अचम्मका बामपन्थी, उदेकलाग्दा हामपन्थी

अचम्मका बामपन्थी, उदेकलाग्दा हामपन्थी

नेपालको आजको वाम आन्दोलन र खास गरेर एमाले टाइपको दलहरूले नेतृत्व गर्ने आन्दोलन अग्रगामी, प्रगतिशील बन्नै सक्दैन, समाजवादी त धेरै टाढाको कुरा भयो । सबैजसो वामपन्थी दलहरूको एमालेकरण भइसकेको छ ।

यस्तो टाइपको दलले देशको वामपन्थी आन्दोलनको नेतृत्व गर्न सम्भव नै छैन । यदि, कसैले हुन्छ भनेर ठानेको छ भने त्यो उसको दिउँसोको सपना मात्रै हो । किनभने वामपन्थी दलहरू कस्तो बनेका छन् भने तलदेखि माथिसम्म खाने क्षेत्रमा मात्रै भेटिन्छन् । काम गर्नुपर्ने क्षेत्रमा भेटिन्नन् । पोलिसी करप्सनमा त सबै सिकन्दर नै भए । भ्यु टावर बनाउनेतिर, गिट्टी–बालुवाको ठेक्कापट्टा लिन खोला र बगरतिर, स्कुलको सञ्चालक समितिमा, वन उपभोक्ता समितिमा, नहर कुवा वा खानेपानी उपभोक्ता समितिमा मात्रै वामपन्थी पार्टीहरू भेटिन्छन् । जनजीविकालाई हल गर्ने विषयमा, बेरोजगारी हटाउने सवालमा, महँगी हटाउने सवालमा आन्दोलन गर्न कुरामा यी पार्टी कतै सडकमा भेटिन्नन् । आर्थिक लाभ नहुने कुनै काम–कुरा गरेर हेर्नुस्, यिनीहरूसँग तिनले कुनै वास्ता राख्दैनन् ।

तर, रकमकलमको हिन्ट दिनुस् त, तारन्तार फोन गर्छन्, ‘के हो कमरेड, काम गर्ने होइन’ भनेर । यहाँ कार्यकर्ता कम, तर मध्यस्थकर्ता धेरै पाइन्छ, सम्पर्कसूत्रहरू पाइन्छन् सरुवा गराएर, बढुवा गराएर, ठेक्का मिलाएर, सेटिङ मिलाएर, दलालिगिरी गरेर पैसा कमाउने । पैसाबिना कसैले कसैको कुनै कामै गर्दिदैनन् । हामी त हाम्रा छोराछोरीलाई हैसियतअनुसार डाक्टर, इञ्जिनियर, वकिल मास्टर, सिभिल कर्मचारी बनाउन खोज्छौं । तर, यिनीहरू त दलाल, तस्कर, डन बनाउँछन् । अरु गैरवामपन्थी दलको त झन् कुरा गरेर साध्य छैन । बिसको १९ होइन कि ४० छन् ।

काम नगरीकन खान वा भनौं आन्दोलनमा नजान वामपन्थी संसारमा अचम्मैका छुट छन् । कुनै पनि काममा हात हाल्नुभन्दा पहिले वामपन्थीले ठोस परिस्थितिको ठोस विश्लेषण हुनुपर्छ भन्छन्, जुन झट्ट हेर्दा ठीक कुरा हो भन्ने लाग्छ । आँप पाकेपछि नै रुखबाट खस्छ, ठोस परिस्थिति भनेको आँप पाक्नु नै हो । के सामाजिक परिस्थिति आँप पाकेजस्तै हुन्छ र ? यस्तो त हुँदैन  । फेरि अर्को महत्त्वपूर्ण कुरा, यो ठोस परिस्थितिको ठोस विश्लेषण कस्तो हुन्छ ? कसले गरेको विश्लेषण ठोस हुन्छ र त्यो कुरालाई सबैले मान्छन् ? कसैलाई थाहा छैन । तर होइन, सबैलाई थाहा पनि छ । तर, त्यो थाहा के हो भने आफूले गरेको विश्लेषणबाहेक अरुले गरेको विश्लेषण कहिल्यै ठोस हुँदैन । कुनै पनि परिस्थितिको जसले जसरी विश्लेषण  गर्‍याे उसको निम्ति त्यो नै ठोस हो । अरू पनि छन् यस्ता तर्क । जस्तो कि क्रान्ति गर्नको निम्ति सम्पूर्ण परिस्थिति परिपक्व हुनुपर्छ । हामीले चाहँदैमा, हाम्रो मनोगत चाहनाले केही हुँदैन । क्रान्तिको गर्नको निम्ति वस्तुगत अवस्था, बाह्य परिस्थिति हरहिसाबले अनुकूल हुनुपर्छ । क्रान्ति भनेको इभोल्यशनरी प्रोसेस् हो, एक्कै पटक क्रान्ति हुँदैन आदिआदि । कुरा त सही हो । तर, ०५२ सालमा माओवादीले हतियार उठायो त । उसले देशमा दश वर्षसम्म गुरिल्ला युद्ध चलायो ।

