चित्राफुंगामै अडिएको लेकाली जीवन
-शंकर श्रेष्ठ
उत्तरी धादिङको रिगाउँ चित्राफुंगाले परिचित छ । यस गाउँका बाला–बृद्धा सबैले थुन्से,डोको र भकारी बुन्छन् । स्कुले विद्यार्थी,शिक्षक र अन्य जागिरेहरू पनि बिहान–बेलुका यही काम गर्छन् । निगाला र बाँसका सामग्री निर्माण गर्ने रिगाउँको रैथाने पेशा हो । साँझपख आँगनमा बसेर डोको बुन्दै गरेका आकाश तामाङ भन्छन्, “गाउँका दाइदिदी,बा–आमा सबैले बुन्नुहुन्छ, स्कुल जानुअघि र फर्किएपछि हामी पनि डोको–थुन्से नै बुन्छौँ ।’
आकाश कक्षा ९ मा पढ्छन् । ५ कक्षाभन्दा माथि पढ्ने अधिकांशले आकाशले जस्तै बिहान बेलुका चित्राफुंगाको काम गर्छन् । त्यसैले यहाँका विद्यार्थीको दैनिकी अन्य गाउँको भन्दा फरक छ । बिहान–बेलुका डोको, थुन्से बुन्नु विद्यार्थीका लागि शिक्षकले विद्यालयमा दिएको गृहकार्यजस्तै नै हो । तर,उनीहरुले जति श्रम थुन्से डोकोमा लगाएका छन् त्यसको मूल्य भने निकै कम मात्रै पाएका छन् ।
बालबालिका मात्रै होइन,हिमाली क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर १ र २ को पूरै बस्ती चित्राफुंगामा नै निर्भर छ । वृद्धवृद्धा उमेरका मानिसहरूले पनि निगालो चिर्दै गरेको, चोया तास्दै गरेको र चोयाबाट डोको, ढालो,थुन्से,भकारी लगायतका सामग्री बुन्दै गरेको रोचक दृश्य देख्न पाइन्छ । बच्चादेखि सिकेको र गर्दै आएको काम बृद्ध हुँदा पनि एकनाशले गरिरहेका छन् । “बाजेहरूले बा–आमालाई सिकायो, बा–आमाले हामीलाई सिकायो,हामीले पनि यही पेशा गरिरहेका छौं । यो हाम्रो पुर्ख्यौली पेशा हो,” गंगाजमुना गाउँपालिका–२ तावलकी विमला तामाङले भनिन्।
भौगोलिक हिसावले उच्च पहाडी क्षेत्रमा पर्ने गंगाजमुना–१ र २ समेटिएको रिगाउँ र आसपासमा अहिले अनुमानित १५ सय परिवार छ । सामान्यतयाः एक परिवारले वर्षमा तीनदेखि पाँच लाखसम्मको चित्राफुंगा बिक्री गर्दै आएका छन् । तर, लगानी र मेहनतलाई हेर्ने हो भने एक परिवारले गर्ने यो आम्दानी निकै कम हो । विमला भन्छिन्–‘वर्षभरिमा धेरै पैसा बुझेको जस्तो देखिन्छ,तर निगालो खोजेर ल्याउँदादेखि चोया बनाउँदा र थुन्से तयार पार्दासम्मको मेहनत र लगानी उठाउनै सकिँदैन ।’

चार जनाको परिवारले वर्षभरि थुन्से डोको बनाएर बिक्री गर्दा तीन लाख आयो भने चार जनाको मेहनतलाई महिना र दिन हिसावले ज्याला निकाल्ने हो भने एक जनाको भागमा दैनिक दुई सय पनि नपर्ने उनी बताउँछिन् । चित्राफुंगा हिउँदमा निगालो काटेर चोया बनाउने र सुकेको चोयाबाट बर्खामा थुन्से डोको बुन्ने हो । गुणस्तर र साइजअनुसार थुन्से,डोको,डालो र भकारीको मूल्य पनि फरक फरक छ । डोको,डालो र थुन्सेलाई उनीहरूले जेठी, माइली,काइँली,कान्छी गरी चार किसिमले छुट्याउँछन् ।
