होटलको पार्किङमा जुवाको खाल, महिला जुवाडेसमेत पक्राउ

होटलको पार्किङमा जुवाको खाल, महिला जुवाडेसमेत पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुवाडेहरु जुवाको खालबाटै समातिएका छन् । 

गोंगबुको पवित्रनगरस्थित प्रविण गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा पाँचथरका ४२ वर्षीय सुरेन्द्र जवेगुसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरुलाई हिजो साँझ ६२ हजार ४ सय रुपैयाँ नगद र एक तास बुकसहित नियन्त्रणमा लिएको बताइएको छ । 

त्यस्तै, सोही गेष्ट हाउसको पार्किङमा जुवा खेलिरहेका १० जना जुवाडे पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बुसहित १० जना छन् । उनीहरुको साथबाट ४९ हजार ५ सय ५० रुपैयाँ नगद र ८ गेडा ओखर (जुवा) प्रहरीले बरामद गरेको छ । 

यस्तै, काठमाडौं महानगरपालिका–१३, कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जना जुवाडेलाई पक्रेको छ । गोर्खा घर भई हाल कालिमाटी बस्दै आएका ३५ वर्षीय आसमान परियारसहित पाँच जना समातिएका हुन् ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरुलाई गएराति ३९ हजार रुपैयाँ नगद र दुई बुक ताससहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू