष मोक्तानले भने, ‘नक्कली नोटको कारोवार सामान्य घटना नभएकाले सामसुम पार्न सम्भव छैन । कानुनअनुसार हुने कारबाहीमा मेरो समन्वय हुन्छ भनेर पठाइदिएँ ।’ प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकालले घटनाबारे सूचना प्राप्त भएकाले अनुसन्धान शुरु गरिसकेको बताए । 

मंसिर २४ गते राति १० बजेतिर नक्कली नोटको कारोवार गरिरहेका वडा नम्बर ४ का मिलन जिम्बालाई पशुपति जात्रा मेलामा व्यवस्थापन समितिका सदस्यहरूले नियन्त्रणमा लिएका थिए । वडा सदस्यसमेत रहेका सुरेश पुलामी भने साँस्कृतिक कार्यक्रममा आसन र भाषणसमेत गर्न नगई जात्रामा लंगुरबुर्जा खेलाएर बसेका थिए । त्यही लंगुरबुर्जामा समेत नक्कली नोटको कारोवार भएको थियो । उनी यसअघि तासको खालमा बसेको तस्बिर सार्वजनिक भएको थियो । अझै सुरेश पुलामीको घरमा भएको हतियार विना इजाजतको हो । यसअघि आयोजित हरिबोधिनी एकादशीमा लागेको मिल्चेको जात्रामा पनि नक्कली नोटको कारोबार भएको पाइएको छ । मंसिर ७ गते उक्त जात्रा लागेको थियो । स्थानीय ब्यवसायीले भने– ‘मंगलबार बिहान मंसिर २६ गते वडा सदस्य सुरेश पुलामी, क्षेत्रमान घ्यावा, सन्तलाल सिंतानलगायतले नक्कली हजारका नोटको प्रति हजार दुई हजारका दर फिर्ता गर्दै उक्त नोट फिर्ता लिएर गए ।

सुरेश नपुगेका स्थानमा क्षेत्रमानले आफन्त समेत पठाएर रकम फिर्ता लिएका छन् ।’ उनीहरूको संलग्नता थिएन भने नक्कली नोट फिर्ता लिँदै किन दोब्बर पैसा तिरे ? स्थानीयले प्रश्न गरेका छन् । स्थानीय जात्रामा सुन्तला, बदाम, चिया चाउचाउ, चुरोट, चना चटपट, पानी पुरी लगायतको ब्यापार गरिएको थियो । अण्डा र चिया बिक्री गरेर रातभर कुर्दा केही रकम कमाउन सकिने आशमा चिसोको सिरेटोमा बसेका स्थानीयहरूलाई सुरेश पुलामी, सन्तलाल सिंतान सहितका व्यक्तिहरूले ल्याएको नक्कली नोट उपलब्ध गराइएको थियो । उनीहरूले कहाँबाट त्यति धेरै परिणाममा नक्कली नोट ल्याए खुल्न सकेको छैन । मंसिर २५ गते मंगलबार नै स्थानीय चनमती दर्लामीलाई ३ हजारको ६ हजार उपलब्ध गराइएको छ भने च्यासे मगरको अण्डा र चिया पसलमा १ हजारको बदलामा दुई हजार फिर्ता गरिएको छ । रत्नबहादुर मोक्तानले एक हजारको दुई हजार पाएका छन् । गिरोहका सदस्यले शुरुमा आफैं र पछि बच्चामार्फत उक्त नोटको कारोवार गराएका थिए ।
 

टिप्पणीहरू