स्थानीयहरूको भनाइअनुसार बालुवा बोक्ने सबैभन्दा सानो थुन्सेलाई कान्छी भनिन्छ,त्यसको मूल्य १७० देखि शुरु हुन्छ । जेठी भनेको खाङ्ग्रे हो,त्यसलाई १२ सयसम्ममा गाउँमै बिक्री हुन्छ । चोया कम लाग्ने भएकोले डोकोचाहिँ थुन्सेभन्दा केही सस्तोमा बिक्री हुन्छ । भकारीको लम्बाइ, चौडाइ र गुणस्तरअनुसार मूल्य फरक छ । पातचोयाबाट बनेको दश हातको भकारीलाई सामान्यतया एक हजारमा बिक्री हुने गरेको छ । नेपाल सरकारको श्रम ऐनमा तोकिएको पारिश्रमिकलाई नै हेर्ने हो भने पनि यसरी चित्राफुङ्गाको काम गरिरहेका श्रमिकले न्युनतम ज्याला उठाउन सकेका छैनन् ।
‘‘लेकको अनि चिसो ठाउँ भएकोले खेतबारीको काम धेरै हुँदैन । गाउँमा ज्वालामजदुरीको काम पाइँदैन, घर छोडेर टाढा टाढा काममा जान पनि सकिँदैन,’’ तावलकी साइँली तामाङ भन्छिन्–‘‘हुँदै नहुनुभन्दा दिनमा दुई सय मात्रै आए पनि नुन खाने पैसा पुग्छ भनेर बाध्यताले काम गर्नुपरेको छ।’’
निगालो खोजेर ल्याउँदा र चोया बनाएर सुकाउँदा समेतको समयलाई हिसाब गर्ने हो भने एउटा सानो थुन्से तयार गर्न एकदिन पूरा लाग्छ । तयारी चोया छ भने छिट्टो बुन्नेले तीन वटासम्म थुन्से तयार गर्न सक्छ । आफ्नै ठाउँमा यतिधेरै मेहनत गरिरहँदा स्थानीय सरकारले चित्राफुङ्गाको बजारीकरणमा कुनै काम नगरिदिँदा स्थानीय श्रमिकले श्रमको मूल्य पाउन सकेका छैनन् । बजार प्रवर्धनमा स्थानीय सरकारले सहयोग गरिदिए आफूहरुले मेहनतको मूल्य पाउनेमा उनीहरु आशावादी छन् । ‘‘बजारमा पाइने अन्य सरसामानको मूल्य बढेजस्तै थुन्से डोकोको मूल्य बढाउन वडा र पालिकाले सहयोग गरिदिन्छ कि भन्ने आश त लाग्छ तर अहिलेसम्म कसैले वास्ता गरेको देखिएन,’’ साइँलीले भनिन् ।
विशेषगरी थुन्से,डोको र डालो काठमाडौं,चितवन,पोखरा,बुटवलका बजारमा र भकारी धान उत्पादन हुने नेपालका पूर्वपश्चिमका जिल्लाहरूमा बिक्री हुने गरेको छ । गाउँबाट वार्षिक २० करोड रुपैयाँभन्दा बढीको चित्राफुंगा बिक्री हुने गरेको छ । एउटा गाउँबाट यतिधेरै चित्राफुङ्गाको कारोबार भइरहँदा पनि सरकारी निकायको चासो यसतर्फ जान सकेको छैन ।

यस क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने युवा निकै कम छन् । पहिले ढुवानीको समस्या भएपनि अहिले केही सहज भएको छ । भनेजस्तो मूल्य नपाएर भने आजित बनेका छन् । स्थानीय तहले निगालो खेतीका लागि कार्यक्रम ल्याएर बजार प्रवद्र्धनमा सहयोग गरिदिए राहत मिल्नेमा उनीहरू आशावादी छन् ।
रिगाउँ,तावल,किकेत,ताजिम्राङ, कुताल, धुसेनी,झार्लाङलगायत वस्तीका सबैले चित्राफुंगा बनाउँछन् । तर, उत्पादनको मूल्य निश्चित छैन । जसले जतिमा पनि बिक्री गर्ने र त्यसैको मौका छोपेर व्यापारीले मूल्य घटाइदिने गर्दा समस्या हुने गरेको छ । “चित्राफुंगाको बजारिकरणमा स्थानीय सरकारले सहजीकरण गरिदिए दुःख खेर जाँदैन थियो,” स्थानीय सुक तामाङले सुनाए ।
बजार नपाउँदा समस्या
स्थानीयस्तरमा कृषिखेती गर्नेहरूको संख्या घटेसँगै पहिलेजस्तो गाउँमा थुन्से डोको बिक्री हुन छोडेको छ । आधुनिकतासँगै बजारमा पाइने प्लाष्टिकमा सामग्रीले चित्राफुंगाको मूल्यमा असर पारेको छ । पहिले गाउँमा गाईबस्तुको गोबर, मलदेखि धारोबाट पानी बोक्न समेत थुन्से र डोको प्रयोग हुन्थ्यो, जतिपनि बिक्री हुन्थ्यो, मूल्य राम्रो थियो ।
टिप्पणीहरू