‘नयाँ सबैलाई प्रधानमन्त्री चाहिएको छ’

‘नयाँ सबैलाई प्रधानमन्त्री चाहिएको छ’

पुराना दलहरुको विकल्पमा नयाँ दल तथा समूह एक ठाउँमा आउने सम्भावना क्षीण रहेको विश्लेषण गर्न थालिएको छ । नागरिक उन्मुक्ति पार्टीका पहिले सल्लाहकार, अहिलेका नेता रेशमलाल चौधरीले हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग गरेको संक्षिप्त भेटपछि उक्त निश्कर्ष निकालेका हुन् । 

विभिन्न नयाँ दल तथा समूहबीच आगामी चुनावमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यले भएको भेटघाटको निश्कर्ष सुनाउँदै उनले भने, ‘सिद्धान्ततः कुरो ठीक छ । तर, काम होला जस्तो लागेन ।’ उनका अनुसार यसबीचमा भएका अन्य दलका नेताहरुसँगको कुराकानीका आधारमा एउटाले अर्कोको नेतृत्व स्वीकार्ने सम्भावना कम देखिन्छ ।

हिजो साँझ बालेनसँग कुपण्डोलको होटल हिमालयमा भएको ७ मीनेट लामो कुराकानीमा थप कुराकानी गरेर अघि बढ्ने, दुबै पक्षले आफनो समूहमा छलफल गर्ने सहमति भएको बताएका छन् । चौधरीले भने, ‘बालेनसँग तत्काल कुनै राजनीतिक पार्टी देखिँदैन । विगतमा दर्ता भएको लौरो चिन्ह बाहेक उनीसँग जोडिएको अर्को दल यतिखेर छैन ।’

हिजोको भेटमा रवि लामिछानेसँग बालेनले सोमबार राति कमलपोखरीमा गरेको ७ घण्टा लामो कुराकानीबारे केही उल्लेख नभएको चौधरीको दाबी छ । यसबीचमा विभिन्न समूहबीच भएको कुराकानीमा नजिक रहेका बालेन समूहका एक जनाले भने, ‘रविले बालेनको नेतृत्व स्वाकार्ने अवस्था देखिँदैन ।’ उता रवि निकटस्थहरुले पनि बालेनले रविको नेतृत्व स्वीकार्ने अवस्था नरहेको बताए । 

अहिलेसम्मको भेटघाटको निश्कर्ष सुनााउँदै रेशम भन्छन्, ‘सबैलाई प्रधानमन्त्री चाहिएको देखियो । सिधै नभने पनि बालेन, रवि, कुलमान, हर्क सबैको पहिलो लक्ष्य नै प्रधानमन्त्री भएकाले उनीहरुबीच मिलन हुने सम्भावना अत्यन्त न्यून देख्छु । उनीहरुमा महत्वाकांक्षा ज्यादा भयो ।’ 

बालेनले हिजो धेरै समूहसँग भेटघाट गरेको बताइन्छ । भेटघाटस्थलमा जेन जी समूहका थुप्रै रहेको, आधा दर्जन गाडी, दुई दर्जन मान्छेको उपस्थितिले ठूलै भेटघाट जस्तो देखिएको त्यहाँ पुगेका एकजनाको अनुभव छ । कुमार बेनले संयोजन गरेको उक्त भेटघाटबारे उनले भने, ‘पुराना दलका नेताहरुको झैँ भेटघाट वरपर निकै भीड देखिन्थ्यो ।’
 

टिप्पणीहरू