यहाँ कार्यकर्ता कम, तर मध्यस्थकर्ता धेरै पाइन्छ, सम्पर्कसूत्रहरू पाइन्छन् सरुवा गराएर, बढुवा गराएर, ठेक्का मिलाएर, सेटिङ मिलाएर, दलालिगिरी गरेर पैसा कमाउने ।

तर, फेरि अन्ततः ऊ शान्ति–सम्झौता गरेर संसदीय राजनीतिमा प्रवेश ग¥यो । यो दशवर्षे गुरिल्ला युद्धले देशबाट राजतन्त्रलाई बिदा गर्न, गणतन्त्र स्थापना गर्न, धर्मनिरपेक्षता, संघीयता ल्याउन योगदान नै गरेको कुरा सत्य पनि हो । माओवादीको नजरमा गुरिल्ला युद्ध गर्न देशमा वस्तुगत अवस्था परिपक्व थियो र उसको विश्लेषण सही थियो । एमाले वामपन्थी पार्टी हो, मसाल वामपन्थी पार्टी हो, नेमकिपालगायत धेरै छन् वामपन्थी पार्टीहरू तर तिनीहरूको निम्ति भने देशमा क्रान्ति गर्न वा युद्ध लडेर सत्ता कब्जा गर्ने वस्तुगत अवस्था आजपर्यन्त बनिसकेको छैन । यी सबै पार्टी वस्तुगत अवस्था तयार पार्न लागिरहेका छन् अहिले पनि तर माओवादीको निम्ति भने त्यो अवस्था परिपक्व थियो र उनीहरूले गुरिल्ला युद्ध छेडे । अर्थात् एउटै समय, एउटै सामाजिक राजनीतिक र आर्थिक अवस्था भएको बेला माओवादीका लागि सबै अवस्था अनुकूल थिए र परिपक्व थिए भने एमाले, मसाल, नेमकिपालगायतलाई वस्तुगत अवस्था विल्कुल प्रतिकूल, अपरिपक्व र अवस्तुगत थियो ।

हेरौं न !! आज पनि कसैलाई यो समाज पुँजीवादी समाज हो भन्ने लाग्छ । यही समाज कसैलाई अझै पनि सामन्ती अवशेष बलियो भएको समाज हो भन्ने लाग्छ । कसैलाई यो समाज दलाल पुँजीवादी हो भन्ने लाग्छ । कतिलाई संघीयता बेठीक लागेको छ । कतिले देशमा राजनीतिक क्रान्ति सम्पन्न भयो भनेका छन् । कसैलाई देशमा कुनै किसिमको क्रान्ति भएको छैन भन्ने लागिरहेको छ । आखिरमा कसले भनेपछि सबै कुरा ठीक हुने हो ? देशका धेरैजसो नदी अरुकै कब्जामा छन् । कुन एयरपोर्ट चल्ने र नचल्ने वा बन्ने र नबन्ने भन्ने पनि अरुकै हातमा छ । युएनओमा इजरायलले प्यालेस्टाइनविरुद्ध गरिरहेको आक्रमणबारे कस्तो धारणा राख्ने भन्ने पनि अरुले नै तोक्ने अवस्था छ । कस्तो सन्धिमा हस्ताक्षर गर्ने र नगर्ने भन्ने कुरा पनि अरुकै हातमा छ भनेपछि हामी अर्धऔपनिवेशिक हौँ भनेर भन्न मिल्ने अवस्था पनि छ । एमबी सिंहले भनेपछि हुने हो कि, केपी ओलीले भनेपछि हुने हो कि, प्रचण्ड, घनश्याम भुसालले वा माधव नेपाल, झलनाथ, सिपी, ऋषि कट्टेल वा आहुतीले भनेपछि परिस्थिति अनुकूल÷प्रतिकूल हुन्छ र आन्दोलन, संघर्ष, युद्ध गर्ने वस्तुगत आधार तयार हुन्छ ?

हात्ती कस्तो हुन्छ भन्दा पुच्छरजस्तो हुन्छ, खाँबोजस्तो हुन्छ, सुपोजस्तो हुन्छ भनेजस्तो छ क्रान्तिसम्बन्धी, अरु आन्दोलनसम्बन्धी निर्णय लिने कुरा पनि अर्थात् वस्तुगत अवस्था अनुकूल ÷प्रतिकूल के छ भन्ने कुरा पनि । वाम आन्दोलन के दृष्टिविहीनले ठानेको हात्तीजस्तै हो त भन्दा यो त्यस्तो त होइन । तर, दलहरूको बुझाइ देख्दा त होजस्तै लाग्छ ।

हामी कहाँ राजावादी हिन्दूवादी छन्, क्षेत्रीयतावादी पनि छन्, दलाल पुँजीवादी पनि छन् र धेरै वामपन्थी पनि छन् । यिनीहरू सबैले आ–आफ्नो वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दल बनाएका छन् र सोहीअनुसारको राजनीति गर्छन् । राप्रपा, कांग्र्रेस, रास्वपा, लोसपा, एमाले, माओवादी पार्टीहरू यसैअनुसार राजनीतिमा क्रियाशील छन् । राजावादी हिन्दूवादीहरू जे हुन् त्यस्तै देखिन्छन् । तिनले राजा आऊ देश बचाऊ भन्छन्, हिन्दूराज्य स्थापना हुनुपर्छ भन्छन् र क्रियाकलाप पनि तदनुसारकै गर्छन् । यिनले माक्र्सलाई मान्दैनन् र उनलाई माला पनि लगाइदिन्नन् । कमल थापालाई, लिङ्देनलाई राजावादी हिन्दूवादी होइनन् भनेर भन्यो भने कसैले पनि पत्याउँदैनन् । कांग्रेस दलाल पुँजीवादी पार्टी हो भनेर भन्नै पर्दैन । सार्वजनिक सम्पत्तिको निजीकरण गर्ने, बेच्ने र कमिसन खाने, विश्व साम्राज्यवादीको समर्थनमा काम गर्ने, नवउदारवादी अर्थव्यवस्था लागू गर्ने पार्टी कांग्रेस हो भनेर सबैले चिन्छन् । एमसिसी लागू गर्छ, इजरायलको समर्थन गर्छ ।

देशका सबै उद्योग कलकारखाना बेच्न पछि नपर्ने पार्टी हो कांग्रेस । तर, यहाँका वामपन्थी मुखले भन्दा त वामपन्थी हुन् तर हेर्दा वामपन्थीजस्ता देखिन्नन् र आचरणले पनि पुष्टि गर्दैन । वामपन्थी भनौँ भने स्कुल, कलेज र अस्पताल निजी बनाउनुपर्छ भनेर लागेका छन् । आइएनजिओ चलाएका छन् । अर्थतन्त्र बजारलाई जिम्मा लगाएका छन् । यातायात, खानेपानी, सञ्चार निजीलाई बुझाएका छन्, भ्रष्टाचारमा, तस्करीमा कीर्तिमान नै कायम गरेका छन् । शिक्षा र स्वास्थ्य सबैलाई र सित्तैमा खै ? खाना र कपडा सबैलाई र सस्तोमा खै ? मन्दिर पनि धाएकै छन्, रुद्री पनि लाएकै छन् र मूर्तिमा प्राणप्रतिष्ठा पनि गरेकै छन् र सँगसँगै बाउ मर्दा कपाल पनि खौरिन्न्, किरिया पनि बस्दैनन् । अर्धनारिश्वर जस्तो वामपन्थ छ । बुर्जुवाहरूले गिज्याएर वामपन्थी भन्दिनेबाहेक अरु कसैले पनि वामपन्थी भन्दैनन् । यो आजको यथार्थ हो । क्युबा, भेनेजुयला, बोलिभिया, निकारागुवामाथि वामपन्थी भएको नाताले नाकाबन्दी लगाउने पुँजीवादी देशहरूले हाम्रासँग आत्मीय सम्बन्ध किन राख्थे र ! वामपन्थी हुन् भने चीनसँग किन प्रगाढ मित्रता छैन ? बिआरआई किन मान्न आनाकानी गर्छन् त ? दक्षिणतिर मात्रै तीर्थाटन किन गर्छन् ? मलाई त हाम्रो वामपन्थी दलहरू वामपन्थीजस्ता नै लाग्दैन । तर, मलाई नलाग्दैमा यो गैरवामपन्थी पनि भइहाल्दैन । किनभने यस्तो हुन परिस्थिति परिपक्व हुनुपर्छ ।

अनि, वामपन्थ उँभो लाग्छ त ? 
 

टिप्पणीहरू