गिरिबन्धुका खेलाडी २ महिनामै फिर्ता
गिरिबन्धुको जग्गा प्रकरणमा जोडिएका एक उपसचिव स्थानीय तहको सरुवा दुई महिनामै उल्टाएर सिंहदरबार छिरेका छन्, दाउ छ भूमि व्यवस्थापन विभागमै फर्कने ! यति समूहलाई लाभ हुने गरी नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा सहसचिवद्वय अर्जुन कार्की र लेखबहादुर कार्कीमाथि मुद्दा दायर भइसकेको वेला व्यापारी तथा सीमित बिचौलियालाई पोस्ने गरी केपी ओली सरकार हुँदा अगाडि बढेको गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणमा जोडिएका उपसचिव हुन्, रोशनशंकर घिमिरे, जसलाई तत्कालीन सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बेलका नगरपालिका, उदयपुरको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएकी थिइन् तर उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा फर्किएका छन् ।
झण्डै चार वर्षदेखि भूमि व्यवस्थापन तथा अभिलेख विभागमा निर्देशक रहेका उनलाई भूमि मन्त्रालय हुँदै सामान्यले स्थानीय तहमा खटाएको थियो तर उक्त पालिकामा दुई महिना पनि बसेनन् । कर्मचारी संकेत नम्बर १८४५२८ रहेका रोशन, रामेछाप मन्थलीका स्थायी बासिन्दा हुन् । ०६२ साल मंसिर १७ गतेबाट निजामती सेवामा प्रवेश गरेका घिमिरे बीचमा सञ्चार, इलाका हुलाक, इनरुवा, गोश्वारा हुलाक, स्थानीय विकास मन्त्रालयमा रहे । जिविस सोलुखुम्बु र धनुषामा काम गरिसकेका उनी ०७२ सालमा उपसचिवमा बढुवा भए । ०७३ साल कात्तिक ३ गते प्रमुख मालपोत अधिकृत बनेर भद्रपुर पुगेका उनै रोशनले त्यहाँ २ वर्ष बस्दा गिरिबन्धु टी–इस्टेटको खर्ब रूपैयाँभन्दा बढी पर्ने जग्गा सट्टापट्टाको निर्णय गराउन थालेका थिए ।
निजामती किताबखानाको अभिलेखअनुसार, ०७५ साल असोज २४ गते साँखु मालपोतमा सरुवा भएर आउँदासमेत उनी गिरिबन्धुको फाइल बोकेर मन्त्रालय धाउने गर्थे । ०७६ जेठ १९ सम्म साँखु मालपोत, त्यहाँँबाट सहकारी प्रशिक्षण प्रतिष्ठान हुँदै ०७७ साल माघ १० देखि भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशकको जिम्मेवारीमा थिए । निजामती सेवा ऐनले दुई वर्षभन्दा बढी कुनै पनि कर्मचारीलाई एउटै कार्यालयमा जिम्मेवारी नदिनु भन्छ, रोशनशंकरले चार वर्षदेखि विभागको जग्गा प्रशासन महाशाखा छाडेर दायाँबायाँ नहुनुको पछाडि तिनै गिरिवन्धुवालाहरूको हात र साथ रहेको बताइन्छ ।
ओली र देउवाको सत्ता ढलेपछि सरुवा भएर बेलका नगरपालिका पुगे । दुई महिना नहुँदै सरुवा मिलाएर सिंहदरबार छिरेपछि मन्त्रालयले डेढ हप्ता अघिमात्र उक्त नगरपालिकामा विनोद भट्टराईलाई खटाएको छ । गिरिबन्धु प्रकरणमा जोडिएका मुख्य पात्र टेकनारायण पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरण लागेर कारागारमा छन् । सो समयमा केपी ओलीको मिसनलाई साथ दिने सहसचिव शेष पौडेलले पिचएडी अध्ययनका लागि जापान पुगेर फर्किएलगत्तै समस्याग्रस्त सहकारी व्यवस्थापन बोर्डमा जिम्मेवारी पाएका थिए । हालै उनी पनि सरुवामा परेका छन् । यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमा भीमकान्त पौडेल हुँदा रुचिअनुसार भूमि र मालपोतका कर्मचारीहरू सरुवा हुँदै आएका थिए । पौडेल अहिले रक्षामा पुगेका छन् ।
टिप्पणीहरू