तिहारमा अपराधिक घटना कम, दुर्घटना बढी

तिहारमा अपराधिक घटना कम, दुर्घटना बढी

यस पटकको तिहारमा आगलागीका घटना ह्वात्तै बढेका छन् । अपराधिक घटनामा कमी आएपनि मुलुकभर तिहार अवधिमा आगलागीका घटना बढेको देखिन्छ ।

तिहारलाई उज्यालोको पर्वको रुपमा चिनिन्छ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारमा घर, पसल, कार्यालयलाई झिलिमिली विद्युतीय बत्तीले सजाइन्छ । विशेषगरी लक्ष्मीपूजाका दिन निकै झिलिमिली अथवा उज्यालो बनाइन्छ । 

सो दिन रातभर दियोमा बत्ती बाल्ने प्रचलन छ । लक्ष्मीको स्वागतको निम्ति झ्याल, ढोका, आँगन, भर्याङलगायत स्थानमा बत्ती बालेर उज्यालो पारिन्छ । तर, सामान्य लापरवाही र होश नपुर्याउँदा आफैँले बालेको बत्तीले मानिसको ज्यानै समेत लिएको छ । 
 
कात्तिक २६ गते लक्ष्मीपूजाका दिन मोरङको उर्लाबारीमा भएको आगलागीमा प्रहरीसहित करिब तीन दर्जन मानिस गम्भीर घाइते भए । स्थानीय बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा चार प्रहरीसहित २७ जना घाइते भएका हुन् । 

लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउने क्रममा स्थानीय समेत गम्भीर घाइते भएका थिए । उनीहरुको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

सोही दिन भक्तपुरको मध्यपुर थिमीमा ८३ वर्षीया सावित्रादेवी मल्लको लक्ष्मीपूजा गर्ने क्रममा बालेको दियो सल्किँदा निधन भयो । तीन तल्ले घरको दोस्रो तल्लामा लक्ष्मीपूजा गर्न बालेको दियो अचानक आफैंले पहिरिएको कपडामा सल्किएपछि उनको तत्काल मृत्यु भएको जनाइएको छ । 

यता, सुनसरीमा पनि लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाकाका कारण आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट हुन पुग्यो । इनरुवा नगरपालिका–१ स्थित मुख्य बजारमा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ५० लाख बढीको धनमाल क्षति भएको हो ।

यी तिहारको विशेष दिन लक्ष्मीपूजामा भएका केही प्रतिनिधिमूलक दुखद् घटना हुन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार तिहार अवधिभर (कात्तिक २५ गतेदेखि ३० गतेसम्म) मुलुकका ३१ स्थानमा आगलागी भएको छ । 

तीमध्ये कोशी र मधेश प्रदेशमा सबैभन्दा धेरै आगलागीका घटना भएका हुन् । कोशी र मधेश प्रदेशमा समान आठ÷आठ, बागमती प्रदेशमा एक, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई, सुदूरपश्चिम प्रदेशमा तीन तथा उपत्यकामा तीन वटा आगलागीका घटना भएका थिए । 

ती घटनामा एक जनाको ज्यान गएको छ भने ३१ जना गम्भीर घाइते भएका हुन्् । त्यस्तै, पाँच करोड २१ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको धनमालको क्षति भएको जनाइएको छ । 

गत वर्षको तुलनामा यस वर्ष मुलुकभर तिहार अवधिमा अपराधिक घटनामा भने सुधार अथवा कमी आएको प्रहरीले जनाएको छ । 

तिहारमा नकबजनी तथा साधारण चोरी ३३, जुवा तथा सट्टाबाजी २४, लागूऔषध ५८, अपहरण वा शरीर बन्धक २, हातहतियार २, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुर ९१, जबरजस्ती करणी ३४, जबरजस्ती करणी उद्योग ४ र बालयौन दुरुपयोगका २ वटा घटना भएको रेकर्ड प्रहरीमा छ । 

सवारी दुर्घटनाको कुल संख्या छ सय ७० पुगेको छ । जुन गत वर्ष चार सय ८० मात्र थियो । तिहारमा सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यकामा भएको बताइन्छ ।  

उपत्यकाका तीन जिल्लामा तिहार अवधिभर दुई सय २६ वटा सवारी दुर्घटना भएको छ । त्यस्तै, कोशी प्रदेशमा एक सय १९, मधेश प्रदेशमा एक सय ७९, बागमती प्रदेशमा ५६, गण्डकी प्रदेशमा ८, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा १० वटा सवारी दुर्घटना भए ।  नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायत तिहारमा अपराधिक घटना कम भएको तर सडक दुर्घटनालगायतमा केही वृद्धि भएको बताउँछन् । 

‘समग्रमा तिहार अवधिभर अपराधिक घटना सन्तोषजनक नै रह्यो । प्रहरी सक्रियताका कारण विगतमा जस्तो ठूलो ‘ग्याङ फाइट’ हुन पाएन,’ उनले भने, ‘दुर्घटनामा भने केही वृद्धि भएको छ ।’

तिहारमा अत्यधिक झिलिमिली बत्ती बालिने तर सर्तकता नअपनाउने गरिएकाले आगलागीलगायत घटना हुने गरेको प्रहरीको निचोड छ ।

टिप्पणीहरू